‘छुन त डराउनेले के उपचार गर्लान् ?’

समाधान संवाददाता २०७७ मंसिर १२ गते ११:२९

डाक्टरले त बचाउन खोज्ने हो, बिरामीकै अगाडि बिरामी मर्छ, भर्ना नगर पो भने

अनिष भट्टराई, पोखरा

गत साता पोखरामा स्याङ्जाकी धनमाया गुरुङको अस्पतालमा बेड नपाएर मृत्यु भयो ।

Advertisement

कोरोना पोजेटिभ नरहेपनि उनलाई उपचार गर्न कुनै अस्पतालले मानेनन् । पोखराका नामी अस्पतालमा चहार्दा एउटा बेड नपाउँदा उनको सास उड्यो ।

धनमाया गुरुङको विषय नसेलाउँदै पोखरामा अर्का एकजनाले अस्पतालले उपचार गर्न आनाकानी गर्दा ज्यान गुमाएका छन् ।

Advertisement

अन्नपूर्ण गाउँपालिका वडा नम्बर काँडेका ४८ वर्षीय राजेश कार्कीलाई ४ अस्पताल लैजाँदा उपचार गर्न नमानेपछि मृत्यु भएको हो ।

बुधबार दिउँसो राजेश नवलपुरबाट ट्रक चलाएर पोखरा आएका थिए । उनको स्वास्थ्य अवस्था ठिक थियो ।

परिवारका सदस्यका अनुसार उनमा कुनै दीर्घरोग थिएन । तर बुधबार १ बजे आएर घरमा बसेपछि ४ बजेतिर उनलाई आफ्नो शरीरले काम नगरे जस्तो भयो । उनले शरीरका अंग चलाउन सकेनन् ।

थकाइले होला भनेर परिवारले उनलाई घरको तल्लो कोठामा सुताए । ४ बजे सुतेका राजेशलाई हेर्न ७ बजे उनकी छोरी पुग्दा राजेशको अवस्था नाजुक भइसकेको थियो ।

सास फेर्न गाह्रो भो भनेपछि उनका परिवार र छिमेकीले ट्याक्सीमा राजेशलाई पोखरा झारे ।

‘आरामसँगै ट्रक चलाएर जानुभएको रहेछ, कोरोना भएको भए केही लक्षण हुन्थ्यो,’ मृतककी दिदीसासु अनीता गुरुङले भनिन्, ‘कोरोना होइन भनेर नै सबै मिलेर पोखरा ल्यायौं ।’

पोखरा त ल्याए । तर पोखरा ल्याइसकेपछि आफूहरुले झनै सास्ती खेप्नुपरेको राजेशका साला सुजन गुरुङले सुनाए ।

उनीहरुले राजेशलाई सुरुमा निजी अस्पताल मेट्रोसिटी अस्पताल लगे । ८ बजे उनीहरुले मेट्रोसिटी पु¥याए ।

सुजनका अनुसार मेट्रोसिटीले एकपटक पनि बिरामीलाई नहेरी फर्काइदियो । कारण देखायो– बेडको अभाव ।

मेट्रोसिटीले बिरामी नलिएपछि लेकसिटी अस्पताल लगे । लेकसिटीमा पनि त्यस्तै जवाफ पाए ।

लेकसिटीपछि उनीहरुले फिस्टेल अस्पताल पु¥याए । फिस्टेलले इमर्जेन्सीमा राख्यो । तर जाँच्दै नजाँची अर्को अस्पताल लैजान भन्यो ।

‘फिस्टेलले जाँच नै नगरी कोरोना हो, लैजा भनिदियो । नजाँची हचुवामा भनेर हुन्छ ?’ सुजनले प्रश्न गरे । ‘अर्को अस्पतालमा लैजा भनेर बिरामीलाई छाडेर हुन्छ र ? कहाँ लैजाने के गर्ने भन्ने पनि बताइदिएको भए पो हुन्थ्यो,’ सुजनकी दिदी गीताले भनिन् ।

फिस्टेलले नराख्ने भनेपछि आफन्तले राजेशलाई मनिपाल लगे ।

मनिपालमा झन् राजेश र आफन्तले कन्तबिजोग खेप्नुप¥यो । अरु अस्पतालमा डाक्टरको दादागिरी देखेका उनीहरुलाई मनिपालका सुरक्षा गार्डले समेत हुर्मत लिए ।

