ग्लोरियस गण्डकी

समाधान संवाददाता २०७५ फागुन १२ गते ८:१७

गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष घोषणा गरेको छ । खासमा यो वर्ष सुरु नहुँदै घोषणा हुनुपथ्र्याे । देशभरका पत्रकारहरु पत्रकार महासंघको विधान अधिवेशनका सन्दर्भमा पोखरामा भेला भएको मौका छोपेर उनीहरुकै अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ९ फागुन अर्थात फेब्रुअरी २१ मा उक्त घोषणा गरे । प्रदेश सरकारले पर्यटन ब्रान्ड तय गरेको ग्लोरियस गण्डकी । ग्लोरियस अर्थात भव्य, सुन्दर र शानदार । साँच्चै गण्डकी भव्य छ । सुन्दर छ । शानदार पनि छ । विश्वका चौध अग्ला हिमालमध्ये ३ वटा धवलागिरि, अन्नपूर्ण र मनास्लु यहीं छन् । विश्वकै अग्लो ठाउँको ताल तिलिचो यहीं छ । विश्वकै गहिरो गल्छी कालिगण्डकी यहीं छ । रमणीय सहर पोखरा त झन् भन्ने परेन ।

गण्डकी प्रदेश सरकारले १५ लाख स्वदेशी पर्यटक भिœयाउने र आधालाई पोखराबाहेक क्षेत्रमा जाने वातावरण सिर्जना गर्ने भनेको छ । साहसिक, खेलकुद, धार्मिक पर्यटन तथा पर्यापर्यटन प्रवद्र्धन गर्ने कार्यक्रम बनाएको सरकारले आन्तरिक पर्यटन वर्षका लागि ५० लाख रुपैयाँ बजेट छुट्याएको छ ।
‘अतिथि देवो भव’ अभियान चलाउने, प्रदेश, जिल्ला र स्थानीय तहमा पर्यटन प्रवद्र्धन समिति गठन गर्ने, पर्यटन सूचना केन्द्रहरुको व्यवस्था गर्ने, ६ वटै प्रदेशका मुख्य सहरहरुसँग पोखराको हवाई सम्पर्क स्थापना गर्ने प्रदेश सरकारको योजना छ ।

देशमा १० लाख पर्यटक आउँदा पोखरामा ४ लाख आउँछन् भन्ने अनुमान छ । तर आन्तरिक पर्यटकको भने आजसम्म लेखाजोखा छैन । मुख्यतः पूर्वतिरबाट मुग्लिङको पुल तरेर आउने, पश्चिमतिर रामदीमा कालगण्डकी तरेर आउने जति सबै पर्यटक हुँदैनन् । को स्थानीय र को साँच्चीकै घुम्ने उद्देश्यले भन्ने निक्र्याेल गर्न कठिन छ । होटल, रिसोर्ट र होमस्टेमा कतिले बास बसे भन्नेबाट बरु अझ सत्यनजिकको तथ्यांक आउन सक्छ । सही तथ्यांक नआउने हुँदा सरकारले भनेझैं १५ लाख आए वा आएनन् भनेर कसरी पत्याउने ?

Advertisement

भन्न त सरकारले अतिथि देवो भव भन्यो । तर पर्यटन व्यवसायी र होमस्टे सञ्चालकहरुमा त्यस्तो व्यवहार झल्कनुपर्छ । पर्यटक भनेर पैसा झार्ने दुहुना गाई हुन् दुहुनुपर्छ भन्ने पनि थुप्रैको मान्यता र प्रवृत्ति पर्यटन क्षेत्रमा छ । त्यो मानसिकता र व्यवहारको अन्त्य नभई आन्तरिक पर्यटन वर्ष सफल हुँदैन । दीर्घकालीन पर्यटनका लागि मर्यादित पर्यटन हुनुपर्छ । सेवा र सत्यकारभावको पर्यटन हुनुपर्छ ।

पर्यटक आकर्षण गर्न पहिलो त प्रडक्ट नै चाहियो । सँगसँगै चाहियो पूर्वाधार । पूर्ण पर्यटनमैत्री वातावरण र सुविधा प्रत्याभूत गराउँदै लगे सरकारले नै घोषणा गरेको लक्ष्य १५ लाखभन्दा बेसी पर्यटक भित्रन कुनै कठिनाइ हुँदैन । पहिलो त नीति र कार्यक्रममै समावेश गरी असारमै आएको योजनाको घोषणामै ढिलाइ गरी सरकारले कमजोरी देखाइसकेको छ । आवश्यक तयारीबिना घोषणा भए पनि अबका कार्यक्रम तयारीपूर्वक र योजनाबद्ध रुपमा अगाडि बढोस् ।

Advertisement

तपाईको प्रतिक्रिया