एक वर्षअघि सकिनुपर्ने बेनी अस्पतालको भवन निर्माण आधामात्रै

समाधान संवाददाता २०७७ माघ २४ गते १३:१५

म्याग्दी

सदरमुकाम बेनीस्थित ५० श्य्या क्षमताको सुविधा सम्पन्न अस्पतालको भवन निर्माणको काम अलपत्र परेको छ।

भवन निर्माण समयमै नसकिंदा अस्पतालको सेवा प्रभावित भएको छ। निर्माण व्यवसायी र सम्बद्ध कार्यालयको लापरबाहीका कारण एक वर्षअघि नै बनिसक्नुपर्ने भवनको आधा मात्रै काम भएको छ।

Advertisement

भवन निर्माण अलपत्र परेपछि सेवा प्रवाहमा असर परेको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए।

‘पचास श्य्या क्षमता भएपनि १५ श्य्याको संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य छौँ’, कटुवालले भने, ‘पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ।’

Advertisement

नयाँ भवन बनाउन पुरानो भवन भत्काइएको थियो। बहिरङ्ग कक्षको सेवा अस्थायी भवनबाट सञ्चालन गरिएको छ। आकस्मिक र अन्तरङ्ग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ।

स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ। सघन उपचार कक्ष (आईसीयू) र डायलाइसिस कक्ष पनि स्वास्थ्यकै भवनमा सारिएको छ।

१५ श्य्या क्षमत्ताको अस्पताल ०७२ मा ५० श्ययामा स्तरोन्नति भएको थियो। तत्कालीन शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ०७३ मङसिर २१ गते भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो।

पछिल्ला दुई वर्ष सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाई कास्कीलाई हस्तान्तरण गरिएको यो आयोजना चालु आवमा बागलुङकै कार्यालयमा फिर्ता ल्याइएको छ।

२४ करोड चार लाख २९ हजार ८६९ लागत अनुमान गरिएको भवन महादेव खिम्ती–गल्वा–रफिना जेभीले १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का लिएको थियो।

महादेव खिम्तीका सञ्चालक निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह हुन्। विसं ०७६ मंसिर २० गते भवन निर्माण सक्ने लक्ष्य थियो। चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा चार तले तीन वटा भवन बनाउन लागिएको हो। हालसम्म दुई भवनको मात्र तेस्रो तला ढलान भएको छ भने एउटाको तेस्रो तला ढलानका लागि तयारी गरेर छोडिएको छ।

भूकम्प प्रतिरोधी क्षमताको भवन अपाङ्गमैत्री समेत हुने बताइएको छ। पटक–पटक ताकेता र समन्वय गर्दा समेत निर्माण व्यवसायी काममा नफर्किएपछि भवन अलपत्र परेको अध्यक्ष कटुवालले बताए।

सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङका प्रमुख विदुर खड्काले पोखराको कार्यालयबाट हस्तान्तरण भएको फाइल अध्ययनसँगै ठेकेदारलाई काममा फर्किन ताकेता गरिएको बताए। रासस

तपाईको प्रतिक्रिया