जुवाडेसँग साढे ११ लाख धरौटी माग

समाधान संवाददाता २०७७ मंसिर २५ गते १९:५७

समाधान संवाददाता, पोखरा

जिल्ला अदालत कास्कीले जुवातास खेल्दाखेल्दै पक्राउ परेका ६ जनाबाट साढे ११ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

कात्तिक ७ गते पोखरा १२ का योगेश श्रेष्ठको घरमा डेरा गरी बस्ने नवीन गौचनको घरकोठाबाट पक्राउ परेकाहरुबाट त्यतिका धरौटी लिन अदालतले आदेश गरेको हो ।

Advertisement

उक्त समयमा ठाकुरप्रसाद गुरुङ, प्रेमकुमारी गुरुङ, संगीता भन्ने सन्तुमाया गुरुङ, नवीन गौचन, दिलबहादुर घर्तीमगर र टीकाराम रिमाल पक्राउ परेका थिए ।

उनीहरुमध्ये ठाकुरप्रसाद गुरुङबाट ३ लाख ६३ हजार, प्रेमकुमारी गुरुङबाट १ लाख ७५ हजार ४ सय ७०, संगीता भन्ने सन्तुमाया गुरुङबाट १ लाख ८९ हजार, नवीन गौचनबाट २ लाख ४० हजार ६५, दिलबहादुर घर्तीमगरबाट १ लाख ५४ हजार र टीकाराम रिमालबाट २७ हजार १४० नगद धरौट, बंैक ग्यारेन्टी वा सो बराबरको जेथा जमानत माग गरी दिए तारेखमा राख्नू भन्ने आदेश अदालतले गरेको हो ।

Advertisement

जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराई इजलासले जुवातास मुद्दाका उक्त प्रतिवादीहरु निर्दोष रहेछन् भन्न सकिने अवस्था नदेखिएको र पछि अनुसन्धान तथा प्रमाणबाट ठहर बमोजिम हुने गरी उक्त आदेश गरेको थियो ।

फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ को अवस्था विद्यमानता देखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी आदेश भएको जानकारी अदालतका स्रेस्तेदार रामप्रसाद पौडेलले जानकारी दिए । अदालतको यस्तो आदेश मंगलबार आएको थियो ।

यसअघि पटकपटक जुवा तासको कसुर गरी सजाय पाइसकेको र उक्त कसुरमा सजाय पाएको ५ वर्षभित्र सोही कसुर गरेको देखिएकाले पछिल्लोपटक गरेको सजायको दोब्बरसम्म थप सजाय हुने कानुनी व्यवस्था अनुसार अदालतको आदेश आएको हो ।

यो मुद्दाका प्रतिवादीमध्ये कतिपय ७ पटकसम्म पक्राउ परेका पटके जुवाडे भएका हुँदा त्यसै अनुसार बरामद रकममा सजाय बढ्दै जाँदा धरौटी रकम झन्डै ११ लाख रुपैयाँ पुगेको हो ।

अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा (३) बमोजिम बरामद रकम जफत र सजायको मागसहित जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरुविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दामा सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता रुद्रप्रसाद सुवेदी र प्रतिवादीका तर्फबाट अधिवक्ता देवनाथ मरासिनीले बहस गरेका थिए ।

प्रहरीले उनीहरुलाई पक्राउ गर्दा खालबाट ३ लाख २३ हजार ३९० रुपैयाँ नगदसहित ३ बुक तास र तास खेल्न प्रयोग भएको नीलो रङको टेबलकभर बरामद गरेको थियो ।

प्रतिवादीहरुले हारजितका लागि जुवा, तास खेल्न जम्मा नभएको दाबी प्रस्तुत गरेका थिए । ‘खेल्ने तयारीसम्म गरेको हो, हामीहरूले जुवा, तास नखेलेको अवस्थामा प्रहरीले हामीहरूलाई पक्राउ गरी झुट्टा मुद्दा लगाएको हो,’ प्रतिवादीहरुले भनेका थिए, ‘तसर्थ हामीहरूले अभियोग दाबीबाट सफाइ पाउनुपर्छ ।’

तपाईको प्रतिक्रिया