बेनी–जोमसोम सडकमा एक महिने टाइमकार्ड

समाधान संवाददाता २०७८ वैशाख ७ गते १३:२०

सुन्दरकुमार थकाली, जोमसोम ।

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकखण्डमा फेरि टाइमकार्ड लागु गरिएको छ । जिल्ला सडक सुरक्षा समिति मुस्ताङको बैठकले म्याग्दी र मुस्ताङको सीमाना काभ्रेभीरमा रक कटिङ गरी सडक स्तरोन्नति गर्नुपर्ने जनाउँदै बेनी—जोमसोम ७६ किमी सडकमा शनिबारदेखि. वैशाख मशान्तसम्म एक महिने टाईम कार्ड लागु गरिएको हो ।

कालिगण्डकी करिडोर अन्तर्गत बेनी—जोमसोम—कोरला सडक आयोजनाले काभ्रेभीर सडकमा १६ सय मिटर रक कटिङ गरी सडक चौडा गर्ने काम धमाधम भइरहेको छ । स्तरोन्नतिका क्रममा सडक जोखिम हुने भएकाले जिल्ला सुरक्षा समिति मुस्ताङले बेनी—जोमसोम सडकमा फेरि टाइमकार्ड लागु गरेको हो ।

Advertisement

जिल्ला सुरक्षा समितिले पोखराबाट म्याग्दी हुँदै मुस्ताङ आउजाउ गर्ने सवारी साधनलाई बिहान ६ः३० बजे देखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि ५ः३० बजेसम्म सडक आवागमन पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको करिडोर सडकका सूचना अधिकारी इन्जिनियर अश्विनीकुमार यादवले जानकारी दिए ।

यसअघि कालिगण्डकी करिडोर अन्तर्गत निर्माण कम्पनीले काभ्रेभीर सडक तथा मुस्ताङको कैकु खोलामा सडक स्तरोन्नतिका लागि जिल्ला सडक सुरक्षा समितिलाई अनुरोध गरेपछि गत चैत्र १४ गते देखि २० गते सम्म राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकखण्ड पूर्ण रुपमा बन्द गरिएको थियो । बेनी—जोमसोम सडकखण्डमा पटक÷पटक टाइमकार्ड र अवरोधले मुस्ताङ भ्रमण गर्ने पर्यटक तथा स्थानीय सर्वसाधारणलाई सास्ती बन्ने गरेको छ ।

Advertisement

कमजोर भूबनावटका कारण बर्खायामको मौसममा बाढी—पहिरो र नदी कटानले बेनी÷जोमसोम सडक अवरुद्ध हुने गर्छ । मुस्ताङमा कोरोनाका जोखिम कम भएको र पर्यटकीय सिजन भएकाले आन्तरिक पर्यटकको संख्या बढ्दै गइरहेको छ । सडकमा लगाइएको टाइमकार्डका कारण मुस्ताङ आउजाउ गर्ने यात्रुवाहक सवारी तोकिएको समयमै गन्तब्यमा पुग्न असहज भएको छ ।

तपाईको प्रतिक्रिया