मुस्ताङमा ६० जनाले लगाए कोरोना विरुद्धको खोप

समाधान संवाददाता २०७७ माघ १४ गते १८:५८

एसके थकाली, जोमसोम

मुस्ताङमा पहिलो दिन ५ दर्जन स्वास्थ्यकर्मीलाई कोभिड १९ विरुद्धको खोप लगाइएको छ । भारतबाट अनुदान स्वरुप प्राप्त खोप नेपाल सरकारमार्फत गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय हुँदै मुस्ताङलाई २ सय ४० डोज खोप प्राप्त भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङको समन्वयमा जिल्ला अस्पताल जोमसोममा स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सहयोगी कर्मचारी, महिला स्वास्थ्य स्वंयसेविका लगायतका ६० जनालाई खोप लगाइएको स्वास्थ्य प्रमुख टीकाराम भण्डारीले जानकारी दिए ।

Advertisement

मुस्ताङकी सिडिओ हिरादेवी पौडेलले गण्डकी प्रदेशलाई माघ ४ गते प्राप्त भएको कोभिड विरुद्धको खोप मंगलबार मुस्ताङ आइपुगेको बताइन् । सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले २४ थान भायल डोज खोप पौडेललाई हस्तान्तरण गरे ।

शर्माले माघ ४ गते प्रदेशलाई प्राप्त भएको ४० हजार खोपमध्ये पहिलो चरणमा गण्डकीका ११ वटै जिल्लामा २० हजार डोज वितरण भएको जानकारी दिए । उनले स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्डका आधारमा माघ १८ गतेसम्म कोभिड विरुद्धको खोप लगाइने उल्लेख गरे ।

Advertisement

पहिलो चरणका लागि प्राप्त भएको कोभिड विरुद्धको खोप घरपझोङबाट सुरु भएको र माघ १८ सम्म सबै स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीलाई लगाइने भएको छ ।

मुस्ताङलाई प्राप्त कोभिड खोप बुधबार सिडिओ पौडेल, प्रदेश सांसद महेन्द्रबहादुर थकाली र घरपझोङ गाउँपालिका अध्यक्ष आशबहादुर थकालीले संयुक्त रुपमा जिल्ला अस्पताल जोमसोमका स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरेका थिए ।

पहिलो चरणको कोभिड विरुद्धको खोप अभियानमा अस्पतालका चिकित्सक साजन बरालले लगाएका छन् । उनलाई अस्पतालकी स्वास्थ्यकर्मी सुनिता सिर्रमलले पहिलो खोप लगाएकी हुन् ।

मुस्ताङ अहिले कोरोना मुक्त छ । मुस्ताङमा अहिलेसम्म ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मुस्ताङमा कोभिडका कारण अहिलेसम्म कसैले ज्यान गुमाएका छैनन् । अहिले मुक्तिनाथ मन्दिरसहित होटल तथा रेष्टुरेन्ट खुलेका छन् भने मुस्ताङ आउजाउसमेत सहज भएको छ ।

तपाईको प्रतिक्रिया