बागलुङ कालिकामा विवाहमा निगरानी

समाधान संवाददाता २०७५ फागुन ९ गते १०:०२

ताराप्रसाद शर्मा

‘बिहेवारी २० वर्ष पारी ।’ मातृशिशु स्वास्थ्यका हरेक कार्यक्रममा यो नारा लगाइन्छ । गएको भदौबाट लागु भएको नयाँ संहिताले त २० वर्ष भन्दा कम उमेरमा बिहे गर्नै नपाउने व्यवस्था गरेको छ । कानुनका किताबमा उल्लेख भए पनि कतिपय बुँदा कार्यान्वयन गर्न नसकेको अवस्था पनि छ । कानुनको पालनामा अब मन्दिरले पनि कडाइ गर्न थालेको छ ।

बागलुङ कालिका भगवती मन्दिरमा विवाहका लागि आउने युवा युवतीलाई अब कडाइ गर्न थालिएको छ । मन्दिरमा विवाहका लागि कानुनले तोकेभन्दा कम उमेरका युवायुवती आउने गरेकाले कडाइ गरिएको हो ।

Advertisement

कालिका भगवती गुठी व्यवस्थापन समितिले नेपालको कानुनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न बन्देज लगाएपछि कानुनले तोकेभन्दा कम उमेरकालाई विवाहका लागि मन्दिरमा नआउन आग्रह गरेको छ ।

कानुनको उल्लंघन हुने गरी मन्दिरमा विवाह गर्दा जुनसुकै संकट पनि आउन सक्ने भन्दै गुठीले मन्दिरमा नआउन आग्रह गरेको हो गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए । उमेर नपुगी विवाह गर्नेलाई राज्यले बनाएको कानुन परिपालना गराउनु र पालन गर्नु सबैको दायित्व भएको उनले बताए ।

Advertisement

पछिल्लो समय केटाकेटीमात्रै मन्दिरमा आएर विवाह गर्ने गरेको प्रति पनि ध्यानाकर्षण भएको समितिले जनाएको छ । केटाकेटीमात्रै मन्दिरमा आएर विवाह गर्दा कस्तो अवस्थामा आएका हुन् भन्ने थाहै नहुने कहिलेकाहीं जबरजस्ती विवाह पनि भएको हुनसक्ने भएकाले सचेत हुनुपर्ने खड्काको भनाइ थियो ।

उनले अभिभावक वा कोही आफन्त र साथीभाइ लिएरमात्रै विवाहका लागि मन्दिरमा आउन आग्रह गरे । यसबारे मन्दिरमा सूचनासमेत टाँसिएको बताउँदै पवित्र स्थानमा पवित्र मन लिएर आउने विश्वास व्यक्त गरे ।

वर्षमा झण्डै ६ सय जोडीको विवाह हुने मन्दिरमा लगनको महिनामा दैनिक १८ देखि २५ वटासम्म विवाह हुन्छन् । लगन नभएका महिनामा पनि मन्दिरमा विवाहका लागि आउने गरेको गुठीले जनाएको छ ।

मन्दिरमा विवाह गर्दा ५ सय रुपैयाँ शुल्क लिने गरेको गुठी व्यवस्थापन समितिले विवाह शुल्कबाट उठेको रकमले आवश्यक पूर्वाधार निर्माण गरेको छ ।

तपाईको प्रतिक्रिया