एमालेमा समानान्तर समिति, सुरेन्द्र पाण्डे माधव समूहको गण्डकी इन्चार्ज

समाधान संवाददाता २०७७ चैत १ गते ०:०९

समाधान संवाददाता, पोखरा

सर्वोच्च अदालतले नेकपा एकता खारेज गरेर पुरानै पार्टी ब्युँताएपछि एमालेभित्र फेरि २ फ्याक भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विभाजनमा पुष्पकमल दाहाल प्रचण्डलाई साथ दिएका माधवकुमार नेपाल समूहको जिम्मेवारी खोसेपछि एमालेभित्र ठूलो दरार पैदा भएको छ ।

Advertisement

ओलीले आफ्नो समूहको अधिकार खोसेपछि नेपाल समूहले समान्तर कमिटी बनाउने घोषणा गर्दै राष्ट्रिय भेलाकै मिति घोषणा गरेको छ भने भेलाका निम्ति प्रदेश इन्चार्जहरु र विभाग प्रमुखहरु पनि तोकेको छ ।

प्रधानमन्त्री ओलीले ७ गते केन्द्रीय कमिटीको बैठक राखेका छन् । बैठकमा नआए कारबाही गर्ने ओलीले चेतावनी दिएका छन् ।

Advertisement

ओलीको बैठक अगाडि नै नेपाल समूहले राष्ट्रिय भेला आयोजना गरेको छ । नेपाल समूहले भेलामार्फत ओलीको प्रतिवाद गर्न समान्तर कमिटी बनाएर भावी रणनीति तयार गर्ने तयारी गरेको छ ।

नेकपा एमालेको खनाल–नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । बैठकले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो । नेपाल निकट केन्द्रीय सदस्य र संघीय सांसदहरुको शनिबार बसेको बैठकले बहुमत सदस्यसमेत उपस्थित नभएकाले ओलीको निर्णय अवैध भएको ठहर गरेको छ ।

उपाध्यक्ष भीम रावलले भनेका छन्, ‘केपी शर्मा ओलीजीले बालुवाटारमा जुन किसिमले कथित बैठक गर्नुभयो र एमालेको विधान, नियमावली र कार्यशैली विपरीत जसरी काम गर्नुभयो । त्यो आपत्तिजनक छ, अवैध छ ।’

सर्वोच्च अदालतको फैसलाविपरित माओवादी केन्द्रमा रहेका नेताहरुलाई एमाले केन्द्रीय सदस्य मनोनित गरें भन्नु हास्यापद भएको उनले बताए । केन्द्रीय सदस्यमा थप सदस्य मनोनित गर्ने अधिकार नै नभएको खनाल–नेपाल समूहको दाबी छ ।

भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका निर्वाचित प्रमुख र उपप्रमुखका साथै पार्टी कमिटीका पदाधिकारीलाई बोलाइएको छ ।

जनसंगठन, वर्गीय संगठन र पेशागत संगठनका केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, जिल्लाका अध्यक्ष, केन्द्रीय विभागका सदस्यहरुलाई पनि भेलामा बोलाइएको छ । ‘भेलाबाट हामीले महत्वपूर्ण निर्णय गर्नेर्छौं’ उपाध्यक्ष रावलले बताए ।

माओवादी मन्त्रीलाई फिर्ता आउन चेतावनी

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले केपी ओली नेतृत्व सरकारमा सहभागी आफ्नो पार्टीका मन्त्रीलाई तत्काल फिर्ता आउन निर्देशन दिएको छ ।

शनिबार पेरिस डाँडामा सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारमा केन्द्रका तर्फबाट सहभागी भएका मन्त्रीलाई २४ घण्टा भित्र फिर्ता आउन निर्देशन दिएको हो ।

सरकारमा गृहमन्त्री रामबहादुर बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी माओवादी केन्द्रका तर्फबाट सरकारमा छन् ।

