धनबहादुर स्मृति प्रतिष्ठान गठन गरिने

समाधान संवाददाता २०७८ वैशाख ८ गते १६:०४

समाधान संवाददाता, पोखरा ।

वरिष्ठ सांरगी बाधक गायक, संकलक तथा नृत्य निर्देशक धनबहादुर गायकको ६० औं जन्म जयन्ती मनाइएको छ ।

कार्यक्रममा गायकले लोकगीत तथा संगीतको क्षेत्रमा गरेको योगदानको कदर गर्दै धनबहादुर स्मृति प्रतिष्ठान गठन गर्ने निर्णय गरिएको छ । गायकका छोरा तथा पोखरा प्रज्ञा प्रतिष्ठानका सदस्य दिलिप गायकले मौलिक बाजा संरक्षण पाठशाला समेत खोल्ने जानकारी दिए । ‘सांरगी बाधक गायकले झलकमान गन्धर्व राष्ट्रिय सारंगी संरक्षण पाठशाला खोलेर सबै विद्यार्थीलाई निशुल्क रुपमा सारंगी बजाउन सिकाउनु भएको थियो,’उनले भने, ‘प्रतिष्ठान गठन गरेर मौलिक बाजा सारंगी बजाउन सिकाउने र संरक्षणमा ध्यान दिने छांै ।’ उनले मौलिक बाजाहरुको संरक्षणको लागि संग्रहालय बनाउने योजना सुनाए ।

Advertisement

गण्डकी प्रदेश सभाका सदस्य कृष्ण थापाले लोकप्रिय कलाकार गायकको नाममा खोलिने प्रतिष्ठानको लागि सक्दो सहयोग गर्ने बताए । उनले आफु पोखरा उपमहानरपालिकाको मेयर हुँदा कला, साहित्य र संगीतको विधालाई समेटेर नवरत्नलाई सम्मान थालेको जानकारी दिए । उनले गन्धर्व समुदायलाई स्थापित गर्ने र सम्बोधन गर्ने अवसर पाएको उल्लेख गरे ।

राष्ट्रिय जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य मनकुमार श्रेष्ठले बाटुलेचौरका गन्धर्व समुदायले सिंगो मौलिक संस्कृति जोगाएको दावी गरे । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङले प्रतिष्ठानको लागि पोखरा महानगरपालिकाले वार्षिक बजेटका अलवा विशेष प्याकेज ल्याउन माग गरे ।

Advertisement

कार्यक्रममा हिमाली सांस्कृति परिवारका अध्यक्ष मेनकाजी गुरुङ, पोखरा प्रज्ञा प्रतिष्ठानका सदस्य जीवन दाहाल, धनबहादुर गायकको परिवारको तर्फबाट हर्कबहादुर गायक, गायक जयकुमार परियार लगायतले बोलेका थिए । कार्यक्रममा इश्वर खड्का, धनबहादुरका नातिनीहरु खुसी र दिवाली गायकले धनबहादुरको गीत गाएका थिए ।

झलकमान गन्धर्व राष्ट्रिय सारंगी संरक्षण पाठशाला प्रतिष्ठानका कलाकारहरुले धनबहादुर गायकले सिर्जना गरेको ‘नरोउ मायाल’ु गीतमा सारंगीको धुन बजाएका थिए ।

तपाईको प्रतिक्रिया