भोलिदेखि खुल्दै स्याङ्जाका होमस्टे

समाधान संवाददाता २०७७ माघ २६ गते १२:४८

समाधान संवाददाता, पोखरा

तत्कालीन सांसद क्याप्टेन रुद्रमान गुरुङले गाउँमा पाहुनालाई राख्न सामुदायिक घरबास (होमस्टे) को अवधारणा ल्याए । २०५४ सालमा गुरुङको नेतृत्वमा स्याङ्जा सिरुबारीमा होमस्टे सुरु भयो ।

होमस्टे खोल्ने सिरुबारी एक पाठशाला बन्यो । सिरुबारीबाट सुरु भएको होमस्टे अवधारणा अन्य गाउँहरुमा पनि फैलिँदै गयो । देशका अन्य जिल्लामा जस्तै पछिल्लो समय स्याङ्जाकै अन्य गाउँहरुमा होमस्टे लहरै चल्यो ।

Advertisement

सिरुबारीजस्तै स्याङ्जाकै वालिङ नगरपालिका वडा नम्बर ४ मा सुन्तलाबारी सामुदायिक होमस्टे सञ्चालनमा आयो । वालिङ नगरपालिका–५ मा पित्लेक देउराली होमस्टे सञ्चालनमा आयो । भीरकोट नगरपालिका–७ मा खिलुङ होमस्टेले पनि पाहुना राख्न थाल्यो ।

यी त केही उदाहरणमात्रै हुन्, स्याङ्जामा मात्रै होमस्टेको लहर यसरी चल्यो कि ४९ समुदायले यो अवधारणालाई आत्मसात गरे । घरबास अवधारणाको पायोनियर जिल्ला स्याङ्जालाई पछिल्लो समय होमस्टेको राजधानी बनाउने अभियानै चल्यो । सरकारले अनुदानसमेत दिने भएपछि धेरै गाउँहरुमा होमस्टेको थालनी भइरहेका थिए ।

Advertisement

स्याङ्जाका ४९ होमस्टले २ हजार जना पाहुना राख्न सक्ने क्षमताको विकास गरिसकेका थिए । तर, कोभिड–१९ को संकटले सबै गाउँहरु पाहुना राख्न सक्ने नसक्ने स्थिति सिर्जना भयो र सबै गाउँ आगमन नै ठप्प भयो ।

कोरोनाको संकट कम भएर पर्यटनले लय समात्न थालेपछि फेरि स्याङ्जाका होमस्टे गाउँहरुले पाहुना बोलाउन थालेका छन् । यही २७ गतेदेखि स्याङ्जाका होमस्टे गाउँहरु पाहुनाका लागि खुल्ने भएका छन् ।

नेपालकै पहिलो होम स्टे सिरुबारीबाट फेरि पाहुना राख्न तयार रहेको सन्देश स्याङ्जाले दिने भएको छ । २७ गते सिरुबारीमा स्याङ्जाका होमस्टे गाउँका प्रतिनिधि जम्मा भएर गाउँपालिका परिचयात्मक गर्ने भएका हुन् ।

चैत २७ देखि २९ गतेसम्म सुन्तलाबारी होमस्टेमा क्यानोनिङ महोत्सव हुने भएको छ । वालिङ–४ सुन्तलाबारीमा एउटा झरना छ । त्यसको नाम कुलमान घिसिङ झरना राखिएको छ ।

त्यही झरनामा एक दिन मैत्रीपूर्ण क्यानोनिङ प्रतियोगिता र अर्को दिन महोत्सव गर्न लागिएको होमस्टे एसोसिएसन नेपाल स्याङ्जा संयोजक मोहन खनालले जानकारी दिए । चैत २७ गते सिरुबारीमै होमस्टेमा कोभिडको प्रभावबारे विज्ञहरुसहित विमर्श हुने भएको छ ।

होमस्टे गाउँपिच्छे फरक जातजाति, संस्कृति र परम्परा छन् । पाहुनाका निम्ति ती संस्कृति पस्किने उनीहरुले बताएका छन् । सिरुबारी होमस्टेका संयोजक जुम गुरुङले सिरुबारी होमस्टे गाउँहरुमै पहिलो भए पनि पछिल्लो समय खस्किँदै गएको गुनासोलाई मध्यनजर गर्दै अब पाहुनालाई अर्गानिक परिकार पस्कने बताए ।

होमस्टे एसोसिएसन, सिरुबारी होमस्टे, आन्तरिक पर्यटन पुनरुत्थान समिति र नेपाल पर्यटन बोर्डले आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै स्याङ्जाका होमस्टे पाहुना राख्न तयार रहेको बताएका छन् ।

पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले होमस्टे गाउँहरुले अब उत्पादन र जीविकोपार्जनलाई जोडेर लैजान सुझाव दिए । ‘आलुसमेत बजारबाटै लैजानुपर्ने अवस्थाको अन्त्य गरौं,’ भट्टराईले भने ।

आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश संयोजक अग्नी कडेंलले आन्तरिक पर्यटनलाई चलायमान बनाउन होमस्टे गाउँहरुले ठूलो महत्व खेल्ने बताए । ‘आन्तरिक पर्यटनलाई बलियो बनायौं भने विदेशी पर्यटक नआउँदा पनि हामी बाँच्न सक्छौं,’ कँडेलले भने, ‘कोभिड–१९ले पनि त्यो पाठ सिकाएको छ ।’

नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख काशीराज भण्डारीले कोभिड–१९ को महामारीले बन्द भएको ११ महिना १४ दिनपछि स्याङ्जाका गाउँहरु पर्यटकका लागि खुला रहेको सन्देश दिएको बताए ।

सहरबाट गाउँको पर्यटनलाई चलायमान बनाउन महत्वपूर्ण योगदान हुनुपर्ने उनको भनाइ थियो । स्याङ्जाका होमस्टेमा एक रातको ६ सयदेखि २१ सय ५० सम्मको प्याकेज छन् । यी सबै होमस्टे गाउँमा सडकको पहुँच पुगेका छन् ।

तपाईको प्रतिक्रिया