शिक्षामा भन्दा स्वास्थ्यमा ध्यान

समाधान संवाददाता २०७७ मंसिर १२ गते ११:५३

समाधान संवाददाता, पोखरा 

गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना कहरको कारण शिक्षामा भन्दा स्वास्थ्यमा ध्यान दिएको बताएका छन् ।

मादी गाउँपालिका वडा नम्बर १०मकैखोला कास्कीले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री गुरुङले शैक्षिक गुणस्तर सुधारको लागि प्राविधिक र व्यवहारिक शिक्षामा जोड दिएको बताए ।

Advertisement

‘उच्च पहाडी हिमाली र दुर्गम क्षेत्रका विद्यार्थीको आवत जावतमा पर्ने कठिनाईलाई कम गर्न नमूना आवासीय विद्यालयको अवधारणा सुरुवात गरेका छौ, ‘उनले भने, ‘विद्यालयको खानेपानी, शौचालय, बाथरुम निर्माणमा सहयोग गरेका छौं ।’

उनले माध्यमिक र आधारभुततहको शिक्षा स्थानीय सरकारको जिम्मामा पर्ने भएकोले सबै हिसाबले सहयोग गर्न नसक्ने उल्लेख गरे ।

Advertisement

मुख्य मन्त्री गुरुङले पहिरोले क्षतिग्रस्थ विद्यालयले प्रदेश सरकारसंग ३० लाख माग गरेको भएतापनि रातो किताबमा प्राविधिक हिसाबले नपरेको बताए । उनले त्यो रकम सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

शिक्षा क्षेत्र अस्तव्यस्त भएको उल्लेख गर्दै उनले संघीय सरकारले शिक्षाको व्यवस्थापन तथा गुणस्तरको सुधारको लागि प्रयाप्त नदिएको दाबी गरे ।

शिक्षा विकास तथा समन्वय इकाई संघीय सरकारको मातहतमा हँुदा काम गर्न कठिनाई भएको चर्चा गर्दै उनले शिक्षकको सरुवा बढुवामा समस्या रहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जसबहादुर गुरुङले २०७७को साउन ६ र ७ गतेको अविरल वर्षाको कारण आएको पहिरोले निर्माणधिन ५कोठे आरसीसी भवनको २ कोठा पूर्ण रुपमा क्षति भएको बताए ।

उनले पुरै भवन जोखिममा परेकोले व्यक्ति तथा संघ संस्थाबाट ऋण लिएर ४० मिटर लम्बाई र ४ मिटर चौडाई भएको मेसेनरी पर्खाल लगाएको जानकारी दिए ।

विद्यालयले पर्खाल लगायतका निर्माण कार्य गर्दा २० लाख ऋण लागेको उल्लेख गर्दै अध्यक्ष गुरुङले सो बजेटका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आवश्यक कागजात सहितको मागपत्र पेश गरेको बताए ।

प्रधानाध्यापक नविनकुमार शाहीले विद्यालयको हाताभित्रबाट मोटरबाटो जाने भएकोले ध्वनी र वायु प्रदुषणका कारण पठन पाठनमा बाधा परेको गुनासो गरे ।

उनले विद्यालयको बीचबाट जाने बाटोको विकल्प खोज्न नसकिएको उल्लेख गरे ।

‘बाल विकास केन्द्रमा दरवन्दी नहँुदा कक्षा चलाउन समस्या भएको छ । व्यवस्थित पुस्तकालय अभाव छ, ‘उनले भने, ‘आवासीय विद्यालय बनाउने र प्राविधिक धारको शिक्षा सञ्चालन गर्ने लक्ष्य छ ।’

विद्यालयमा चारैतिरबाट तारबारको व्यवस्थापन, इन्टरनेट जडानमा सहयोगको अपेक्षा गर्दै उनले विद्युत आपुर्तीमा समस्या आउँदा प्रशासनिक काममा कठिनाई परेकोले वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र मार्फत सोलार सिस्टम जडानको लागि पहल गरेको जानकारी दिए ।

कार्यक्रममा मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ, साविक भाचोक गाविसका पूर्व अध्यक्ष आनन्द सुवेदी, युवा व्यवसायी महेन्द्र गुरुङ लगायतले शिक्षाको बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया