पत्रकार महासंघको विधान अधिवेशन आजबाट

समाधान संवाददाता २०७५ फागुन ८ गते १८:१२

समाधान संवाददाता

नेपाल पत्रकार महासंघका सबैतहका चुनाव अब देखि प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुने भएको छ । पोखरामा फागुन ९ र १० गते हुने महासंघको २५ औं केन्द्रीय साधारण सभाले विधान संशोधन गरी प्रत्यक्ष निर्वाचन प्रणालीको व्यवस्था गर्न लागेको हो । यस अगाडि महासंघको केन्द्रीय समितिको चुनावमा जिल्ला, प्रतिष्ठान तहमार्फत् चुनिएका सभासदलाई मात्र मताधिकारको व्यवस्था थियो ।

पत्रकार महासंघको प्रतिष्ठान, जिल्ला तथा प्रदेशको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुँदै आएको छ । विधानलाई संशोधन गरी केन्द्र, प्रदेश, जिल्ला र प्रतिष्ठानको चुनाव प्रत्यक्ष प्रणालीबाट एकै पटक गर्ने व्यवस्था गर्न लागेको अध्यक्ष तथा विधान अधिवेशन मुल आयोजक समितिका संयोजक गोविन्द आचार्यले जानकारी दिए । ‘प्रत्यक्ष निर्वाचन प्रणालीमा जाँदा महासंघका सबै साधारण सदस्यहरुलाई मतदान गर्ने अधिकार सुनिश्चित हुने छ,’ अध्यक्ष आचार्यले भने, ‘विधान अधिवेशनले पत्रकार महासंघलाई भौगोलिक लगायतका सवालमा थप समावेशी बनाउने छ ।’ पत्रकार महासंघमा २ हजार ३ सय ५४ महिला, १० हजार ६ सय ६२ पुरुष समेत गरी १३ हजार ५० साधारण सदस्य छन् ।

Advertisement

नेपालमा संघीयताको कार्यान्वयनसँगै पत्रकार महासंघको समेत पुनर्सरचना गर्न लागिएको छ । सञ्चार क्षेत्रमा तल्लोतहमा अधिकार नआएको उल्लेख गर्दै अध्यक्ष आचार्यले प्रदेश सञ्चालन कार्यविधि बनाएर संगठनात्मक अधिकार दिने जानकारी दिए । विधान अधिवेशनमा अध्यक्ष आचार्यले पत्रकार महासंघको संस्थागत विकास र शाखाहरुलाई बलियो बनाउन रणनीति तय गरिने बताए ।

विधान अधिवेशनले पत्रकार महासंघको आन्तरिक जीवनलाई थप लोकतान्त्रिक बनाउने छ । श्रमजिवी पत्रकार ऐन कार्यान्वयनका अलवा स्वरोजगारमूलक मिडियाको परिभाषा गर्ने अध्यक्ष आचार्यले बताए । उनले ३ तहको सरकारले सञ्चार नीति बनाउदा अभ्यासको अभावमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनसक्ने भएकोले महासंघले खबरदारी गर्ने जनाए ।

Advertisement

पत्रकार महासंघ कास्कीका अध्यक्ष तथा स्थानीय व्यवस्थापन समितिका संयोजक दीपेन्द्र श्रेष्ठले १२ वर्षपछि पत्रकार महासंघको विधान अधिवेशन हुन लागेको जानकारी दिए । अधिवेशनको ९९ प्रतिशत तयारी पूरा भएको भन्दै अध्यक्ष श्रेष्ठले महासंघका १ हजार ४ सय प्रतिनिधि आउन मात्र बाँकी रहेको बताए । अध्यक्ष श्रेष्ठले कार्यक्रममा गण्डकी प्रदेश सरकारको आन्तरिक पर्यटन भ्रमण वर्ष २०१९को घोषणा समेत गरिने जानकारी दिए ।

राष्ट्रिय समृद्धिका लागि सञ्चार गुणात्मक व्यावसायिक र सुरक्षित पत्रकार भन्ने नाराका साथ पत्रकार महासंघको केन्द्रीय साधारण सभा पोखरा सभागृहमा हुँदैछ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्ने समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेपाली कांग्रेसका नेता प्रकाशशरण महत, नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) का नेता योगेश भट्टराई, राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्ण लगायतका राजनीतिक दलका प्रतिनिधि, पत्रकार संगठनका प्रमुख, महासंघका पूर्व अध्यक्षहरुको समेतको सहभागिता रहने छ ।

साधारण सभाको उद्घाटन अघि सिर्जनाचोकबाट सांस्कृतिक झाँकी निकाल्ने कार्यक्रम छ । साधारणसभामा महासंघले विभिन्न पत्रकारिता पुरस्कार प्रदान गर्ने कार्यक्रम समेत तय भएको छ । महासंघले विभिन्न शाखालाई कदरपत्रबाट सम्मानित गर्ने छ ।

तपाईको प्रतिक्रिया