एनसेललाई लक्षित गरी देशका विभिन्न स्थानमा बम प्रहार र आगजनी, एकको मृत्यु

समाधान संवाददाता २०७५ फागुन ११ गते ९:२१

समाधान सम्वाददाता-पाेखरा

ललितपुरमा एनसेलको मुख्यालय अगाडि बम विष्फोटपछि पोखरा डाडाको नाकस्थित एनसेलको टावरमा आगजनी गरिएको छ। एनसेलको टावर जलेसँगै लेखनाथ क्षेत्रमा विद्युत र इन्टरनेटको लाइन काटिएको छ।

शुक्रबार राति करीब १० बजेको समयमा आगजनी भएको कास्की प्रहरीले जनाएको छ । समयमै दमकल पुर्‍याउन नसक्दा टावर जलेर ध्वस्त भएको छ। आगलागी कसले गरायो भन्ने खुल्न नसकेपनि विप्लव समूहको नेकपा माओवादीमाथि आशंका गरिएको छ ।

Advertisement

त्यस्तै, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा गए राति आगजनी भएको छ । टावरमा लगाइएको घेरबारको गेटको ताला तोडेर भित्र प्रवेश गरी टावरमा आगजनी गरिएको पाइएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो ।

“आगजनीबाट टावरका केबुल र बोर्ड जलेको अवस्थामा रहेको छ”, उहाँले भन्नुभयो, “एनसेल कम्पनीको धनगढीस्थित कार्यालयबाट टावरमा खराबी आएको जानकारी प्राप्त भएपछि तत्काल टावर भएको क्षेत्रमा पुग्दा आगजनी भएको पाइएको छ ।”

Advertisement

टावर रहेको क्षेत्रमा सर्वोच्च अदालतको आदेश नमानेको, सरकारलाई कर नतिरेको र कम्पनीले नाफा आर्जन गरी नेपालमा लगानी नगरेका कारण कारवाही गर्नुपरेको कुरा उल्लेख गरेको पर्चासमेत प्रहरीले फेला पारेको छ । प्रहरीले टावरमा आगजनी गर्नेको खोजीकार्य भइरहेको जनाएको छ ।

यसैगरी, ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयको गेट अगाडि शुक्रबार साँझ भएको बम विस्फोटका घाइते भएका मध्ये एकको मृत्यु भएको छ।

लमजुङ घर भई ललितपुरको भैंसेपाटी बस्दै आएका ४९ वर्षीय सिंहप्रसाद गुरूङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया