सांसद दवाडी तलब लिन्छन्, जनतालाई दिन्छन्

समाधान संवाददाता २०७७ माघ ६ गते ८:३३

तलबभत्ताबापत ३ वर्षमा पाएको झन्डै २० लाख रुपैयाँ क्यान्सरपीडित, दुर्घटनाका घाइतेको उपचार, एम्बुलेन्स खरिद लगायतमा दान

समाधान संवाददता, पोखरा

गोरखाको बारपाक सुलिकोट गाउँपालिका कार्यालय नजिकै स्वास्थ्यचौकी छ । त्यहाँ पुग्ने बाटो गतिलो नहुँदा मान्छे हिँड्नै समस्या हुन्थ्यो, एम्बुलेन्स गुड्ने त परको कुरा । बाटो बनाउनपर्‍यो भनेर स्थानीयले पटकपटक पालिका गुहारे । टेरपुच्छ लागेन ।

Advertisement

गत भदौ पहिलो हप्ता कसैले फेसबुकमा बाटोको बेहाल पोस्ट्याइदियो । प्रदेश सांसद प्रकाशचन्द्र दवाडी काठमाडौं थिए । ती तस्बिर उनीसम्म पुग्यो । आफूलाई खबर आएपछि दवाडीले स्थानीय युवालाई १० भदौमा फोन गरे ।

‘जति खर्च लाग्छ गर्नू, त्यो बाटो बनाउनपर्‍यो,’ उनले फोनमा भने । त्यही दिन स्वास्थ्यचौकी पुग्ने बाटो एम्बुलेन्स गुड्न लायक बन्यो । खर्च २० हजार निस्कियो । तलबभत्ताबाटै २० हजार दिए । अहिले त्यो बाटो एम्बुलेन्स गुड्नलायक छ ।

Advertisement

पोहोर २७ फागुनमा गोरखाको केउरामा जिप दुर्घटना भयो । बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानीबाट गोरखाबजार जाँदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका थिए । त्यसमध्ये ५ जनालाई हेलिकोप्टरबाट काठमाडौं लगियो । ३ जनाको अवस्था गम्भीर थियो ।

दुर्घटनाको खबर गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले थाहा पाए । उनले घाइतेको अवस्था बुझे । आर्थिक समस्या हुनसक्ने बुझेपछि तत्काल ५० हजार रुपैयाँ घाइतेको उपचारका लागि दिए । त्यो पैसा उनले प्रदेश सभा सदस्यको हैसियतले पाएको तलबभत्ता बापतको थियो ।

सांसद दवाडीले आफू प्रदेश सांसद भएदेखि नै तलबभत्ता जनसेवामा खर्च गर्दै आएका छन् । सांसद भएको ३ वर्षमा उनले तलबभत्ताबापत पाएको झन्डै २० लाख रुपैयाँ क्यान्सरपीडित, दुर्घटनाका घाइतेको उपचार, एम्बुलेन्स खरिद, मठमन्दिर, आमा समूहको भवन निर्माण लगायतमा खर्चिएका छन् ।

त्यसबाहेक झन्डै १० लाख रुपैयाँ उनले व्यक्तिगत रुपमा सामाजिक कार्यमा खर्च गरेका छन् । २०७४ माघ ७ गते सांसद पदको सपथ लिँदाकै दिन दवाडीले आफ्नो सबै तलबभत्ता जनसेवामा प्रयोग गर्ने घोषणा गरेका थिए ।

सांसद भएको तेस्रो वर्षमा पाएको तलबभत्ता कहाँ–कहाँ खर्च भयो भन्ने विवरण उनले सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरे ।

सांसद दवाडीले पछिल्लो १ वर्षमा (गत पुसदेखि यो पुससम्म) पाएको तलबमा समेत थपेर ८ लाख ९१ हजार रुपैयाँ बिरामीको उपचार, एम्बुलेन्स खरिद, भवन निर्माणमा खर्चिएका छन् ।

गण्डकी प्रदेशमा सांसदले प्रत्येक महिना ५२ हजार रुपैयाँ पाउँछन् । वर्षभरमा प्रदेशसभा सचिवालयबाट सांसदले साढे ६ लाख रुपैयाँ हारहारीमा तलब लिने गरेका छन् ।

दवाडीले ३ वर्षमा तलब भत्ता स्वरुप पाएको झन्डै २० लाख रुपैयाँ सबै सामाजिक सेवामा खर्चेका हुन् । त्यसबाहेक यो ३ वर्षमा मात्रै अरु १० लाख रुपैयाँ सामाजिक कर्ममा खर्चिएको उनले सुनाए ।

जापानमा २ दशकदेखि व्यवसाय सञ्चालन गरिरहेका दवाडी त्यहाँबाट हुने आम्दानीको ५ देखि १० प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्छन् । आफूले पछिल्लो १ वर्षमा २८ शीर्षकमा ८ लाख ९१ हजार रुपैयाँ सामाजिक कार्यमा खर्चिएको सांसद दवाडीले पत्रकार सम्मेलनमा बताए ।

आफ्नो निर्वाचन क्षेत्र गोरखा २ (ख) का३ वटा गाउँपालिका (बारपाक सुलिकोट, अजिरकोट र सिरानचोक) का आमा समूह, युवा क्लब र विभिन्न व्यक्तिलाई सहयोग गरेको उनले जानकारी दिए ।

प्रदेश सभा बैठक हुँदाबाहेक अरु समयमा आफू जनतासँगै हुने गरेको उनले बताए । ‘काउन्ट गर्दिनँ तर आधा महिनाभन्दा बढी उतै हुन्छु,’ सांसद दवाडीले सुनाए ।

पहिलोपटक चुनाव लडेका उनले प्रतिस्पर्धीलाई २४ सय मतान्तरले हराएका थिए । पत्रकार सम्मेलनमा उनलाई अर्को प्रश्न सोधियो, ‘तपाईं व्यापारिक पृष्ठभूमिको मान्छे, अहिलेको राजनीतिक अवस्था देख्दा किन आएछु जस्तो लागेन ?’ सांसद दवाडीले राजनीतिमा छिर्दा सोचेजस्तो आफूले नपाएको जवाफ फर्काए ।

‘जनताले ५ वर्षलाई दिएको मतको कदर गर्नपर्‍यो नि । ५ वर्षपछि जनताले चाहेनन्, तपाईंलाई तिरस्कृत गर्छौं भने त्योबेला सोच्ने कुरा हो,’ उनले प्रष्ट्याउँदै भने, ‘जसले जे भने पनि ५ वर्ष नसकिँदासम्म जनताकै पक्षमा लाग्ने छु ।’

पत्रकार सम्मेलनमा बोल्दै सांसद दवाडीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयप्रति असन्तुष्टि जनाए । सत्ताका लागि लड्नेहरु कहिल्यै कम्युनिस्ट हुन नसक्ने उनले टिप्पणी गरे । ‘एकअर्का बीचको छेडछाड र घोचपेच, अति निम्न स्तरीय भाषा, के यही हो कम्युनिस्ट विश्वविद्यालयको पाठ्यक्रम ?’ ओली प्रचण्डलाई उनले प्रश्न गरे ।

ओली कदमको विरोध गरेका उनी प्रदेश सरकारलाई कांग्रेसको साथ रहन्छ÷रहँदैन भन्ने प्रश्नमा भने खुलेनन् । पत्रकारले ३ पटक सोधेको प्रश्नमा अडिग रहँदै भनिरहे, ‘अदालतमा मुद्दा छ । हाम्रो संसदीय दलमा केही छलफल भएको छैन ।’

तपाईको प्रतिक्रिया