अस्पताल परिसरमा लगेपछि उनीहरुले केही बेर बाहिर नै बस्नुप¥यो । महिला डाक्टर उनीहरुसँग आएर बिरामीबारे सोधिन् ।

बिरामीलाई सास फेर्न गाह्रो भएको सुनाउँदा डाक्टरले ‘अब तिमीहरु सबैलाई त्यस्तै हुन्छ, सबैको जाँच गर्ने ?’ भन्ने प्रतिक्रिया दिएको गीताले बताइन् ।

‘सास फेर्न सक्नुभएन भन्दा सबैलाई गाह्रो हुन्छ भन्दै गाली गरिन्, स्वास्थयकर्मीले त्यस्तो गर्न सुहाउँछ ?’ उनले भनिन् ।

मनिपालले सुरुमा बिरामीलाई राख्न मानेन । पछि सुजनले नै मनिपालका १ जना डाक्टरलाई फोन गरेर बिलौना गरेपछि बिरामीलाई मनिपालले राख्न मान्यो ।

बिरामी राख्न मानेपनि मनिपालले बिरामीलाई सहयोग नगरेको सुजन बताउँछन् । उनले भने, ‘बिरामीलाई स्ट्रेचरमा हालेर हामीले नै वार्डसम्म लग्यौं, सहयोगी कर्मचारी हेरेरमात्रै बसिरहे ।’

वार्डमा लगेपछि डाक्टरले थर्मोमिटर लगाइदिन, अक्सिजन लगाइदिन पनि आफन्तलाई नै भने । जानीनजानी सुजनले लगाए ।

त्यसपछि डाक्टरले भनेका वाक्यले आफन्तको मन चिरियो । डाक्टरले बिरामीकै अगाडि बिरामी मर्ने, उपचार सम्भव नभएको बताइदिए ।

‘डाक्टरले त बचाउन खोज्ने हो, बिरामीकै अगाडि बिरामी मर्छ, भर्ना नगर पो भने,’ गीताले चर्किँदै भनिन् ।

३ जना डाक्टरले आधा घन्टा जति भेन्टिलेटरमा उपचार गरे । भेन्टिलेटरमै राजेशले सास छाडे । मृत्युपछि शवलाई शवगृहमा लैजान अस्पतालकर्मीले सहयोग नगरेको गीताको गुनासो छ ।

छेउमा मृतककी छोरी कुरा सुन्दा भक्कानो हाल्न थालेकी थिइन् । छोरी हेर्दै गीताले भनिन्, ‘बुबाको लास उठाएर लैजाँदा कस्तो भयो होला बिचरीलाई !’

अस्पतालले गर्दा नै उनको मृत्यु भएको सुजन आरोप लगाउँछन् । ‘जिउँदो हुँदै अस्पतालको बेडमा राखेको बिरामीलाई नछुनेले के उपचार गरे होलान् ?’ सुजनले भने ।

के भन्छन् अस्पताल प्रमुखहरु ?

नेपाल सरकारले सबै अस्पतालहरुलाई ३३ प्रतिशत बेड कोभिडका लागि छुट्याउन भनेको छ ।

तर पोखराको मेट्रोसिटी अस्पतालले कोरोनाका बिरामी लिँदैनौं भनेर फर्काउने गरेको छ ।

अस्पताल प्रमुख भरत खत्री भन्छन्,‘हाम्रा फिजिसियन मार्फा जानुभएको छ, उहाँबिना आइसियु भेन्टिलेटर नचल्ने भएकाले फिर्ता ग¥यौं ।’

फिस्टेलका सञ्चालक अशोक पालिखेले राजेशमा कोरोनाका लक्षण भएकाले अर्को अस्पतालमा जान सुझाएको बताए । फिस्टेलमा कोरोनाका लागि छुट्याइएको आइसियु भरिएकाले राख्न नसकिएको उनको तर्क छ ।

‘डाक्टर सुरजले जाँच गर्नुभएको हो, अक्सिजन कम थियो, ज्वरो आएको रहेछ,’ उनले भने ।

मनिपालका निर्देशक कृष्ण वाहिगाउकर आफ्नो अस्पतालमा कुनै ढिलासुस्ती र बिरामीमाथि दुव्र्यवहार भएको जानकारी आफूसँग नआएको बताए ।

अस्पतालमा सोधपुछ गर्दा त्यस्तो पाइए स्वास्थ्यकर्मीलाई कारबाही गर्ने बताए ।

तपाईको प्रतिक्रिया