पार्किङ व्यवस्थित बनाऔं

समाधान संवाददाता २०७७ पुष ५ गते ५:००

सम्पादकीय

पोखरा महानगरपालिकाले सडकमै पार्किङ गरिने मोटरसाइकल र गाडीहरुबाट पार्किङ शुल्क उठाउन ठेक्का दिएपछि यसबारे बहस हुन थालेको छ । हाला कि पार्किङ व्यवस्थापनको बहस पुरानै हो ।

पोखराको मुख्य सहरी भेगमा अहिले सबैभन्दा ठूलो अस्तव्यस्तता र टाउको दुखाइको विषय नै पार्किङ हुन थालेको धेरै भइसक्यो ।

Advertisement

मुख्य व्यापारिक केन्द्र महेन्द्रपुल चिप्लेढुंगामा सवारी साधन पार्किङ गर्ने ठाउँ पाउन मुस्किल छ । सडक किनारमै मोटरसाइकल पार्किङ गरिँदा सवारी साधन आउजाउ गर्ने ठाउँ साँघुरो हुने गरेको छ ।

फराकिलो भनिएको नयाँ सडकमै पनि त्यस्तै हुन थालेको छ । र, प्रश्न उठ्न थालेको छ, सडक गाडी ओहोरदोहोर गर्नका लागि हो कि पार्किङका लागि ?

Advertisement

हो, स्वाभाविक रुपमा सडक पार्किङका लागि होइन गाडी गुडाउनका लागि बनाइएको हो । त्यही सडकमा पार्किङ गर र शुल्क पनि तिर भनिदिँदा प्रश्न उठेको हो ।

महानगरपालिकाले पार्किङ शुल्क लिनै हुँदैनथ्यो भन्नेसम्मका तर्कहरु सुनिएका छन् । तिनमा दम छैन । भन्नेले त महानगरपालिकाले कुनै पनि शुल्क लिनु हुँदैन, करै उठाउनु हुँदैन, नागरिकलाई सुविधा मात्रै दिनुपर्छ भन्छन् ।

त्यो सम्भव हुने कुरै होइन । प्रश्न के हो भने पार्किङ शुल्क लिन हुन्छ भन्दैमा पनि जहाँ पनि पार्किङ गर्न पाइने अनि शुल्क तिरे पुग्ने हो त ? हो, त्यस्तो बेथिति हुनु हुँदैन भन्नेतिर सबैको ध्यान जानुपर्छ र महानगरपालिकालाई पनि त्यतै ध्यान केन्द्रित गर्न लगाउनुपर्छ ।

पार्किङ शुल्कका लागि जुन दर तोकिएको छ, त्यो महँगो भयो भन्ने पनि छ । निजी कारका हकमा घन्टाका हिसाबमा पार्किङ शुल्क लिँदा निकै महँगो परेको भन्ने गुनासो पनि तार्किक छ ।

आजको दिनमा निजी कार बिलासी साधन हुन छाडिसकेको छ । आधारभूत साधनमा दरिन थालेको कारलाई अत्यधिक शुल्क थोपर्न हुन्न भन्ने तर्कमाथि विचार गर्नुपर्छ ।

साँच्चीकै पोखराको पार्किङ व्यवस्थापनपट्टि ध्यानै नदिई शुल्क उठाउनमात्रै खोजियो भने यो सहर निकै अव्यवस्थित र कुरुप हुनेमा कुनै द्विविधा छैन ।

यसै अस्तव्यस्त भएको सहरको ट्राफिक व्यवस्थापनमा पार्किङको अहिलेकै जस्तो तौरतरिकाले झै समस्या थप्ने पक्का छ ।

पार्किङका लागि फरक शैली र तौरतरिकाको व्यवस्थापन गर्न महानगरपालिकाले तत्कालै योजना बनाएर काम गर्नुपर्छ । स्मार्ट सिटीको परिकल्पना अहिलेकै छाँटको पार्किङले पूरा हुँदैन ।

पार्किङ व्यवस्थापनमात्रै एउटा समस्या सुल्झाउनपट्टि लाग्दा सहरको व्यवस्थापन हुन सक्दैन । सिंगो सहरको बसोबास र बजारको व्यवस्थापनबारे नयाँ तरिकाले नसोच्ने हो र काम नगर्ने हो भने काठमाडौंजस्तै भताभुंग भएको देख्न र भोग्न धेरै समय कुर्नुपर्दैन ।

तपाईको प्रतिक्रिया