हिउँ छिचोल्दै सीमामा सशस्त्रको गस्ती

समाधान संवाददाता २०७७ पुष २२ गते १०:१३

एसके थकाली, जोमसोम

तिब्बतसँग सीमाना जोडिएको कोरला नाका आसपासमा उपल्लो मुस्ताङको छोसेर, नेचुङमा रहेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) का सुरक्षाकर्मीले गस्ती गरेका छन् । मंगलबार सेताम्मे हिउँको परवाह नगरी उनीहरुले नियमित गस्ती गरेका हुन् ।

बिओपी कमान्डर सुजन रानाभाट नेतृत्वमा २० सुरक्षाकर्मीले गस्तीलाई निरन्तरता दिएको सशस्त्र प्रहरी बल ३३ नं. गुल्मका सशस्त्र डिएसपी मोहनजंग कार्कीले जानकारी दिए । तिब्बतसँग सीमाना जोडिएका १६ सीमा स्तम्भको समय तालिका मिलाएर गस्ती गर्ने गरिएको छ ।

Advertisement

लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा हिउँ परेको छ ।

उपल्लो मुस्ताङको तापक्रम अहिले माइनस २० डिग्रीमा झरेको छ ।

Advertisement

चिसो अत्यधिक बढे पनि सीमारक्षाका लागि १२ महिनै खटिनुपर्ने बाध्यता सुरक्षाकर्मीलाई छ । मौसम प्रतिकूल हुँदा सञ्चार सम्पर्क विच्छेद हुने गरेको छ ।

बिजुलीको केन्द्रीय प्रशारण लाइन नहुँदा सौर्य ऊर्जाकै भर पर्नुपर्ने हुन्छ । बिहान र बेलुकी थेग्नै नसक्ने चिसो र हावाहुरीले सुरक्षाकर्मीलाई झनै सास्ती हुन्छ । नेचुङका सुरक्षाकर्मी बिहान र बेलुकी मट्टीतेलबाट बल्ने हिटर ताप्छन् ।

गत जेठमा लोमान्थाङको नेचुङमा बिओपी स्थापना भएको थियो । डिएसपी कार्कीले प्रदेश सशस्त्र मुख्यालय पोखराबाट बिओपीका सुरक्षाकर्मीलाई जाडो छल्ने न्याना कपडा उपलब्ध भएको जानकारी दिए ।

उपल्लो मुस्ताङमा मंगलबार हिमपात भएको छ । यसअघि मंसिर १ गते सिजनको पहिलो हिमपात भएको थियो । उपल्लो मुस्ताङमा हिमपात भए पनि तल्लो मुस्ताङका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा हिउँ परेन ।

हिउँ परेपछि उपल्लो मुस्ताङका किसान उत्साहित बनेका छन् । तर तल्लो मुस्ताङमा किसान हिउँको पर्खाईमा छन् ।

तल्लो मुस्ताङमा हिउ नपरे पनि चिसो भने अत्यधिक बढेको जोमसोमका अजित थकालीले बताए । हिउँ परेपछि किसानको खेतबारीको बालीनाली सप्रिने गर्छ । हिउँले जमिन सिञ्चित गर्ने र बालीनालीमा विभिन्न प्रकारका प्रकोप नियन्त्रण गर्ने हुनाले हिउँ किसानका लागि बरदान सावित हुने थकालीले उल्लेख गरे ।

अहिले चिसोकै कारण मुस्ताङका ६४ सामुदायिक, निजी र गुम्बा विद्यालय बन्द छन् । चिसो बढेकाले खर्कमा पालन गरिएका याकचौरी, भेडा, च्याङ्गा बस्ती नजिक स्थान्तरण गरिएको पशुपालक किसान भूपिन शेरचनले बताए ।

तपाईको प्रतिक्रिया