डिक्राले सुनाइन् ठाडोभाका

समाधान संवाददाता २०७५ फागुन १२ गते ८:०८

समाधान संवाददाता

सुदूरपश्चिमकी लोकगायिका डिक्रा बादीले शनिबार काठमाडौंमा अर्गानिक स्वादका डेउडा गाएर दर्शकलाई भावुक बनाइन् । पर्यटनकर्मी युवाको संस्था कन्सेप्ट नेपालले आयोजना गरेको कार्यक्रममा उनले १० वटा गीत सुनाइन् ।

उनले ५ वटा ठाडो भाका र ५ वटा दोहोरी गीत गाएकी हुन् । विरह र वेदनाका ठाडो गीत सुन्दा दर्शक भावुक बने भने दोहोरी गीतमा रमाइलो माने । उनलाई संगीतकार पति कित्थ्या बादी र गायिका झुमा लिम्बुले दोहोरी गायनमा साथ दिए ।

Advertisement

दशकदेखि ओझेलमा परेकी लोकगायिकालाई गायनमा पुनरागमन गराउन काठमाडौं ल्याइएको एकल डेउडा गायन कार्यक्रमका संयोजक अमृत भादगाउँलेले जानकारी दिए । कार्यक्रमका सहआयोजकमा रैथाने संगीत समूह काठमाडौं र अली मियाँ लोक वाङ्मय प्रतिष्ठान पोखरा थिए ।

लोकगायिकालाई नगद ५० हजार रुपैयाँ र कदरपत्र प्रदान गरेपछि कार्यक्रम सुरु भएको थियो । संगीतकार बुलु मुकारुङले कदरपत्र र कवि श्यामलले नगद हस्तान्तरण गरेका थिए भने लोकगायिकाको जीवनका आरोह एवं अवरोहबारे कवि एवं सांस्कृतिक अध्येता हेमन्त विवशले प्रकाश पारे ।

Advertisement

एकल गायनमा संगीतकारहरू शम्भु बानियाँ, हरि गुरुङ, पारसमणि सुवेदी, कृष्ण साउँदेन लिम्बु र सञ्जीव मैनालीको समूहले साथ दिएको थियो । कार्यक्रममा कलाकार देवु वोराले डिक्राको गीतमा भावात्मक नृत्य गरे । त्यहाँ उपस्थित दशर्कले चन्दा बाकसमा राखेको ४३ हजार ८ सय ७० रुपैयाँ पनि लोकगायिकालाई दिइयो ।

डिक्राको १ गीत रेकर्ड गर्न र भिडियो बनाउन गायिका शोभा थापाले आर्थिक भार व्यहोरिदिने घोषणा गरिन् । गीतकार हर्क साउँदले उनको उपचार गरिदिने प्रतिवद्धता गरे ।

तपाईको प्रतिक्रिया