फागुन १५ गते नेकपाको गण्डकी प्रदेश स्तरको आमसभा

समाधान संवाददाता २०७७ माघ २८ गते १९:१७

समाधान संवाददाता, पोखरा

प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकीले प्रदेश स्तरीय विशाल जनसभा गर्न लागेको छ ।

पार्टीको गण्डकी प्रदेश कार्यालयको चौथो बैठकले आगामी फागुन १५ गते शनिबार पोखराका अमरसिंहचौरमा सभा गर्ने निर्णय गरेको हो ।

Advertisement

सभालाई पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरुले सम्बोधन गर्ने स्थायी समितिका सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनले आमजनतालाई प्रशिक्षित गराएर पार्टीको पक्षमा माहौल बनाउन सभा गर्न लागेको बताए ।आमसभा मुल व्यवस्थापन समितिले बुधबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री गुरुङले अनुशासनहीन र अराजक गतिविधिलाई परास्त गर्न जनपरिचालनमा जोड दिएको उल्लेख गरे ।

Advertisement

‘नेतृत्व माथी एकतर्फी आक्रमण गरेर पार्टीलाई कमजोर बनाउने खेल भएको छ । प्रधानमन्त्री ओलीको विरुद्ध जनतामा भ्रम फैलाउने काम भएको छ,’उनले भने, ‘सिंगो जनतालाई प्रशिक्षित गर्न जन भेला कार्यकर्ता परिचालनमा ध्यान दिएका छांै ।’

उनले जनताको उत्साहजन र व्यापक सहभागितामा जिल्ला तथा प्रदेश स्तरका सभा भएको दाबी गरे ।

आधारभुत तहका कार्यकर्ता तथा जनप्रतिनिधिहरु पार्टीको मुल धारमा रहेको उल्लेख गर्दै उनले गण्डकी प्रदेशका ९० प्रतिशत हाम्रो पक्षमा हुनु उत्साहजनक विषय भएको बताए ।

उनले राष्ट्रियताको रक्षा, कम्युनिस्ट पार्टीको लोकतान्त्रिककरण क्रान्तिकारीपन, देशभक्तिपूर्ण भावनाले अगाडी बढेको नेकपालाई आमने सामनेको लडाईमा कसैले पराजित गर्न नसकेको दाबी गरे ।हाँस एकातिर बकुल्ला एकातिर भएको टिप्पणी गर्दै मुख्यमन्त्री गुरुङले फेरी पनि श्रृखलाबद्ध कमिटी प्रणाली र संगठनात्मक हिसाबले चल्ने अनुशासित पार्टी बनाउने उल्लेख गरे ।

उनले प्रचण्ड माधव नेपालले नारा सिद्धान्त र एजेण्डा विहीन पार्टी बनाएको आरोप लगाए ।

पार्टीका स्थायी समितिका सदस्य, गण्डकी प्रदेशका सहइञ्चार्ज, तथा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पार्टीको पक्षमा जनमत सिर्जना गर्न कार्यकर्ता परिचालन, भेला प्रशिक्षण तथा सभा गरेको बताए ।

उनले आम सभाको क्रममा युवा विद्यार्थीको मार्च पास गर्ने जानकारी दिए । पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खगराज अधिकारीले धेरै संकट तथा असहजताका बाबजुद कम्युनिस्ट आन्दोलनलाई जोगाएर देश र जनताको पक्षमा काम गर्ने बताए ।

नेपालको इतिहासमा सबै पार्टीका नेताहरुले संसद विघटन गरेको उल्लेख गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मात्र दोष दिनु न्यायोचित नभएको तर्क गरे । उनले आमसभाको प्रचार प्रसारको क्रममा लमजुङ, तनहँु, पर्वत र स्याङजाबाट पदयात्रा गर्ने जनाए ।

पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश कमिटीका सचिव गोविन्दबहादुर नेपालीले पालिका, जिल्ला स्तरका भेला प्रशिक्षण तथा सभा गरेर पार्टीको संगठनलाई चुस्त दुरुस्त बनाएको दाबी गरे ।

उनले गण्डकी प्रदेश स्तरीय सभाको आवश्यक तयारीको क्रममा जन परिचालन, प्रचार प्रसार तथा जनसम्पर्क, मञ्च तथा सभास्थल व्यवस्थापन, अतिथि सत्कार, यातायात व्यवस्थापन, सुरक्षा तथा स्वयं सेवक परिचालन, स्वास्थ्य तथा सांस्कृतिक समिति गठन गरेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया