नेकपा मुस्ताङको सम्पत्ति १ लाख

समाधान संवाददाता २०७७ पुष २० गते १२:३५

एसके थकाली, जोमसोम

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मुस्ताङको सम्पत्तिमा करिब १ लाख नगद र केही फर्निचरमात्र देखिएको छ ।

२०७४ सालको संघ तथा प्रदेश निर्वाचनपछि एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपा मुस्ताङ कार्यालयको खातामा थोरै रकममात्र रहेको नेकपा मुस्ताङ अध्यक्ष चन्द्रमोहन गौचनका स्वकीय सचिव जीवन गोतामेले जानकारी दिए । यो नगद लेबीबाट संकलन भएको हो ।

Advertisement

कार्यालयमा १ दराज र १ टेबल छन् भने सामान्य कार्यक्रम गर्दा बस्ने १ दर्जन कुर्ची छन् । जिसस मुस्ताङ उपप्रमुख राजेन्द्र शेरचनको एकतले माटो बिच्छ्याइएको ६ कोठे घरको १ कोठामा नेकपा मुस्ताङले कार्यालय सञ्चालन गरेको छ ।

साबिक नेकपा एमालेले लिएको १ कोठाबाटै पार्टी एकतापछि नेकपा कार्यालयको काम भइरहेको छ । एकतापछि साबिक नेकपा माओवादी केन्द्र मुस्ताङबाट नगद तथा जिन्सी हस्तान्तरण नभएको गोतामेले जानकारी दिए ।

Advertisement

नेकपा विभाजनपछि कार्यालय कब्जाका विभिन्न घटना सार्वजनिक भए पनि मुस्ताङमा यस्तो नहुने देखिएको छ ।

२०७४ सालको संघ तथा प्रदेशको चुनावमा मुस्ताङबाट साबिक नेकपा एमालेले १ संघ तथा २ प्रदेशसभामा जित हासिल गरेको थियो ।

तपाईको प्रतिक्रिया