पोखरा उच्च बारको चुनाव – डिएलएका उम्मेदवार निर्विरोध

समाधान संवाददाता २०७७ मंसिर २३ गते ७:००

समाधान संवाददाता, पोखरा

उच्च अदालत बार पोखराको निर्वाचनका लागि कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) बाट एकल उम्मेदवारी परेको छ ।

बारको निर्वाचन कार्यसूची अनुसार आइतबार मनोनयन दर्ता कार्यक्रम थियो । नेकपानिकट नेपाल लयर्स एसोसिएसन (एनएलए) ले उम्मेदवारी दर्ता नगराएपछि डिएलएका उम्मेदवार निर्विरोध भएका हुन् । यसको औपचारिक घोषणा भने हुन बाँकी छ ।

Advertisement

डिएलएबाट अध्यक्षमा नारायणप्रसाद पौडेलको उम्मेदवारी परेको निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता ध्रुवमोहन भट्टराईले बताए । उपाध्यक्षमा दीपकराज पौडेल, सचिवमा सन्तोष अधिकारी, कोषाध्यक्षमा दीपेन्द्र अर्याल र सहसचिवमा विनीता नेपालीले उम्मेदवारी दिएका छन् ।

सदस्यमा भगवान अधिकारी, दुर्गाप्रसाद कोइराला, अनन्त कोइराला, भीमप्रसाद पौडेल, गीताकुमारी लामिछाने, रच्चु आले, वीरेन्द्रप्रसाद कानु, कमलनाथ कुँवरले मनोनयन दर्ता गराएका छन् ।

Advertisement

नेपाल लयर्स एसोसिएसन (एलएलए) ले भने डिएलएले विगतका सहमति बारम्बार तोड्दै आएकाले यो चुनावमा उम्मेदवारी नदिने निर्णयमा पुगेको बताएको छ । एनएलए कास्की संयोजक शुकदेव गौतमले बारमा सबै सदस्यका अपनत्व महसुस गराउन सहमतिमा जान राखिएका प्रस्ताव डिएलएले अस्वीकार गरेको बताए ।

आगामी २ वर्षका लागि उच्च बारको चुनाव हुन लागेको हो । ४ सय ३३ सदस्य रहेको उच्च बारमा डिएलएको प्रष्ट वहुमत छ । एनएलको भन्दा १ सय १० मत बढी रहेको डिएलएको दाबी छ ।

सदस्य वाहुल्य भएकै कारण वर्तमान र यसअघिको कार्याकालमा बार कार्यसमितिमा प्रगतिशीलले उम्मेदवार विजयी हुन सकेनन् । वर्तमान समितिका लागि मतदान नै भए पनि अघिल्लोमा भने सर्वसम्मत भएको थियो ।

१० वर्ष अघि उच्च बारबाट अलग्गिएर प्रगतिशील कानुन व्यवसायीले कास्की जिल्ला बार गठन गरेका थिए ।

जिल्ला बारमा भने स्थापनाकालदेखि नै प्रगतिशीलको वर्चस्व छ । बीचका केही वर्ष उच्च र जिल्लामा सहमतिकै आधारमा उम्मेदवारी दिएर दुवै संगठनको प्रतिनिधित्व गराइएको थियो ।

यो क्रम पछिल्लो समयमा आएर टुटेको छ । जिल्ला बारमा ८३ सदस्य छन् । जिल्लामा रहेका डिएलएका सबैजसो सदस्यले उच्चतिरै सदस्यता सारेका छन् ।

तपाईको प्रतिक्रिया