यस्तै बैठकले शुक्रबार एमालेले केन्द्रीय सदस्य बनाएका माओवादी केन्द्रका २३ जना नेतालाई पार्टी परित्याग गरेको हो कि होइन भन्नेबारे निर्णय दिन २४ घण्टाको समयसिमा तोकेर लिखित जवाफ मागसमेत गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बादलसहितका नेताहरू नेकपा एमालेको केन्द्रीय सदस्य मनोनित गरेका थिए । बैठकले चैत १ गतेका लागि निर्धारित केन्द्रीय समिति बैठक यथावत राख्दै चैत २ गतेका लागि बोलाएको कार्यकर्ता भेला स्थगित गरेको छ ।

कसैले हटाएर देखाओस्ः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधामन्त्रीबाट हटाएर देखाउन विपक्षीलाई चुनौती दिएका छन् । काठमाडौंमा आयोजित भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मोर्चा कसेर प्रधामन्त्रीबाट हटाउन चुनौती दिएका हुन् । हटाउन सके हटाएर देखाउन उनले चुनौती दिएका हुन् ।

कसैले हटाए पनि नेकपा (एमाले) २० महिनापछि दुई तिहाइ बहुमतका साथ सिंहदरबार प्रवेश गर्ने उनको भनाइ छ । उनले भने, ‘लगभग २ तिहाई लिएर सिंहदरबार पस्छौँ । अहिले हटाउन सक्छ कसैले भने हटाएर देखाओस् । षडयन्त्र गरोस् । मोर्चा कसोस् । मोर्चा कसेर पनि हटाउन सक्छ भने हटाओस्,’ ओलीले भने, ‘२० महिनापछि फेरि यो पार्टी, सूर्य चिन्हधारी पार्टी, नेकपा (एमाले) नामको पार्टी दुई तिहाइ बहुमतका साथ सिंहदरबारको मुल गेटबाट फेरि पस्छ ।’

उनले माधव नेपाल–झलनाथ पक्षलाई कतैबाट नहटाएको भन्दै पार्टीको काम गर्दै गर्नलाई केहीलाई जिम्मेवारी दिइएको बताए । माधव–झलनाथ पक्षधर बैठकमा आए कसरी अगाडि बढ्ने भन्नेबारे सल्लाह गरिने उनको भनाइ छ ।

‘अहिले पार्टी चलाउँदै गर्न हामीले केही साथीहरुलाई केही कामको जिम्मा दिएका छौँ । काम त चलाउँदै गर्नुप-यो नि हामीले । त्यो जिम्मा दिँदाखेरी फेरि दलिनमा टाउको ठोकिने गरी उफ्रिराख्नु भएको छ,’ उनले भने, ‘किन उफ्रिराख्नु बैठकमा आए भैगयो नि । ७ गते बैठक बोलाइएको छ। आउनुस् । छलफल गरौँला । कसरी अगाडि बढ्ने बढौंला ।’

प्रधानमन्त्री ओलीले चैत ७ गतेको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन माधव–झलनाथ पक्षलाई सार्वजनिक रुपमा आव्हान गरेका छन् । बैठकमा अनुपस्थित भए विधान बमोजिम कारबाही हुने उनले बताए ।

‘प्रसस्त समय रहोस् भनेर ७ गतेलाई बैठक बोलाएको छु । यत्रोविघ्न टेलिभिजनले खिचेको छ, लाइभ दिइराख्या होला सुनिन भन्न पाइने छैन,’ ओलीले भने, ‘केन्द्रीय कमिटीका सदस्यहरु आउनुहोला । अनुपस्थित रहदै जानुभो भने विधानको व्यवस्था अनुसार हुँदै जानेछ ।’

नेपाल पक्षले तोकेका इन्चार्ज
प्रदेश १ : भीम आचार्य
प्रदेश २ : घनश्याम भुसाल
वागमती : अष्ठलक्ष्मी शाक्य
गण्डकी : सुरेन्द्र पाण्डे
लुम्बिनी र कर्णाली : युवराज ज्ञवाली
सुदूरपश्चिम : भीम रावल
युवा : रघुजी पन्त
विद्यार्थी : गोकर्ण विष्ट
बुद्धिजीवी : प्रमेश हमाल
प्रचार विभाग प्रमुख : योगेश भट्टराई

तपाईको प्रतिक्रिया