‘बहुमतको मुख्यमन्त्री हटाउने खोजे प्रदेश सभा विघटनको विकल्प छैन’

समाधान संवाददाता २०७७ पुष १६ गते १४:२४

अनुप पौडेल, पोखरा

नेकपाको विवादले देश र यहाँको राजनीति कुन दिशामा जान्छ भन्ने यकीन छैन । पछिल्लो २ हप्तामा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र पृथ्वीसुब्बा गुरुङ समस्या समाधानका लागि काठमाडौं धाइरहेका छन् ।

उनी आफैं भन्छन्, ‘काठमाडौं जाँदाजाँदा थाकिसकें । १ दिन यहाँ हुन्छु, अर्को दिन उता ।’

Advertisement

राष्ट्रिय जनमोर्चाको समर्थनपछि उनको मुख्यमन्त्री पद तत्कालका लागि सुरक्षित छ । कांग्रेस र आफ्नै पार्टीको गुटले चाल्ने कदमले उनको कुर्सी के हुन्छ भन्ने यकीन गर्नेछ ।

पार्टी केन्द्रको विवादले प्रदेशमा पारेको प्रभावबारे मुख्यमन्त्री गुरुङले बुधबार खुलेर कुरा राखे । काठमाडौं पोखरा आउजाउ गर्नमै व्यस्त उनले नवौं संस्करणको नेपाल साहित्य महोत्सवको सेसन ‘प्रदेशबाट देखिने देशमा’वर्तमान परिस्थितिबारे बहस गरे । उनीसँग सहजकर्ताका रुपमा पत्रकार वसन्त बस्नेत थिए ।

Advertisement

मुख्यमन्त्री गुरुङ अझै पार्टी एक हुनुपर्छ भन्ने पक्षमा छन् । त्यसैले उनी आफ्नो क्याबिनेटमा भएका अर्को गुटका २ मन्त्री नहटाउने योजनामा छन् । ‘मलाई एकता नचाहिने भए उताका मन्त्रीलाई हटाइदिन सक्थें । हटाएको छैन नि,’ उनले भने, ‘राजीनामा दिए केही लाग्दैन । त्यतिबेला विकल्प सोच्नुपर्छ । मैलेचाहिँ उहाँहरुलाई हटाउँदिन ।’

केपी ओलीको यो कदम असंवैधानिक नरहेको गुरुङले दाबी गरे । ‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटन गरेर चुनावमा जाने अधिकार हुन्छ, यो ध्रुव सत्य हो ।’लोकतन्त्रमा सबैभन्दा ठूलो शक्ति जनता हुन् । त्यसैले प्रधानमन्त्रीले गलत र सही छुट्याउने अधिकार जनतालाई दिएको उनको भनाइ छ ।

उनले अहिले विवाद उत्कर्षमा पुगे पनि प्रधानमन्त्रीविरुद्ध पहिल्यैबाट षड्यन्त्र हुँदै आएको दाबी गरे । ‘यती’जस्तै शक्तिले अराजक गतिविधि गरिरहेको उनले सुनाए । ‘भित्रबाट वा बाहिरबाट तर नेपालमा यती (हिममानव) जस्तै शक्तिले अराजक गतिविधि गरिरहेको छ,’ उनले थपे, ‘यतीलाई हामीले देखेका छैनौं । त्यस्तै शक्तिले यो अवस्था सिर्जना गर्‍यो ।’

सहजकर्ता बस्नेतले मुख्यमन्त्री गुरुङलाई गण्डकीबाहेक अरु प्रदेशका नेता पार्टी फुटाउन किन कस्सिए भनेर प्रश्न गरे । उनले गण्डकीमा सरकारको नेतृत्वमा समस्या नरहेकाले त्यो परिस्थिति नआएको दाबी गरे ।

‘वारपार लाग्नेहरुले पनि तलमाथि किन गर्नुपर्‍यो, पार्टी एकता हुनु पहिले वाम गठबन्धनकै सरकार बनाएको हो। त्यसैले पहिलेकै जस्तो राख्दिए भइहाल्यो नि भन्ने छ,’ उनले भने ।

