पोखराको प्रदर्शनलाई अर्जुननरसिंह केसीले सम्बोधन गर्ने

समाधान संवाददाता २०७७ मंसिर २६ गते १५:०७

काठमाडौं

सरकारविरुद्ध प्रमुख प्रतपक्षी दल नेपाली कांग्रेसले आउँदो २९ मंसिरमा देशव्यापी प्रदर्शन गर्दै छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गृहजिल्ला तनहुँमा भएको दुर्व्यवहार, कोरोना नियन्त्रणमा सरकारको असफलता, भ्रष्टाचार, स‌ंवैधानिक अंगलाई कमजोर बनाउने काम भएको भन्दै कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो ।

Advertisement

देशका विभिन्न मुख्य सहरमा हुने प्रदर्शनअन्तर्गत पोखरामा केन्द्रबाट नेता अर्जुननरसिंह केसी आउने भएका छन् । देशका मुख्य सहरमा आयोजना हुने प्रदर्शनमा केन्द्रीय स्तरका नेताहरुले सम्बोधन गर्न लागेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

उनका अनुसार सभापति शेरबहादुर देउवाले हेटौंडाको प्रदर्शनमा सम्बोधन गर्नेछन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंमा सम्बोधन गर्ने कार्यक्रम छ ।

Advertisement

उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री शशांक कोइरालाले विराटनगर, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुर, सहमहामन्त्री प्रकाशशरण महतले झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठले काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषाको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला महोत्तरी, नेताहरू चित्रलेखा यादव सप्तरी र रामशरण महतले चितवनको प्रदर्शनलाई सम्बोधन गर्नेछन् ।

युवा नेता गगन थापा कैलाली, प्रदीप पौडेल कञ्चनपुर, एनपी साउद अछाम जानेछन् ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार उक्त दिनको प्रदर्शनका लागि केन्द्रबाटै १० वटा नारा तय गरि परिपत्र गरिएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नारा लगाउन भनेको कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारलाई भने सर्वसत्तावादीको आरोप लगाएको छ ।

‘चारैतिर भ्रष्टाचार, जनताले चिन्यो ओली सरकार, जनता कोरोनाको मारमा नेकपा सत्ताको जितहारमा, औषधि छैन मल छैन सत्ताको लडाइँ, लाज छैन, बढ्यो महिला हिंसा र बलात्कार, अकर्मण्य भो ओली सरकार’ लगायत नारा केन्द्रबाटै तय गरिएका छन् ।

केन्द्रले तोकेकाबाहेक अरू नारा प्रदर्शनमा लगाउन पाइने छैन ।

तपाईको प्रतिक्रिया