लक्ष्मी पुजामा ४२ मेगावाटले झिलिमिलि भयो कास्की

समाधान संवाददाता २०७७ कार्तिक ३० गते १०:४४

अनुप आत्रेय, पोखरा

लक्ष्मी पुजाको दिन शनिबार कास्कीमा ४२ मेगावट विद्युत खपत भएको छ । हेमजा, कुँडहर र लेखनाथ गरी ३ वटा सबस्टेशनबाट लक्ष्मी पुजाको रात कास्कीमा ४२ मेगावाट विद्युत खपत भएको हो ।

सबैभन्दा धेरै कुँडहरस्थित पोखरा सबस्टेसनबाट ३२ मेगावाट विद्युत खपत भएको नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका इन्जिनियर नरेशदत्त रावलले समाधानलाई जानकारी दिए । पोखराको अधिकांश ठाउँमा उक्त सबस्टेसनबाट विद्युत प्रवाह हुँदै आएको छ ।

Advertisement

उनका अनुसार हेमजा सबस्टेशनबाट २ मेगावाट विद्युत खपत भएको छ । अरु समयमा पोखरामा (लेखनाथबाहेक) दैनिक धेरैमा ३० मेगावाटसम्म विद्युत खपत हुने गरेको छ । लेखनाथ सबस्टेसनबाट ८ मेगावाटसम्म विद्युत खपत हुन्छ ।

कुँडहरबाट महेन्द्रपुल, अमरसिंह, बिरौटा, लेकसाइड लगायत विजयपुर वारि र लेखनाथ सबस्टेसनबाट विजयपुर पारि तालचोक, गगनगौंडा लगायत ठाउँमा विद्युत आपूर्ति हुँदै आएको छ । हेमजा सबस्टेसनबाट हेमजासहित अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका लगायत कास्कीको माथिल्लो भागमा विद्युत आपूर्ति हुन्छ ।

Advertisement

कुँडहर सबस्टेसनबाट शनिबार खपत भएको विद्युत लकडाउनयताकै उच्च हो । ‘त्यहाँबाट सबैभन्दा धेरै खपत हुने भनेको लेकसाइडमा हो । अहिले त्यहाँका होटल बन्द हुँदा विद्युत खपत केही कम भयो । तर यो लकडाउन यताकै धेरै खपत हो,’ इन्जिनियर रावलले भने ।

लेखनाथ सबस्टेसनबाट शनिबार राति ८ मेगावाट विद्युत खपत भएको त्यहाँका इन्जिनियर चन्द्रहरी प्रजापतिले जानकारी दिए । ‘अरु बेला पनि दैनिक ८ मेगावाट नै खपत हुन्थ्यो । हिजो पोइन्टमा फरक प–यो होला,’ उनले समाधानसँग भने ।

शनिबार राति विद्युत आपूर्तिमा कुनै समस्या नभएको पोखरा वितरण केन्द्रका इन्जिनियर नरेशदत्त रावलले सुनाए । ‘केही भइहाले मर्मतका लागि ठाउँठाउँमा टिम राखेका थियौं । एक ठाउँमा फ्युज गयो नभए अरु केही भएन,’ उनले भने ।

विद्युत प्रवाहमा समस्या हुन नदिन पोखरमा शनिबार १७ जनाको ६ वटा टोली परिचालन गरिएको विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले जनाएको छ ।

अमरसिंहचोक, बिरौटा, हेम्जा, महेन्द्रपुल, लेकसाइड र प्राधिकरणको अफिसमा गरेर ६ वटा टोली परिचालन भएको हो ।

त्यसबाहेक कुँडहर ग्रिड र पोखरा वितरण केन्द्रमा गरी २ इन्जिनियर काममा खटिएका थिए ।

तस्बिर: लक्ष्मी पुजाको रात काहुँडाँडाबाट प्रबिन पोख्रेलले कैद गरेको पोखरा ।

तपाईको प्रतिक्रिया