व्यवसायीको विश्वासः पग्रिनेछ पर्यटन

समाधान संवाददाता २०७७ माघ ३० गते ९:११

सुदूरपश्चिम र पोखराका पर्यटन व्यवसायीको निश्कर्षः कोभिड क्षणिक हो, प्याकेज ल्याउँ, आन्तरिक पर्यटनलाई नै ऊर्जा भरौं

समाधान संवाददाता, पोखरा

कोभिड–१९ को संकटमा बन्द भएका भारतीय नाका अझै खुलेका छैनन् । अन्तर्राष्ट्रिय विमानस्थल भएर अझै पर्यटक आइसकेका छैनन् ।

Advertisement

तर पनि नेपाली पर्यटन उद्योगमा चाँदीको घेरा देखिएको छ । घुम्न निस्केका नेपालीबाटै पर्यटन क्षेत्रले राहतको श्वास फेरिरहेको छ ।

पालेका गाइभैंसी दुहुन त पघार्नु पर्छ भने संकटले थलिएको पर्यटन क्षेत्रबाट कमाई लिन अझै समय लाग्ने व्यवसायीको अनुमान छ । पर्यटन व्यवसायीको विश्वास छ, ‘कोभिड क्षणिक हो, आन्तरिक पर्यटक घुम्न निस्किरहेका छन्, संकटकैबीच फेरि पर्यटन उद्योग पग्रिने छ ।’

Advertisement

कोभिड–१९ पछिको पर्यटन क्षेत्र कस्तो छ ? पर्यटकीय गन्तव्यहरुमा कसरी गतिविधि भइरहेका छन् ? सुदूरपश्चिम प्रदेश र पोखराका पर्यटन व्यवसायीले बिहीबार पोखरामा अनुभव साटासाट र छलफल गरे ।

‘देवोभूमि सुन्दर ठाउँ, सुदूरपश्चिम घुम्न जाउँ’ भन्ने आह्वान गर्दै सुदूरपश्चिमका पर्यटन व्यवसायी पोखरा आइपुगेका हुन् ।

सुदूरपश्चिम पर्यटन पुनरुत्थान समिति, नेपाल टुर्स एण्ड ट्राभल्स् एजेन्ट्स नाट्टा, होटल संघ, पर्यटन बोर्डको नेतृत्वमा पोखरा आइपुगेका र पोखराका यही क्षेत्रका पर्यटन व्यवसायीले अझै १÷२ वर्ष आन्तरिक पर्यटन नै चलायमान बनाउनुको विकल्प नभएको निश्कर्ष निकालेका छन् ।

थुम्कैथुम्का र तालैतालको सुन्दर पाटन खप्तड होस् वा शुक्लाफाँट वन्यजन्तु आरक्ष होस्, पर्यटनकको रोजाइमै पर्छ । अपि र सैपाल हिमालको काखमा रहेको घोडाघोडी ताल, कर्णाली पुल जस्ता थुप्रै ठाउँ सुदूरपश्चिमका पर्यटकीय गन्तव्य हुन् ।

प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक वैभव भएर पनि त्यसको सदुपयोग सुदूरपश्चिमले गर्न नसकेको नाट्टा सुदूरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्टको भनाइ छ ।

देशकै दोस्रो पर्यटकीय सहरका रुपमा ख्याति कमाएको पोखरा र अन्नपूर्ण, धौलागिरि, मनासलुजस्ता ८ हजारमिटर माथिका हिमाल, थुप्रै धार्मिक, प्राकृतिक रुपमा धनी छ, गण्डकी प्रदेश । तर, पनि त्यसको फाइदा उठाउन अझै नसकिरहेको पोखरा पर्यटन परिषदका अध्यक्ष गोपि भट्टराईको अनुभव छ ।

‘हामीले त अझै पर्यटन पूर्वाधारको विकास नै गर्न सकेका छैनौं । सुदूरपश्चिममा पर्यटकलाई राम्रो सुविधा दिन २÷४ वर्ष अझै लाग्छ,’ नाट्टा सुदूरपश्चिमका भट्टले भने, ‘प्रकतिले धेरै कुरा दिएको छ, तर सदुपयोग गर्न सकेनौं । पोखराका व्यवसायीले हामीलाई सघाउनुस्, के गर्न सकिन्छ ।’

