धनबहादुर दाइको सारंगीको कथा

सुरज उपाध्याय
‘सारंगी त रेटे पनि बोल्छ मिठै ध्वनि’
रेट्ने बित्तिकै मीठो बोल्ने सारंगीको पीडा
अरु कस्लाई थाहा होला
फेरि सारंगी रोएको छ
हो धनबहादुर दाइ
सारंगी रोएपछि
बाटुलेचौरको अवस्था कस्तो हुन्छ
हो त्यति कुरा सोध्न बाँकी थियो तिमीसँग
हरेक भेटमा
दुखसुखका मात्रै कुरा भए
सञ्चो विसञ्चोका मात्रै कुरा भए
गर्न पाइन दाइ तिमी सँग सारंगीको कुरा
अस्ति भर्खरै
सारंगीको तार चुडिँदा
झलकमानको सालिक नेर
विद्रोहको ज्वाला निस्किएको थियो
मीठो बोल्ने सारंगीसँग
थुरथुर काम्दै
सिरकभित्र मुठी ताकेर रिस पोखेका थिए
बडाकाजीहरुले
हो धन दाइ
जनकवि गोकुल जोशीलाई भरिया भन्ने काजीहरु
झलकमानको सालिकसँग डराएर
इजारभित्रै सु गरेको धेरै भएको छैन
वर्षौं भयो
कालीखोलामा एक हल गोरु हराएको
हलि दाइको प्रेम कथा अझै बाटुलेचौरका
युवायुवतीहरुले
कालीखोलामा वनभोज खादा सुनाउने गर्छन्
पनी पो चलेन धन दाइ
त्यो बेला पनि प्रेम त चलेको थियो नि
चलेको थियो गोप्य विर्यदान
आज त्यै हलीको मायाको चिनो
उपाध्याय बाहुन बनेर
सप्ताह लगाइरहेको छ
‘खाऊँ त भने सुन्तला पानी
नखाउँ भने दुबैको ज्यान जानी
नरोऊ मयालु’
तपाईको प्रतिक्रिया