डाक्टर/नर्सलाई भेन्टिलेटर र आइसियु सम्बन्धी तालिम

समाधान संवाददाता, पोखरा
नेपाल भेन्टिलेटर सर्भिसले कोरोना संक्रमति बिरामीको उपचारमा खटिएका पोखराका डाक्टर र नर्सहरुलाई तालिम प्रदान गरेको छ ।
पोखरामा पनि भेन्टिलेटर बैंक सञ्चालन गरेको भेन्टिलेटर सर्भिसले शनिबार गरेको एक दिने कार्यशालामा सहभागी स्वास्थ्यकर्मीले भेन्टिलेटर र आइसियु सम्बन्धी तालिम लिएका हुन् ।
तालिममा पोखराका विभिन्न अस्पतालमा कार्यरत डाक्टर र नर्स गरी २५ जना सहभागी थिए । तालिम निकै प्रभावकारी भएको सहभागीले बताएका छन् ।
‘पोखरामा जसरी भेन्टिलेटरको संख्या पर्याप्त छैन, त्यसैगरी भेन्टिलेटर र हाइफ्लो नजल क्यानुला चलाउने दक्ष जनशक्तिको अभाव छ,’ तालिमका सहभागी भेन्टिलेटर सर्भिस कास्कीका सदस्य डा. सरोज पोखरेलले भने, ‘यो तालिमले आइसियुमा काम गर्ने स्वास्थ्यकर्मीलाई धेरै कुरा सिकाएको छ ।’
भेन्टिलेटर र दक्ष जनशक्तिको अभावमा मानिसहरुको ज्यान नजाओस् भनेर बैंक स्थापना गर्नुका साथै स्वास्थ्यकर्मीलाई तालिम दिइएको नेपाल भेन्टिलेटर सर्भिस कास्कीका अध्यक्ष विश्वशंकर पालिखेले बताए ।
तालिम समापन कार्यक्रममा नेपाल भेन्टिलेटर सर्भिस अध्यक्ष निरञ्जन श्रेष्ठले भेन्टिलेटरको अभावमा मानिसहरुको मृत्यु भएको देखेरै बैंक स्थापना गरिएको बताए ।
यो गैरनाफामूलक संस्थाले निकट भविष्यमा देशैभर सेवा विस्तार गर्ने योजना बनाएको बताउँदै सहयोगका लागि आग्रह समेत गरे ।
तालिमका सहभागीहरुलाई भेन्टिलेटर सर्भिसका सदस्य एवं पूर्व अर्थसचिव रामेश्वर खनालले प्रमाणपत्र वितरण गरेका थिए । डा. सुभाषप्रसाद आचार्य, डा. हरि पौडेल र डा. रोहणी सिग्देलले सहभागीहरुलाई तालिम दिएका थिए ।
कोरोनाको औषधी भनैकै डाक्टर नर्स
त्रिभुवन शिक्षण अस्पतालआइसियु विभाग प्रमुख डा. सुभाषप्रसाद आचार्यले कोरोना संक्रमितको औषधी भनेकै डाक्टर र नर्सको सेवा भएको बताएका छन् ।
संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीले बिरामीलाई छुन डराउन हुँदैन भन्दै उनीहरुसँग धेरै भन्दा धेरै अन्तरक्रिया गर्न उनले आग्रह गरे ।
नेपाल भेन्टिलेर सर्भिसले पोखरामा गरेको तालिममा सहभागी डाक्टर र नर्सहरुलाई सम्बोधन गर्दै डा.आचार्यले औषधी नभएको रोगको औषधी भनेकै स्वास्थ्यकर्मीको केयर भएको बताए ।
अस्पतालको आइसियुमा भर्ना भएका अधिकांश बिरामीको गुनासो भनेको स्वास्थ्यकर्मीले हेरेनन् भन्ने रहेको बताउँदै उनले त्यस्तो गर्नु चिकित्सकको धर्म विपरित हुने बताए ।
‘सतर्कता अपनाउनुस् । मास्क लगाउनुस् । हात धोइरहनुस् तर बिरामीलाई छुन नडराउनुस् । कोरोनाको औषधी भनेकै स्वास्थ्यकर्मीको केयर हो,’ उनले भने ।
डा.आचार्यले कोरोना संक्रमण पुष्टि भएको १० दिनपछि पिसिआर परीक्षण गर्नै नपर्ने पनि बताए । ‘१० दिनपछि पिसिआर गर्नु पर्दैन । १४ दिनपछि आइसोलेसन बस्नु पनि पर्दैन,’ उनले भने, ‘अधिकांश यसै सञ्चो हुन्छन्, केही गम्भीर अवस्थामा जान्छन् उनीहरुलाई राम्रो केयर गर्नु पर्छ ।’
तपाईको प्रतिक्रिया