पुरानोकोटमा स्वास्थ्य शिविर

समाधान संवाददाता २०७७ चैत २ गते ९:५२

समाधान संवाददाता, पोखरा

युनाइटेड क्लबको आयोजनामा लमजुङको पुरानोकोट गाउँमा निशुल्क स्वास्थ्य शिविर भएको छ ।

ग्रामीण भेगमा बसोवास गर्ने स्थानीयलाई लक्षित गरी आयोजना गरिएको शिविर बेसीसहर नगरपालिकाकाका मेयर गुमानसिंह अर्यालले उद्घाटन गरे । अर्यालले स्वास्थ्य शिविरबाट दूरदराजमा बसोवास गर्ने जनताले प्रत्यक्ष स्वास्थ्य लाभ लिने अवसर पाएको बताए ।

Advertisement

महोत्सव आयोजना गरी सामाजिक काम गर्नु आफंैमा गाह्रो भए पनि १ दशकदेखि यस्तो सामाजिक काममा लागेको क्लबबाट अरुले प्रेरणा लिनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा बेशीसहर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष लालवीर गुरुङ र पुरानोकोट सामुदायिक होमस्टेका अध्यक्ष कन्याकाशी गुरुङले युनाइटेड क्लबसँग भविष्यमा पनि सहकार्य गर्न इच्छुक रहेको बताए ।

Advertisement

क्लब अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बेसीसहर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष वलबहादुर गुरुङ, क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, सूर्योदय तमु युवा क्लबका अध्यक्ष खुमराज गुरुङ, क्लबका महासचिव शान्तबहादुर थापा, स्वास्थ्य उपसमिति संयोजक जयराम आचार्य लगायतले बोलेका थिए ।

पोखराको रानीपौवामा रहेको मेडिप्लस हस्पिटल एन्ड ट्रमा सेन्टर, नरहरि पोलिक्लिनिक र पोखरा होराइजन डेन्टल क्लिनिकको प्राविधिक सहयोग र एरो फर्मासिटिकल र एपेक्स फर्मासिटिकलको सहयोगमा शिविर भएको हो ।

शिविरमा ५ सय १५ जनाले स्वास्थ्य जाँच गराएका थिए । तीमध्ये १ सय ४० जनाले भिडियो एक्स रे, ७० जनाले इसिजी र ५३ जनाले पिसाब तथा रगत परीक्षण गराएका थिए ।

९२ जनाले दाँतसम्बन्धी रोगको परीक्षण, १ सय ५० जनाले हाडजोर्नी तथा नशारोग र ३० जनाले नाक, कान घाँटी, ३२ जनाले सर्जिकल, २१ जना बच्चाको परीक्षण र २ सयभन्दा बढीलाई औषधी वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया