संसदीय अनुगमन समितिको कार्यविधि तयार

समाधान संवाददाता २०७७ फागुन ७ गते ११:२८

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश सभाको विशेष अधिवेशनबाट गठित संसदीय अनुगमन समितिले बिहीबार आफ्नो कार्यविधि पारित गरेको छ ।

संसद सचिवालयलाई समितिले कार्यविधि बनाउने जिम्मा दिएअनुसार सचिवालयले कार्यविधि तयार गरिदिएको थियो ।

Advertisement

समितिको तेस्रो बैठकले कार्यविधि पारित गरेको नेकपा संसदीय दलका प्रमुख सचेतक तथा अनुगमन समिति सदस्य मायानाथ अधिकारीले जानकारी दिए ।

यसअघि डाकिएको पहिलो बैठक दलीय प्रतिनिधित्व नपुग्दा स्थगित भएको थियो । दोस्रो बैठकमा भने समितिकी ज्येष्ठ सदस्य मित्रकुमारी गुरुङ सुवेदीलाई संयोजक बनाउनुका साथै कार्यविधिको प्रारुप तयार पारिएको थियो ।

Advertisement

कार्यविधि अनुसार पहिलो चरणको काम फागुन २५ गतेबाट सुरु हुनेछ । १ साता संसदीय अनुगमन समिति साविध धौलागिरि क्षेत्रका अस्पतालको अनुगमनमा निस्कनेछ ।

समिति सदस्य मायानाथ अधिकारीका अनुसार अनुगमन भ्रमणका क्रममा प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुको समन्वयमा सर्वदलीय–सर्वपक्षीय बैठक बस्नेछ । बैठकमा कोभिड व्यवस्थापनमा जिल्लामा भए÷गरेका कामकारबाहीको समीक्षा गरिनेछ ।

‘हामी पहिलो चरणमा चैत १ सम्म अनुगमनमा जानेछौं, त्यहाँ अस्पतालमा अनुगमन गर्नुका साथै अन्तक्र्रिया पनि गर्ने कार्यक्रम गराएका छौं,’ अधिकारीले भने ।

कार्यविधिमा अनुगमन समितिले प्रदेशका अस्पतालहरुमा रहेका उपकरण तथा कोभिड–१९ रोकथामका लागि आवश्यक सामग्रीको अवस्थाबारे अनुगमन गर्नेछ ।

अस्पतालहरुमा सरकारले घोषणा गरेजति आइसियु, भेन्टिलेटर बेड संख्या छ÷छैन समितिले निरीक्षण गर्नेछ । प्रदेशका अस्पतालहरुमा बेड संख्या, कोभिडका लागि छुट्याइएको बेड संख्या र असपतालहरुले गरेका काम कारबाहीबारे समितिले जानकारी लिनेछ ।

अस्पतालमा जनशक्तिको अवस्थाबारे बुझ्ने र अपुग भएका अस्पतालमा जनशक्ति थप्न सिफारिस पनि समितिले गर्नेछ । कोरोनाविरुद्धको खोप लगाएका बिरामीको प्रतिक्रिया, खोपको उपलब्धता र प्रभावबारे पनि समितिले जानकारी माग्ने कार्यविधिमा उल्लेख छ । कोरोना व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहबाट प्राप्त बजेट खर्चको अवस्थाबारे समितिले अनुगमन गर्ने जनाइएको छ ।

दोस्रो र तेस्रो चरणको अनुगमन कार्यक्रम चैत पहिलो साता निक्र्यौल गरिने समिति सदस्य आशा कोइरालाले बताइन् । ‘हामी पहिलो चरणको कार्यक्रम सकेपछि बाँकी चरणका बारेमा निक्र्यौल गर्नेछौं, वैशाख ६ गतेसम्म समितिको कार्यअवधि तोकिएको छ,’ उनले भनिन् ।

गण्डकी प्रदेश सभाको विशेष अधिवेशनले संयुक्त संसदीय अनुगमन समिति बनाएको थियो । संसदमा लगिएको संकल्प प्रस्ताव पारित गर्दै अनुगमन समिति बनाइएको थियो । विशेष अधिवेशन २१ पुसदेखि ६ माघसम्म चलेको थियो ।

९ सदस्यीय समितिको ३ महिने कार्यअवधि तोकेर समिति गठन भएको थियो । कार्यविधि भने समितिले नै बनाउनुपर्ने सदनको निर्णय थियो । प्रदेश सभा नियमावलीको नियम १५२ अनुसार संसदीय अनुगमन समिति गठन गर्न सक्ने उल्लेख छ ।

सर्वदलीय सहमतिमा विशेष अधिवेशनको पाँचौं बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरलेले प्रस्ताव पेस गरेका थिए । सोही प्रस्ताव अनुसार संसदीय समितिको मुख्य काम कोरोना नियन्त्रणका लागि सरकारले गरेका काम र खर्च गरेको बजेटबारे अनुगमन गर्ने थियो ।

समितिमा नेकपा दाहाल नेपाल समूहबाट आशा कोइराला, चन्द्रबहादुर बुढा, राजमोका खिमविक्रम शाही, जसपाकी धनमाया लामा पोखरेल, कांग्रेसका मणिभद्र शर्मा र सरिता गुरुङ तथा नेकपा ओली समूहका मायानाथ अधिकारी, मित्रकुमारी गुरुङ सुवेदी र रोशन गाहामगर छन् ।

तपाईको प्रतिक्रिया