संघीयतामा भने यसले कुनै प्रभाव नपार्ने मुख्यमन्त्री गुरुङले दाबी गरे ।

संघीयताबारे भने उनले निकै गुनासो पोखे । नेपालले कमजोर संघीयता अबलम्बन गरेको उनको भनाइ छ । संविधान जारी भएपछि अहिले लागु गरिएको संघीयतालाई छलफल नै नगरी ल्याइएको उनले टिप्पणी गरे।

‘त्यो बेलामा जसरी पनि संविधान जारी गर्नुपर्ने परिस्थिति थियो । हामीले कमजोर किसिमको संघीयता ल्यायौं,’ उनले भने, ‘मेरो त अझै पनि गुनासो छ ।’

बस्नेतले प्रदेश विघटनको योजना भए/नभएकोबारे अर्को प्रश्न तेस्याए । उखान जोड्दै मुख्यमन्त्रीले आफ्नो जवाफ फर्काए । ‘लासामा सुनै सुन भएर मलाई के हुन्छ ? कान खाली भएपछि,’ उनले प्रष्ट्याउँदै भने, ‘पार्टीमा बहुमत भएर के हुन्छ, बहुमतको प्रधानमन्त्रीलाई कामै गर्न नदिएपछि ।’

उनले प्रदेशमा बहुमतको मुख्यमन्त्रीलाई हटाउने प्रयत्न भए विघटनको विकल्प नभएको जिकिर गरे ।

वैशाखमा मध्यावधि चुनाव हुने मुख्यमन्त्री गुरुङले दाबी गरे । अहिलेको परिस्थितिलाई २०५१ सालको विघटनसँग उनले तुलना गरे ।

‘नेपाली कांग्रेसमा नेता कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले गिरिजाप्रसाद कोइरालाले एकलौटी गर्‍यो, हामीलाई मान गरेन भनेर विरोध गरे । गिरिजाको पुत्ला जलाइयो, जुत्ताको माला लगाइयो । त्यसपछि उनी जनतामा गएका थिए, अहिले पनि त्यही भएको हो,’ गुरुङले भने ।

२६ भदौमा भएको सम्झौता कार्यान्वयनमा प्रचण्डले चासै नदिएको उनले आरोप लगाए । ‘कार्यकारी अध्यक्षको काम पार्टी व्यवस्थित गर्ने हो । पार्टीको काममा उहाँ (प्रचण्ड) ले १ सेकेन्ड पनि लगाउनुभएन,’ उनले भने, ‘अर्को अध्यक्षलाई दिइएको मन्त्रिमण्डल फेरबदल, राजनीतिक नियुक्ति र प्रधानमन्त्रीको बद्ख्वाइँमात्रै गर्ने ?’

जिल्ला समन्वय समिति आवश्यक नभएको मुख्यमन्त्री गुरुङले औंल्याए । संविधान र संघीयताको मर्मले जिल्ला समन्वय समितिको आवश्यकता नदेखाउने उनको बुझाइ छ । मुख्यमन्त्रीले संघीयतालाई डमरुको संज्ञा दिए । जसमा संवैधानिक रुपमा प्रदेश सरकारलाई कमजोर बनाइएको छ, स्थानीय सरकारलाई नसक्ने जिम्मेवारी दिइएको उनको भनाइ छ ।

प्रस्तोता बस्नेतले मुख्यमन्त्री भएर काम गर्न नसकेको क्षोभको तुष निकाल्नुभएको हो कि भन्ने प्रश्न गरे ।

‘म मुख्यमन्त्री हुनुमा मलाई कुनै पनि दुःख छैन,’ मुख्यमन्त्री गुरुङले जवाफ फर्काए, ‘कसैले केही लोभीपापी कुरा लिएर मेरो दैलोमा आयो भने मैले पूरा गर्दिनँ । तर यदि यो ठाउँका ५१ प्रतिशत जनताले उनले काम गर्न सकेका छैनन् भनेर मत राख्छन् भने आजै राजीनामा दिन तयार छु ।’

तपाईको प्रतिक्रिया