चैत १५ देखि पोखरा–सिमरा उडान
समाधान संवाददाता, पोखरा
पोखरादेखि बाराको सिमरासम्म सिधा हवाई उडान हुने भएको छ । आउँदो चैत १५ गते फागुपूर्णिमादेखि पोखराबाट बाराको सिमरासम्म तारा÷यती एयरको २९ सिट जहाजले उडान गर्ने भएको हो ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालको अध्यक्षतामा बिहीबार बसेको एयरलाइन्सका प्रतिनिधि, पर्यटन व्यवसायी र उद्योगीको संयुक्त बैठकले पोखरा र सिमरालाई हवाई मार्गबाट जोड्ने निर्णय गरेको हो ।
हरेक हप्ताको ३ दिन आइतबार, बुधबार र शुक्रबार उडान हुनेछ । भाडा दर भने तय भइसकेको छैन । बिहीबारको बैठकमा भाडा दर न्यूनतम ४५ सय रुपैयाँ कायम गर्ने सहमति जुटेको पर्यटनमन्त्री लम्सालले जानकारी दिए ।
कम्पनीले भाडादर केही दिनपछि सार्वजनिक गर्नेछ । चैत १५ गते हुने पहिलो उडानमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पर्यटनमन्त्री लम्साल लगायतको टोली सिमरा जाने छ ।
त्यहाँ १ घन्टा बिताएर पुनः पोखरा फर्किने छ । पर्यटनमन्त्री लम्सालले आउँदो असारसम्म पोखरालाई हवाई मार्गबाट सबै प्रदेशसँग जोड्ने तयारी रहेको बताए ।
अहिले पोखराबाट भैरहवा र भरतपुरमा सिधा उडान हुँदै आएको छ । माघ तेस्रो हप्तादेखि सुरु भएको पोखरा–विराटनगर उडान भने लकडाउनपछि बन्द छ ।
बैठकमा मन्त्री लम्साल, पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइराला, पोखरा पर्यटन परिषद् अध्यक्ष गोपीबहादुर भट्टराई, जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडेल, पोखरा विमानस्थल प्रमुख विक्रम गौतम, यती एयरलाइन्सका प्रतिनिधि लगायत सहभागी थिए ।
तपाईको प्रतिक्रिया