‘प्रदेश—प्रदेशबीच पर्यटक आदानप्रदान जरुरी’

समाधान संवाददाता २०७७ मंसिर २७ गते ९:५१

विराटनगर

कोभिड १९ बाट नराम्रोगरी प्रभवित पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन आपसी सहकार्यका लागि पूर्वी नेपाल र पोखराका पर्यटन व्यवसायी एकमत देखिएका छन् ।

जाऊँ है पोखराको ४ दिने अभियान लिएर बुधबार पोखराबाट निक्लिएको पश्चिमाञ्चल होटल संघ पोखराको टोलीले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन र अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको थियो ।

Advertisement

त्यस अवसरमा बोल्दै क्षेत्रीय होटल संघ मोरङका अध्यक्ष राजन श्रेष्ठले तत्कालीन द्वन्द्वकालमा पश्चिमाञ्चल होटल संघले जाऊँ है पोखरा कार्यक्रम सुरु गरेर सह्रानीय काम गरेको बताए ।

शिथिल भएको पर्यटनलाई आन्तरिक पर्यटनमा जोड दिएर उकास्न सकिने उनले विचार राखे । प्रदेश १ मा पनि थुप्रै पर्यटकीय क्षेत्र रहे पनि तिनबाट मनग्गे फाइदा लिन नसकिएको पनि उनले बताए ।

Advertisement

पर्यटन पुनस्थापना समिति प्रदेश १ का संयोजक भविशकुमार श्रेष्ठले कोभिडका कारण पर्यटन क्षेत्र निकै अफ्ठेरो अवस्थामा रहेको भन्दै प्रदेश—प्रदेशबीच पर्यटक आदानप्रदान जरुरी भएको भन्दै उत्तर भारतका सहरहरुमा सेल्स मिसन सञ्चालन संयुक्त रुपमा सञ्चालन गर्न सकिने बताए ।

यी तीन सहरबाट काठमाडौं हुँदै पोखरा जोड्ने गरीसमेत यस्तो उडान सञ्चालन गर्न सके सेवा दिगो हुन सक्ने सुझाव समेत कार्यक्रममा राखिएको थियो ।

आयोजक संघका सल्लाहकार हरि शर्मा गैह्रेले आफूहरु प्रदेश १ मा व्यापार गर्न नभई आशा र उत्साहको सन्देश प्रवाह गर्न आएको बताए । पर्यटक आदानप्रदानमा समेत जोड दिन जरुरी भएको भन्दै उनले एक नम्बर प्रदेशले ठूलो पर्यटकीय सम्भावना बोकेको स्मरण गरे ।

नाट्टा प्रदेश १ का वरिष्ठ उपाध्यक्ष पुण्य भट्टराईले पूर्वी नेपाल र पोखराबीच सिधा हवाई उडान जरुरी भएको बताए । पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले तनावरहित जीवनका लागि पनि पर्यटन आवश्यक भएको भनाई राखे ।

आयोजक संघका अध्यक्ष एवं पर्यटन पुनरोत्थान समिति गण्डकी प्रदेशका सहसंयोजक विकल तुलाचनले व्यवसायीबीच सहकार्य गरेर प्रवर्धनका अभियान सञ्चालन गर्दै पर्यटन पुनःस्थापना गर्ने प्रस्ताव राखे । दिगो पर्यटनका लागि पूर्वाधारको जरुरी हुने भन्दै उनले सिमरा, जनकपुर र विराटनगरलाई हवाई सेवा मार्फत पोखरासँग जोड्न जरुरी भएको बताए ।

यसअघि सांस्कृतिक एवं अध्यात्मिक नगरी जनकपुरमा बिहीबार आयोजित कार्यक्रममा संघका अध्यक्ष तुलाचनले अहिले पोखरा घुम्ने उपयुक्त समय भएको बताए ।

पर्यटकीय सेवा सुविधामा ५० प्रतिशतसम्म छुट प्रदान गरिएका कारण खर्चसमेत कम लाग्ने भन्दै तुलाचनले पोखरा घुम्न जनककपुरवासीसँग अनुरोध गरे । पोखरामा बन्द होटलहरु समेत अब खुल्ने क्रम अगाडि बढेको र पर्यटन विस्तारै उठ्ने क्रममा रहेको पनि उनले बताए ।

प्रदेश २ का पर्यटन सचिव डा. रामचन्द्र कँडेलले आन्ततरिक पर्यटन नै दिगो पर्यटनको आधार भएको बताए । ब्रान्डिङ र मार्केटिङ आन्तरिक पर्यटनका लागि महत्वपूर्ण पक्ष भएको भन्दै उनले जनकपुर पोखरा सुविधा सम्पन्न पर्यटक बसमार्फत् जोड्न पनि जरुरी भएको बताए ।

आयोजक संघका निवर्तमान अध्यक्ष एवं होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले पोखरामा आन्तरिक पर्यटकको अकुपेन्सी ४० प्रतिशत र कुल पर्यटक अकुपेन्सी ८० प्रतिशत सम्म पुगे पनि अहिले कोभिडले अवस्था विग्रन पुगेको बताए ।

पर्यटन क्षेत्रलाई चलायमान बनाउन कनेक्टिभिटीको भूमिका ठूलो हुने भन्दै उनले पोखरा र जनकपुर हवाई सेवाले जोड्न जरुरी भएको बताए । अभियानका संयोजकसमेत रहेका पराजुलीले अब आन्तरिक र भारतीय पर्यटकलाई जोड दिएर अगाडि बढ्न प्रस्ताव राखे ।

पर्यटन पुनःस्थापन समिति प्रदेश २ का संयोजक मनिष झाले पर्यटकीय विकास र प्रबर्द्धनका लागि जनकपुरमा अध्यागमन कार्यालय स्थापना जरुरी भएको बताए । जनकपुर ७२ कुटी र ५२ कुन्डको शहर भएको पनि उनले सुनाए । जनकपुर र पोखराबीच हवाई सेवाको माग पनि उनले गरे ।

स्थानीय पर्यटन व्यवसायी विजय झुनझुनवालाले पर्यटकीय विकासका लागि व्यवसायिक एकता र सहकार्य आवश्यक भएको बताए । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मंसिर २४ बाट सुरु भएको अभियान अन्तर्गत पर्सा, जनकपुर, वीरगन्ज, विराटनगर र चितवन समेटिएका छन् ।

अभियानका परिकल्पनाकारमध्ये एक बोर्डका कार्यकारी सदस्य विप्लव पौडेल पनि भ्रमण टोलीसँगै छन् । भ्रमण कार्यक्रम आज सकिने छ ।

तपाईको प्रतिक्रिया