अविश्वासबारे अहिल्यै सोचेका छैनौं – कांग्रेस

समाधान संवाददाता, पोखरा
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग कानुनी बहुमत रहेकाले गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव ल्याउनेबारे केही नसोचेको कांग्रेसले जनाएको छ । कांग्रेस सांसद कुमार खड्काले प्रदेश १ र बागमतीमा पनि कांग्रेसले प्रस्ताव नल्याएको प्रष्ट्याए ।
खड्काले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विधिवत फुटेपछि मात्रै के कदम चाल्ने भन्ने निर्णय हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा बताए । ‘अहिले पृथ्वीसुब्बा गुरुङसँग बहुमत छ । अल्पमतमा परे उहाँले विश्वासको मत लिनुपर्छ,’ उनले भने, ‘हामीले अहिल्यै अविश्वासको प्रस्ताव ल्याउनु हतार हुन्छ ।’
अविश्वास प्रस्ताव लैजान चाहिने प्रदेश सभा सदस्यको २५ प्रतिशत अर्थात १५ सांसद कांग्रेस एक्लैसँग छन् । सत्तारुढ नेकपाकै दाहाल नेपाल समूहमा भने १२ जना (सभामुखबाहेक) छन् ।
जनता समाजवादीका २ र राजमोका ३ जना सांसद भए पनि राजमोले मुख्यमन्त्रीलाई समर्थन दिने बताइरहेको छ । नेकपा ओली पक्षमा २६ र १ जना स्वतन्त्र सांसद छन् ।
आफूहरुले माग गरेकोप्रदेश सभाको विशेष अधिवेशनबाट मंगलबार साझा संकल्प प्रस्ताव पास भएपछि कांग्रेस र जनता समाजवादी पार्टीले उक्त प्रस्ताव र समसमायिक राजनीतिबारे धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेका थिए । दुवै दलले सरकारको कदमविरुद्ध आफूहरु रहेको र निरन्तर खबरदारी गर्ने बताए ।
जसपा सांसद हरिशरण आचार्यले संकल्प प्रस्ताव साझा बनेर पास हुँदा महत्वपूर्ण विषयमा मिलेर जान सकिन्छ भन्ने सन्देश गएको सुनाए ।
संकल्प प्रस्ताव पेस गरेका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सरकारले संकल्प प्रस्ताव कार्यान्वयन गर्न गरेका वचन पूरा गराएरै छाड्ने बताए । ‘सरकारले वचन गरेपछि काम गर्छ भनेर विश्वास गर्ने हो । गरेन भने संसदबाटै प्रदेशका जनतालाई सरकारले गर्छु भनेर पनि गरेन भन्ने हो,’ उनले भने ।
२१ पुसदेखि सुरु भएको विशेष अधिवेशन मंगलबार सकिएको छ । संकल्प प्रस्ताव पास भएसँगै प्रदेश सभाले ९ सदस्यीय संयुक्त संसदीय अनुगमन समिति बनाएको छ ।
३ महिने कार्यअवधि पाएको समितिमा नेकपाबाट मायानाथ अधिकारी, मित्रकुमारी गुरुङ सुवेदी, रोशन गाहामगर आशा कोइराला, चन्द्रबहादुर बुढा, राजमोका खिमविक्रम शाही, जसपाकी धनमाया लामा पोखरेल, कांग्रेसका मणिभद्र शर्मा र सरिता गुरुङ सदस्य छन् ।
यसले संकल्प प्रस्तावमा भएका बुँदा कार्यान्वयन गर्न र सरकारले कोभिड १९ सँग सम्बन्धित रहेर गरेको कामको अनुगमन गर्नेछ । विशेष अधिवेशनको पाँचौं बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरलेले संकल्प प्रस्ताव पेस गरेका थिए ।
जनता समाजवादी पार्टीका सांसद हरिशरण आचार्य, नेकपा संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारी, नेकपा सांसद गायत्री गुरुङ र राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा समर्थक थिए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया