मुस्ताङका स्याउ किसानले समयमै पाएनन् अनुदानका सामग्री
एसके थकाली, जोमसोम
मुस्ताङका किसान यतिखेर स्याउ बगैंचा व्यवस्थापनको अन्तिम तयारीमा जुटेका छन् ।स्याउ लगायत अन्नबाली व्यवस्थापनको तयारीमा जुटे पनि अहिलेसम्म कृषिजन्य सामग्री उपलब्ध नहुँदा किसानलाई चिन्ता थपिएको छ ।
मुस्ताङमा भदौ र असोजमा स्याउ टिप्न सुरु हुन्छ । कात्तिक र मंसिरमा स्याउ टिपेर रित्तिएका स्याउ बोटका पात झरेपछिबगैंचा व्यस्थापनको तयारी सुरु हुन्छ ।
किसानले पुस र माघभित्रमा स्याउ कटिङ गर्ने, स्याउ बगैंचामा मलजल गर्ने र स्याउ बोटमा लाग्ने विभिन्न रोग नियन्त्रणका लागि बिषादीको प्रयोग गर्छन् ।
त्यसबाहेक किसानलाई अनुदानमा उपलब्ध गराइने यान्त्रिक प्रविधि हाते ट्याक्टर, घाँस काट्नेमेसिन, स्याउ कटिङमा चाहिने उपकरण, प्रकोप नियन्त्रणका लागि चाहिने बोरोपेस्ट र सर्वो आयल पनि अझै पाएका छैनन् ।
बगैंचा व्यवस्थापनको काम अन्तिम चरणमा पुगे पनि स्थानीय तहले उचित समयमा ती सामग्री उपलब्ध गराउन नसकेको थासाङ गाउँपालिका २ सौरुका किसान सोजन हिराचनले गुनासो गरे ।
‘यस्तो सामान स्याउ टिपेको १/२ महिनाभित्र उपलब्ध भए किसानलाई धेरै राहत हुन्थ्यो । तर बगैंचा व्यवस्थापन सकिन लाग्दा पनि पाइएन,’ उनले सुनाए ।
स्याउ बगैंचा व्यवस्थापन सकिन लागेको र तापक्रम बढेपछि कृषिजन्य सामग्री दिएर कुनै अर्थ नहुने उनले बताए । मुस्ताङका स्थानीय तह, स्याउ जोन र कृषि केन्द्र मुस्ताङले हिउँदे बाली व्यवस्थापनको तयारी अन्तिम चरण्मा पुग्दासमते किसानलाई सुविधा दिन नसकेका हुन् ।
स्याउको फुल फुल्ने अथवा परसेचन हुनुअघि स्याउ बगैंचाको तयारी सक्नुपर्ने भए पनि कृषिजन्य सामग्री पाउन नसकेको घरपझोङ गाउँपालिका ५ ठिनीका किसान गजबहादुर थकालीले गुनासो गरे ।
उनका अनुसार स्थानीय तहले कृषिजन्य सामग्री ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने जनाए पनि कृषक समक्ष उपलब्ध हुन नसकेको हो । थकालीले फागुनको पहिलो सातासम्म स्याउ तथा अन्य बाली व्यवस्थापन सक्नुपर्नेमा सामग्री नपाउँदा समस्या बढेको बताए ।
तपाईको प्रतिक्रिया