सडक महोत्सव ३ दिनमात्रै, कन्सर्ट नहुने

समाधान संवाददाता २०७७ पुष १ गते १८:४४

समाधान संवाददाता, पोखरा

कोरोना महामारीले विभिन्न मेला, महोत्सव स्थगित भइरहेका बेला पोखरा सडक महोत्सवलाई भने निरन्तरता दिइने भएको छ ।

आयोजक रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराले बुधबार पत्रकार सम्मेलन गरी २२ औं संस्करणको महोत्सव स्वास्थ्य मापदण्ड अपनाएरै गर्ने जानकारी दिएको हो ।

Advertisement

विगतमा ५ दिन हुने गरेको महोत्सव यस वर्ष ३ दिनमात्रै चल्ने महोत्सव संयोजक वसन्त गौतमले जानकारी दिए । पोखरालाई अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थलका रुपमा प्रवद्र्धन गर्ने लक्ष्यसहित यस वर्ष पुस १५ देखि १७ गतेसम्म महोत्सव हुनेछ ।

‘पोखरा खुल्लै छ र पर्यटकलाई स्वागत गर्न पोखरा तयार छ’ भन्ने सन्देश दिनमात्रै यस वर्षको महोत्सव आयोजना गरिएको संयोजक गौतमले बताए । ‘सुस्ताएको पर्यटन क्षेत्रलाई गति दिन र पर्यटन व्यवसायीमा नयाँ उमंग थप्न यस पटकको महोत्सवले भूमिका खेल्ने छ,’ उनले भने ।

Advertisement

२२ औं संस्करण विगतका वर्षजस्तो भव्य तरिकाले हुने छैन । यसपालि कोमागाने पार्कभित्र कन्सर्ट, बाल उद्यान लगायत हुने छैनन् ।

रेवान पोखरा अध्यक्ष लक्ष्मण बरालले यस वर्षको महोत्सव सहिदचोकदेखि खहरेसम्मको ३ किलोमिटर सडकमा हुने जनाए । ‘३ किलोमिटर सडकभित्र ३ वटा स्टेज राख्छौं । त्यहाँ सांस्कृतिक कार्यक्रम हुन्छन्,’ उनले भने, ‘सडक दायाँबायाँ बोर्डमा स्वास्थ्य मापदण्डबारे जानकारी राखिन्छ ।’

महोत्सवको पहिलो र तेस्रो दिन दिउँसो ३ देखि राति १० बजेसम्म महोत्सव क्षेत्रमा सवारी प्रवेश निषेध गरिएको छ । दोस्रो दिन इभमा भने मध्य रात १२ बजेसम्म कार्यक्रम हुनेछ ।

विगतमा अंग्रेजी नयाँ वर्ष सुरुआतसँगै मध्यरात १२ बजे आतिसबाजी गरिन्थ्यो । तर यो वर्ष के गर्ने भन्ने निर्णयमा रेवान पुगेको छैन । ‘त्यसका लागि पहिल्यै तयारी गर्नुपर्ने हुन्छ । तर यो वर्ष आतिसबाजी गर्ने÷नगर्नेबारे निर्णय भइसकेको छैन,’ अध्यक्ष बरालले सुनाए ।

पोखरा पर्यटन परिषद अध्यक्ष गोपी भट्टराईले कोरोनाले प्रभावित पर्यटन क्षेत्रलाई सडक महोत्सवले चलायमान बनाउने विश्वास व्यक्त गरे । सरकारले व्यवसायीका लागि ल्याएको जीवन रक्षा कोष कार्यान्वयनमा ल्याउनुपर्ने उनको माग छ ।

महोत्सवमा सांस्कृतिक कार्यक्रमबाहेक केही खेलकुद गतिविधि पनि हुने आयोजकले जनाएको छ । डुंगा दौड प्रतियोगिता, तारो (आर्चरी) हान्ने प्रतियोगिता र बिच भलिबल हुने छन् ।

तपाईको प्रतिक्रिया