आन्तरिक पर्यटन पुनरुत्थान समिति गण्डकीका संयोजक अग्नि कडेंलले आन्तरिक पर्यटनाई बलियो बनाउन सके कोभिडजस्ता माहामारीले असर गर्न नसक्ने बताए । ‘नेपाली घुम्न निस्किँदैछन् भनेर सन्देश दिउँ । अप्ठेरो परिस्थितिमा हातेमालो गरौं,’ कडेंलले भने, ‘यस्तो बेला सरकारले पनि न्यानो हात दियो भने हामी उठ्छौं ।’

कोभिड पछाडि प्रकतिसँग नेपाली पर्यटक आकर्षित भइरहेकाले पर्यटन क्षेत्रलाई फेरि जीवन दिन सकिने आशा राख्न नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलको आग्रह छ ।

‘पोखराको पर्यटनले एउटा मार खेपिरहेको छ । सुदूरपश्चिम बुझ्न हामीले तपाईंहरुकै आँखाबाट हेर्नुपर्छ,’ सिग्देलले भने, ‘संकटको परिस्थितिमा मिलेर सरकारलाई झक्झक्याउँ । एक दिन उठ्ने छौं ।’ पोखराले नेपाली अब घुम्न निस्किए भन्ने सन्देश दिएको बताउँदै सुदूरपश्चिमाञ्चलमा पनि आन्तरिक पर्यटक भित्राउने अभियान चलाउन सुझाव दिए ।

पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले चुनौती भएकै बेला साहस गर्नुपर्ने बताउँदै पर्यटनमा अब सम्भावनाहरुको उजागर हुने बताए । पोखरा पर्यटन परिषदका अध्यक्ष भट्टराईले सबै प्रदेशका व्यवसायी मिलेर सरकारलाई झक्झक्याउने बेला आएको बताए ।

‘सन् २०२१ भरि विदेशी पर्यटक आउँदैनन् । भारतीय नाका बन्द छ, अरु कति देशले अझै भिसा खुलाएकै छैनन् । २०२२ मा पनि धेरै आउँदैनन् । यस्तो बेला हाम्रो एउटै मिसन हो आन्तरिक पर्यटनमा ऊर्जा भर्ने,’ भट्टाराईले भने, ‘पर्यटन नीति सरल बनाउन सबैले दबाब दिऔं ।’

भट्टराईले पोखराले पनि प्याकेजका कार्यक्रम ल्याउन नसकिरहेको अवस्थामा सुदूरपश्चिमले त्यस्ता कार्यक्रममा ध्यान दिन आग्रह गरे ।

जुनसुकै ठाउँमा पनि पर्यटक बोलाउन त्यो ठाउँमा के सुविधा छ, कहाँबाट कसरी जाने, कति खर्च लाग्छ भन्ने जस्ता कुराका जानकारी र प्याकेजले महत्वपूर्ण योगदान पु¥याउने नेपाल पर्यटन बोर्ड पोखराका निर्देशक विमल कडेंलको सुझाव थियो ।

प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई सुदूरपश्चिमका प्रमुख भोजराज पाठकले सम्भावना भएर पनि सुदूरपश्चिम धेरै पछाडि परेको बताए ।

‘सम्भावना नै सम्भावना भएर पनि सुदूरपश्चिमका आफ्नै समस्याहरु छन् । भौगालिक विकटता एकातिर छ भने पर्यटकीय अभ्यास पनि कम छ,’ पाठकले भने, ‘यस्तो अवस्थामा अरु प्रदेशले केके गरिरहेका छन् भनेर बुझ्न, हेर्न र घुम्न आउन सन्देश दिन निस्केका हौं ।’

नाट्टा सुदूरपश्चिमाञ्चलका अध्यक्ष मायाप्रकाशले ५ वर्ष जतिमा त्यहाँको सम्भावनाको क्षेत्रलाई माथि उठाउने विश्वास व्यक्त गरे । ‘अहिले आन्तरिक पर्यटनसँगै व्यवसायीहरु नै पनि एक ठाउँबाट अर्को ठाउँमा घुमौं ।

व्यवसायीले व्यवसायी दुख पनि बुझेका हुन्छन्,’ उनले भने, ‘व्यवसायीकै कुनै कार्यक्रम लिएर सुदूरपश्चिम आउनुस् ।’ अहिलेजस्तो कोभिडको संकट सधैं नरहने भएकाले एक दिन पर्यटन क्षेत्र उठ्ने उनको विश्वास थियो ।

तपाईको प्रतिक्रिया