रुपाको स्थापना दिवसमा माला प्रतियोगिता

समाधान संवाददाता २०७७ फागुन १५ गते ७:०७

समाधान संवाददाता, पोखरा

कास्कीको रुपा गाउँपालिकाले आफ्नो स्थापना दिवसमा माला प्रतियोगिता गर्ने भएको छ । गाउँपालिकाले फागुन २३ मा स्थापना दिवस मनाउँदै छ ।

स्थानीय उत्पादन र संस्कृतिलाई प्रोत्साहन गर्न माला प्रतियोगिता गर्न लागेको गाउँपालिकाले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । ‘फूलमाला स्थानीय तहमै उत्पादन हुन्छ । बाह्य खादा सकभर प्रयोग गर्दैनौं,’ गाउँपालिका अध्यक्ष नवराज ओझाले भने, ‘त्यही भएर गाउँकै फूल, दुबोमालालाई प्रोत्साहन गर्न लागेका हौं ।’

Advertisement

फागुन २३ देखि सुरु हुने गाउँपालिकाको स्थापना दिवस ५ दिनसम्म चल्नेछ । माला प्रतियोगिताका लागि भने स्थापना दिवसमा सहभागी हुन आउने स्थानीय झाँकी समूहबाट छनोट गरिने गाउँ कार्यपालिका प्रवक्ता टेकबहादुर गुरुङले जानकारी दिए ।

माला प्रतियोगितामा पहिलो हुने समूहले ४ हजार, द्वितीय हुने समूहले ३ हजार र तृतीय हुने समूहले २ हजार रुपैयाँ पाउनेछन् । ‘झाँकीमा आउने समूहले बढीमा ५ वटा माला प्रतियोगितामा समावेश गर्न पाउँछन् । मालामा कुनै पनि बाह्य वस्तु प्रयोग गर्न पाइँदैन,’ प्रवक्ता गुरुङले भने ।

Advertisement

स्थापना दिवस उद्घाटन समारोहमा झाँकी प्रस्तुत गर्न आउने समूहबाट पनि उत्कृष्ट छनोट गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले स्थानीय जातजाति तथा संस्कृतिको संवद्र्धन गर्न निश्चित वडाबाट निश्चित जातजातिले आआफ्नो पहिचानसहित झाँकीमा सहभागी हुनुपर्ने नियम बनाएको छ ।

गाउँपालिकाका ७ वटै वडाको समान प्रतिनिधित्व हुने गरी वडा १ बाट बोटे जाति, २ बाट दलित, ३ बाट कुमाल, ४ बाट ठकुरी, ५ बाट गुरुङ र नेवार, वडा ६ बाट मुस्लिम र वडा ७ बाट नेवार समुदायले अनिवार्य रुपमा आफ्नो मौलिक पहिचानसहितको झाँकी प्रस्तुत गर्नुपर्ने नियम बनाएको गाउँपालिका अध्यक्ष ओझाले जानकारी दिए ।

‘यसले गाउँपालिकामा रहेका विभिन्न जातजातिको मौलिक संस्कृति जर्गेना गर्न मद्दत पुग्छ भन्ने अपेक्षा लिएका छौं,’ उनले भने ।

त्यस्तै, स्थापना दिवसमा गाउँपालिकाले भलिबल प्रतियोगिता पनि गर्ने भएको छ । नकआउट आधारमा खेलाइने खेलमा पहिलो हुने टिमले ८० हजार रुपैयाँ, द्वितीय हुने टिमले ६० हजार रुपैयाँ, तृतीय हुने टिमले ४० हजार र सान्त्वनाले ३० हजार रुपैयाँ प्राप्त गर्ने गाउँ कार्यपालिका प्रवक्ता टेकबहादुर गुरुङले जानकारी दिएका छन् ।

प्रतियोगिताका लागि फागुन २२ गतेसम्म नाम दर्ता गरिसक्नुपर्ने गुरुङले जानकारी दिए । उनले भने, ‘खेलाडी रुपा गाउँपालिकाकै हुनुपर्छ । प्रतियोगिताका लागि वडाको सिफारिस र सक्कल नागरिकता बुझाउनुपर्ने छ ।’ उनले खेलमा उजुरी गर्न ५ हजार रुपैयाँ शुल्क लाग्ने जानकारी दिए ।

फागुन २७ गते सकिने स्थापना दिवश समारोहमा गाउँपालिकाले आफ्नो क्षेत्रका ख्यातिप्राप्त साहित्यकार, कलाकार, खेलाडीलाई समेत सम्मान गर्ने गाउँपालिकाले जनाएको छ । उनीहरुलाई प्रतिव्यक्ति १५ हजार १ सय १ रुपैयाँका दरले सम्मान गरिनेछ ।

तपाईको प्रतिक्रिया