घरमै छन् कास्कीका ९८ प्रतिशत सक्रिय संक्रमित

समाधान संवाददाता २०७७ मंसिर २२ गते ०:००

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा आइतबारसम्म १२ हजार ६ सय ९३ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ७ हजार ४ सय ४ (५८.३३ प्रतिशत) जना निको भएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ५ हजार १ सय १९ जना सक्रिय संक्रमित छन् । तीमध्ये ४ हजार ८८ (७९.८५ प्रतिशत) होम आइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Advertisement

सबैभन्दा धेरै कास्कीमा ३५ सय २३ संक्रमित होम आइसोलेसनमा छन् । यो संख्या जिल्लाका कुल सक्रिय संक्रमित(३६ सय) को ९७.८६ प्रतिशत हो । कास्कीमा आइतबारसम्म ५५ सय २२ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये १८ सय ३० जना निको भएका छन् ।

त्यसबाहेक नवलपुरका २१४, तनहुँका २०१, गोरखाका ८६, पर्वतका ५४ र बागलुङका १० संक्रमित घरमै छन् । यीबाहेक अरु जिल्लाका संक्रमितको संस्थागत आइसोलेसनमा व्यवस्था गरिएको छ । प्रदेशमा मनाङमात्रै ग्रीन जोनमा छ ।

Advertisement

पछिल्लो १ हप्तामा प्रदेशमा ७ सय २६ जनामा कोरोना पोजेटिभ देखिएको छ । ४ सय ९४ जना निको भएका छन् भने १६ संक्रमितको ज्यान गएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले बताए । आइतबार ९५ संक्रमित भेटिए ।

कास्कीका ६५, नवलपुरका १४, तनहुँका ९, स्याङ्जाका ३, म्याग्दीका २, लमजुङ र गोरखाका १/१ जनामा पोजेटिभ देखिएको हो ।

आइतबार ४ संक्रमितको मृत्यु भयो । कास्कीका ३ र लमजुङका १ संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पोखरा महानगरपालिका १७ की ६६ वर्षे महिला, पोखरा १७ कै ३४ वर्षे पुरुष, पोखरा १ का ७५ वर्षे वृद्ध र लमजुङ बेसीशहर नगरपालिका ११ की ४३ वर्षे महिलाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

पोखरा १ का संक्रमितको गण्डकी मेडिकल कलेज, पोखरा १७ का ६६ वर्षे संक्रमितको मणिपाल शिक्षण अस्पताल, सोही वडाका ३४ वर्षे पुरुषको चरक मेमोरियल कलेज र बेसीशहरकी महिलाको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

योसहित प्रदेशमा मृतक संख्या १ सय ७० पुगेको छ । कास्कीका ९२, नवलपुरका २०, तनहुँका १८, स्याङ्जाका १३, गोरखाका ९, बागलुङका ८, लमजुङका ५ र म्याग्दीका ३ र पर्वतका २ संक्रमितको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया