कांग्रेसले नेतृत्व पाए कृष्णचन्द्र नेपाली पक्का

समाधान संवाददाता २०७७ चैत २९ गते १८:५८

समाधान संवाददाता, पोखरा
बलियो भनिएको पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी सरकार धरमराएपछि राजनीतिक वृत्तमा अब गण्डकी प्रदेशको मुख्यमन्त्री को बन्ला भन्ने चर्चा चल्न थालेको छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शनिबार साँझ समाधान दैनिकलाई दिएको एक्सक्लुसिब अन्तर्वार्तापछि प्रदेशको राजनीति एकाएक तरंगित बनेको हो ।

माओवादी केन्द्रको समर्थनमा बनेको गुरुङ सरकार उसले समर्थन फिर्ता लिए पनि नढल्ने अवस्थामा थियो । गण्डकी प्रदेश सभाको चौथो ठूलो दल राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता नलिने बताइरहेको थियो ।

Advertisement

जनमोर्चाको साथ पाउँदा मुख्यमन्त्री गुरुङको पक्षमा आवश्यक संख्या अर्थात ३१ सांसदको समर्थन रहन्थ्यो र सरकार गिराउने प्रयास सफल हुन सक्ने थिएन । तर शनिबारदेखि परिस्थिति एकाएक फेरिएको छ ।

जनमोर्चाका राष्ट्रिय अध्यक्ष केसीले नै अविश्वासको प्रस्तावमा हस्तारक्षर गरेर सरकार परिवर्तन गर्न सघाउने बताइसकेपछि अब गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्री को होला भन्ने चर्चा हुन थालेको हो ।

Advertisement

गण्डकी प्रदेश सभामा २८ (१ स्वतन्त्रको समर्थनसहित)सांसद रहेको एमालेपछि सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो । कांग्रेसका १५ जना सांसद छन् । त्यसपछिको दोस्रो दल नेकपा माओवादी केन्द्रसंग १३ सांसद छन् भने तेस्रो जनमोर्चासँग ३ र चौथो जनता समाजवादी पार्टीसँग २ सांसद छन् । यी सबै एकै ठाउँमा हुँदामात्र गुरुङ सरकारको विकल्पमा अर्को बन्न सक्छ ।

सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्रीको स्वाभाविक हकदारका रुपमा नेपाली कांग्रेस नै चर्चामा छ । अब कांग्रेसले पाउँदा को बन्ला त मुख्यमन्त्री ?

कांग्रेसको १५ सदस्यीय संसदीय दलमा हाल दलको नेता कृष्णचन्द्र नेपाली छन् । नवलपुरबाट विजयी सांसद नेपाली सबैभन्दा पाका र पुराना नेता हुन् ।

कांग्रेसबाट प्रदेश सभा सदस्यमा केन्द्रीय सरकारमा मन्त्री भइसकेका व्यक्ति पनि छन्, उनी हुन् कास्कीबाट चुनिएका समानुपातिक सांसद कुमार खड्का ।

त्यस्तै संसदीय दलको नेता चयन गर्ने बेलामै बलियो दावेदारी प्रस्तुत गरेका कास्कीबाटै निर्वाचित विन्दुकुमार थापालाई पनि मुख्यमन्त्रीका रुपमा चर्चा गरिएको छ ।

तर पनि कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पायो भने मुख्यमन्त्री भने दलका नेता कृष्णचन्द्र नेपाली नै बन्ने पक्कापक्की जस्तै छ । दावेदार भनिएका दुवै सांसद खड्का र थापाले संसदीय दलका नेताको विकल्न खोज्नु उचित नहुने प्रतिक्रिया दिएका छन् ।

बजारमा हल्ला चल्नु स्वाभाविक होला भन्दै सांसद कुमार खड्काले समाधानसँग भने, ‘कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर आए मुख्यमन्त्री अहिलेका संसदीय दलका नेता नै हुनुहुन्छ, तलमाथि हुँदैन ।’

अर्का सांसद थापाले पनि मुख्यमन्त्री बनाउने बेलामा संसदीय दलको नेता फेर्नु अनुचित हुने बताए । ‘त्यस्तो चलखेल हुन्न, जसले अहिले संसदमा नेतृत्व गर्नुभएको छ, उहाँकै नेतृत्वमा सरकार बन्छ,’ थापाले समाधानसँग भने ।

तपाईको प्रतिक्रिया