गण्डकीमा आज ५ संक्रमितको मृत्यु, मृतक १२३ पुगे

समाधान संवाददाता २०७७ कार्तिक २९ गते १९:२३

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप ५ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार कास्कीका ४ र स्याङ्जाका १ संक्रमितको मृत्यु पुष्टि गरेको हो । सबै संक्रमितको पोखरामा मृत्यु भएको हो ।

२ संक्रमितको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, २ संक्रमितको गण्डकी मेडिकल कलेज र १ संक्रमितको चरक मेमोरियल अस्पताल मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

Advertisement

कास्की पोखरा महानगरपालिका १४ का ६३ वर्षीय पुरुषको शनिबार गण्डकी मेडिकल कलेजमा निधन भएको छ । पोखरा १५ की ५० वर्षीया महिलाको शुक्रबार बेलुका साढे ६ बजे चरक मेमोरियल अस्पतालमा निधन भएको छ । ८ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएकी उनमा मधुमेह, उच्च रक्तचाप र थाइराइडको समस्या थियो ।

त्यस्तै पोखरा २६ की ७२ वर्षीया महिलाको शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका उनमा निमोनिया र श्वासप्रश्वासको समस्या थियो ।

Advertisement

पोखरा १८ की ४८ वर्षीय पुरुषको शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको छ । २६ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनमा निमोनिया र श्वासप्रश्वासको समस्या थियो ।

स्याङ्जा वालिङ नगरपालिका १४ का २४ वर्षीय पुरुषको २७ गते गण्डकी मेडिकल कजेजमा निधन भएको हो । २७ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनमा मधुमेहको समस्या थियो ।

योसहित गण्डकीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय २३ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेमा कास्कीका ५९, नवलपुरका १९, तनहुँका १५, स्याङ्जाका १०, गोरखाका र बागलुङका ८/८, म्याग्दीका २, पर्वत र लमजुङका १/१ जना छन् । शुक्रबार ४ संक्रमितको मृत्यु भएको थियो ।

गण्डकीमा कोरोना संक्रमितको संख्या १० हजार २ सय ८५ पुगेको छ । तीमध्ये ५ हजार ६० जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया