मेटिँदै बेगनासको तिर्खा

समाधान संवाददाता २०७७ मंसिर १४ गते १०:०९

समाधान संवाददाता, पोखरा

प्रतिनिधि सभाका सदस्य तथा पूर्वमन्त्री खगराज अधिकारीले फेसबुक स्टाटसमा फोटो अपलोड गरेर लेखे,‘जन्मभूमिको तिर्खा मेट्ने कोसिस पूरा हुँदैछ । केही समयपछि पानी चल्छ ।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहेका अधिकारीको स्टाटसले उनको जन्मस्थान पोखरा महानगरपालिका वडा नम्बर ३१ को कोटबारी र बेगनास क्षेत्रमा खानेपानीको ठूलो समस्या रहेको झल्काउँछ ।

Advertisement

अब नेता अधिकारीको जन्मभूमिको खानेपानीको तिर्खा छिट्टै मेटिँदैछ ।

लेखनाथ साना सहरी खानेपानी, सरसफाइ तथा उपभोक्ता संस्थाको सहलगानी परियोजना दोस्रो अन्तर्गत पोखरा ३१को वेगनासमा खानेपानी आयोजनाको काम पूरा हुँदैछ ।

Advertisement

कोटबारी र वेगनासको तल फेदीमा वेगनासताल छ । उक्त क्षेत्र लेखनाथको सबभन्दा अग्लोभागमा पर्छ ।

त्यसक्षेत्रमा पोखरा महानगरपालिका वडा नम्बर २८ र ३१कोे सिमानामा पर्ने स्याङ्खुदी खोलाबाट लिफ्टिङ गरी खानेपानी लगिन थालेको छ ।

उपभोक्ता संस्थाका अध्यक्ष विष्णुप्रसाद बरालले परियोजना अन्तर्गत ६२५ धारा जडान भएर ४ हजार ६सय जनसंख्या प्रत्यक्ष लाभान्वित हुने जानकारी दिए ।

परियोजनाको४ करोड, पोखरा महानगरपालिकाको १ करोड र प्रतिनिधि सभाका सदस्य खगराज अधिकारीको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत ५० लाख रकम खानेपानी आयोजनामा परेको छ ।

खानेपानीको निर्माण अन्तिम चरणमा रहेको अध्यक्ष बरालले बताए । साविक लेखनाथ नगरपालिकाको वडा नम्बर ९ र १०मा पर्ने त्यस क्षेत्रमा वल्र्डभिजन इन्टरनेसनलको सहयोगमा करिब १२ वर्ष पहिला पनि खानेपानी आयोजना पूरा भएको थियो ।

कोटबारी पर्यटन प्रवद्र्धन समितिको पहलमा बिफरे ओडारबाट लिफ्टिङ गरी पानी ल्याइएको थियो ।

पोखरा महानगरपालिका कानुन अधिकृत राममणि अधिकारीका अनुसार पटकपटक मोटर बिग्रने बनाउन बुटवल लैजानुपर्ने र चर्को विद्युत शुल्क धान्न नसकेर खानेपानी आयोजना असफल भएको थियो ।

प्रतिनिधिसभाका सदस्य तथा नेकपाकानेता अधिकारीको प्रयासले खानेपानीका लागि उपभोक्ताले राख्ने रकम कम भएको छ । आयोजनाका लागि सरकारको ७० प्रतिशत लागत र ३० प्रतिशत उपभोक्ताको जिम्मेवारी पर्ने थियो ।

पछि उपभोक्ताको नगद १० प्रतिशत २० प्रतिशत जनश्रमदानमा काम भयो ।नेता अधिकारीले खानेपानीका आयोजनामा उपभोक्तालाई लागतमा बोझ कम हुने गरी कानुन संशोधनका लागि पहल गरेको बताए ।

‘पोखरा उपत्यका,तालतलैया हिमालको सुन्दर दृश्यावलोन गर्न सकिने भएता पनि त्यसक्षेत्रको खानेपानी मुख्य समस्याको रुपमा थियो,’ उनले भने, ‘स्थानीय जतनाले तिनतहको सरकार लगानीलाई मर्ज गरिएको नमुना परियोजना पाएका छन् ।’

नेता अधिकारीले खानेपानी आयोजनाको दिगोपनका लागि ध्यान दिनुपर्ने बताए । उनले स्याङ्खुदीको इनार अहिलेको लागि ठूलो भएतापनि खानेपानीलाई विस्तार गर्नुपरे अर्को इनार खन्न सकिने जनाए ।

उनले उपभोक्ताले सस्तोमा मात्र होइन सित्तैमा खानेपानीको उपभोग गर्न पाउनुपर्ने सवाललाई जोडतोडका साथ उठाउने उल्लेख गरे ।

खानेपानी उपभोक्ता संस्थामा अध्यक्ष बरालका अनुसार २वर्षअघि सुरुआत भएको परियोजना जेठमा सम्पन्न हुनुपर्ने थियो ।

कोरोना भाइरसको प्रकोप तथा संघीय सरकारले गण्डकी प्रदेशललाई आयोजना हस्तान्तरणको सवालमा भएको अलमलले आयोजना ढिला भयो ।स्याङ्खुदीबाट मोटरलेतानेको खानेपानी कोटबारीमा लगेर वितरणको व्यवस्था मिलाइएको छ ।

मोटरले प्रतिसेकेन्ड १० लिटर पानी तान्छ । सबै खालको परीक्षण सफल भएपछि आयोजना थालिएको अध्यक्ष बरालले बताए । उनका अनुसार विद्युतले पानी तान्ने हो विकल्पमा सोलार जडान गरिएको छ । खानेपानी आयोजनाको सबै पूर्वाधार तयार भएको छ ।

वेगनासको आनन्दज्योति माध्यमिक विद्यालयमा खानेपानी आयोजनाको कार्यालयले काम गरिरहेको छ ।

स्याङ्खुदी खोलामा ६ मिटर गहिरो इनार खनेर पानी तान्ने व्यवस्था मिलाइएको छ । वर्षातमा खोलमा धेरै पानी भए तर्काउने व्यवस्था मिलाइएको छ ।

हिउँदमा पानी घटेकोले काम गर्न सहज भएको छ ।
लेखनाथ साना सहरी खानेपानी आयोजनाले लेखनाथ क्षेत्रको समथर क्षेत्रलाई खानेपानीकोचाँजोपाँजो मिलाएको छ ।

कास्कीको सिल्दजुरेको गिउँजे खोलाबाट ल्याएको पानी समथर क्षेत्रमा करिब १० हजार धारा जडान गरिएको छ ।

परियोजनाबाट उत्तरतर्फका पहाडी क्षेत्र छुटेका थिए । परियोजना अन्तर्गत पहिलो चरणमा पोखरा महानगरपालिकाको वडा नम्बर २६ र २७को राखी विजयपुर लगायतका पूरै र २८को ५० प्रतिशत भागमा खानेपानीको काम पूरा भएको छ ।

खानेपानीका २ हजार ५सय धाराबाट करिब १२ हजार ५सय जना लाभान्वित भएका छन ।

दोस्रो चरणमा वडा नम्बर ३१ र २८का केही भागमा खानेपानी आयोजनाको काम भएको छ ।

करिब १२ करोडको लागतमा पहिलो र दोस्रो चरणको खानेपानी आयोजना पूरा भएको हो ।

तपाईको प्रतिक्रिया