आकासे पुल आकाशको फल नहोस्

समाधान संवाददाता २०७७ मंसिर २६ गते ११:१६

सम्पादकीय

पोखराको सिर्जनाचोकमा आकासे पुल निर्माण गर्न भनेर पोहोर साल मंसिर २७ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरेका थिए ।

योजनाअनुसार काम भइदिएको भए त्यहाँ पुल निर्माण भइसक्नुपर्ने थियो । तर अहिले केवल पिल्लर ठडिएका छन् र काम रोकिएको छ । पुलै पो नबन्ने हो कि भन्ने अवस्था देखिएको छ ।

Advertisement

कारण त्यहाँ बिजुलीका खम्बाहरु छन्, जसले पुल निर्माणमा असजिलो भएको छ । बिजुलीको करेन्ट बहने तार र आकासे पुल समान उचाइका हुँदा दुर्घटनाको जोखिम हुन्छ ।

तसर्थ बिजुलीको पोल अग्लो बनाएर त्यसभन्दा मुनिमात्रै आकासे पुल बन्नुपर्छ । सोही अनुसार निर्माण गर्न चाहिने बिजुलीका अग्ला पोलको अभावले काम रोकिएको समद्ध पक्षले बताउँदै आएका छन् । तर यो समस्या पुल निर्माण गर्दागर्दा बोध हुनुचाहिँ निकै बिडम्वनापूर्ण छ ।

Advertisement

यो पढ्नुहोस् – पोलले अड्किएको पुल

सिर्जनाचोकमा आकासे पुल निर्माण गर्ने भनेर सर्भे गर्दा वा त्यसको परियोजना रिपोर्ट तयार गर्दा नै थाहा हुनुपर्ने र त्यस अनुसारको तयारी गर्नुपर्ने कुरा अहिले आएर भइरहेको छ ।

पहिलो बिजुलीका ताल र पोलको व्यवस्थापन गरी आकासे पुल शिलान्यास गर्नुपथ्र्याे । तर नेपालमा विकास कसरी गरिन्छ भन्ने कुराकै उदाहरण पोखराको यो आकासे पुल बनेको छ ।

तयारीबिनै, सम्भावनाबिनै पनि योजना बनाउने, शिलान्यास पनि गरिहाल्ने जुन तौरतरिका देखिन्छ, त्यो वास्तवमा केटौलापना हो । अपरिपक्वता हो । आकासे पुल बनाउन पहिलो त्यस अनुसारको ठावै तयार नपारी शिलान्यासको हतारो गर्नु भनेको प्रचार मोह हुनु पनि हो ।

सिर्जनाचोकमा आकासे पुल बनाउन बिजुलीको तार र पोल व्यवस्थापनका लागि चाहिने १६ मिटर अग्ला पोल नेपालमा छैनन्, पाइन्नन् भन्ने कुरा आएको छ । तर संसारमै नपाइने भन्ने होइन ।

नेपालमा धेरै थरी चिजबिज पाइन्न । त्यसो भनेर बस्ने हो भने कुनै काम पनि सम्भव छैन । फेरि १६ मिटर अग्ला पोल कुनै ठूलो साधन होइन, जुन विश्वको अन्तरकुन्तरमै गएर खोज्नुपरोस् वा किन्न साह्रै महँगो परोस् । छिमेकी भारतमै पाइन्छ त्यतिका अग्ला पोल ।

एउटा पोलको पर्ने मूल्य भनेको पनि १ लाख रुपैयाँ जति हो । त्यतिनजिकै पाइने र खासै महँगो नपर्ने साधन ल्याएर फटाफट काम गर्नुको विकल्प छैन ।

बिजुलीको पोल भनेका रकेट बनाउन चाहिने पार्टपुर्जा होइनन् । त्यसैले बिजुलीका अग्ला पोल कुनै ठूलो समस्या हुनु हुँदैन । यति सामान्य समस्या पनि सुल्झाउन ढिला गर्नु पनि हाम्रो अकर्मण्यता नै हो ।

यस्ता ढिलासुस्तीले वास्तवमै जनतालाई निराश बनाउँछन् । जनप्रतिनिधि नेतृत्वको महानरपालिका गम्भीर हुन जरुरी छ । जनताका लागि सामान्य एउटा आकासे पुल आकाशको फल जस्तो असम्भव नहोस् ।

तपाईको प्रतिक्रिया