गुरुङ सरकारलाई खतरा छैनः सांसद पहारी

समाधान संवाददाता २०७७ चैत ३१ गते २०:१५


पोखरा, ३१ चैत


पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकारको कुनै विकल्प नभएको र यसको परिवर्तन गर्न खोज्ने कुरा नमच्चिने पिङको सय झट्का भएको प्रदेश सांसद राजीव पहारीले बताएका छन् । ‘मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारलाई कहिँ कतैबाट खतरा छैन,’ उनले भने ।


माओवादीबाट प्रतिनिधित्व गर्दै आएका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले चैत २५ गते राजीनामा गरेपछि गुरुङ सरकारको भविष्यबारे अन्योल सुरु भएको थियो । तर माओवादीले सरकारमाथिको समर्थन फिर्ता भने लिइसकेको छैन । ३ सांसद राष्ट्रिय जनमार्चाले दिएको समर्थन पनि फिर्ता भएको छैन । ६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री गुरुङको दल एमाले आफैंसँग २८ सांसद छन् ।

Advertisement


माओवादीका मन्त्रीले राजीनामा दिएकै दिन चैत २५ गते नेपाली कांग्रेसले नयाँ सरकार गठनको पहल गर्न सांसद कुमार खड्का संयोजक, विन्दुकुमार थापा र मणिभद्र शर्मा कँडेल सदस्य रहेको ३ सदस्यीय वार्ता समिति बनाएको थियो । त्यसले माओवादी, २ सांसद रहेको जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग वार्ता गरेपछि गुरुङ सरकार ढल्ने आँकलन सुरु भएको हो ।


कांग्रेसले गुरुङ सरकार ढाल्ने कसरत गरिरहँदा एमाले सांसद पहारीले समाधानसँगको कुराकानीमा मुख्यमन्त्री गुरुङसँग सुविधाजनक बहुमत रहेको बताए । ‘उहाँको विपक्षमा बहुमत छ भन्नु भ्यागुताले धार्नी पु¥याउने भनेजस्तो हो,’ उनले भने, ‘गुरुङ सरकार ढाल्न खोज्नु भनेको अस्थिरता चाहनु हो । विकास नचाहनु हो । कहिल्यै नभएको विकास यो सरकारले गरेको छ । विकास निर्माण प्रभावित गर्न जुन खेलोमेलो भएको छ, त्यो सफल हुँदैन ।’

Advertisement


धमिलो पानीमा माछा मार्ने तत्वका खेलोमेलो सफल नहुने बताउँदै सांसद पहारीले अस्थिरताको चाहना कुनै हालतमा सफल नहुने विश्वास व्यक्त गरे । बहुमतमा रहेको सरकारका विरुद्ध अविश्वास प्रस्ताव ल्याउनु जायज नहुने र अस्थिरताले जनतामा निराशा छाउने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया