एम्बुलेन्स भाडा घटाउन माग

समाधान संवाददाता २०७७ माघ ३० गते ५:४१

एसके थकाली, जोमसोम

मुस्ताङमा सञ्चालित एम्बुलेन्सको भाडादर समायोजन गर्न सरोकारवालहरुले माग गरेको छन् ।

जिल्लामा सञ्चालित एम्बुलेन्सको भाडादर निकै महँगो भएको जनगुनासो बढेसँगै नेपाल रेडक्रस सोसाइटी मुस्ताङले जिल्ला एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समिति समक्ष भाडा समायोजनका लागि लिखित पत्र पठाएको हो ।

Advertisement

रेडक्रसको माघ २३ गतेको बैठकले बिरामी ओसारपसार गर्ने एम्बुलेन्स सेवाको भाडा महँगो भएको र उक्त भाडादर गरिब तथा विपन्न र सर्वसाधारणको पहुँच भन्दा माथि भएकोले भाडा समायोजन गरिनुपर्ने निर्णय गरेको थियो ।

मुस्ताङ जिल्ला अस्पतालले बिरामीलाई जोमसोमदेखि पोखरासम्मका लागि एम्बुलेन्स शुल्क १९ हजार रुपैयाँ तोकेको छ ।

Advertisement

अस्पतालले बिरामी ओसारपोसार गरेवापतको एम्बुलेन्स भाडादर चर्को भएकाले सामाजिक सञ्जालमा तिब्र आलोचना हुँदै आएको छ । सञ्जालमा सार्वजनिक सवारी साधनले लिने भाडादर भन्दा सरकारी एम्बुलेन्सको साविक भाडामा ५० प्रतिशत घटाउन माग भएको छ ।

जिल्ला एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं मुस्ताङका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले एम्बुलेन्सको भाडादर समायोजन गर्ने विषयमा लिखित पत्र आएको जानकारी दिइन् । त्यस सम्बन्धमा समितिको बैठक बसेर ठोस निर्णय लिने उनले उल्लेख गरिन् ।

‘अब समितिले एम्बुलेन्स मात्र नभएर सबै यात्रुवाहक सवारी साधनको समग्र भाडादर समिक्षा गर्नेछौं,’ प्रजिअ पौडेलले भनिन्, ‘यसअघि पहिलेको सडक पूर्वाधारको अवस्था र हालको सडकको अवस्थाको मूल्यांकन गरी भाडादर तय गर्छौं ।’

प्रजिअ पौडेलका अनुसार भाडा समायोजनका लागि आवश्यक कागजपत्रहरु जिल्ला एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिले जुटाउँदैछ । मुस्ताङमा २ वटा मात्र एम्बुलेन्स छन् ।

रेडक्रसको एम्बुलेन्स करिब १८ वर्ष पुरानो भएकोले लामोदुरीका लागि चलाइएको छैन् । एम्बुलेन्स भारतीय राजदुताबासबाट सहयोग भएको हो । लामोदुरीमा समेत चल्ने अस्पतालको एम्बुलेन्स महँगो छ ।

तपाईको प्रतिक्रिया