उपल्लो मुस्ताङमा पर्यो हिउँ

समाधान संवाददाता २०७८ वैशाख ८ गते १७:१२

पुस, माघ र फागुनको दोस्रो सातासम्म पर्ने हिउँ यस वर्ष वैशाखमा

सुन्दरकुमार थकाली, जोमसोम

उपल्लो मुस्ताङमा बुधबार बिहानैदेखि आंशिक हिमपात भएको छ । जिल्लाको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा हिमपात भएको हो ।

Advertisement

समुद्री सतहदेखि ३५ सय मिटर अग्लो उचाईको घिलिङ, घमी, चराङ, लोमान्थाङ छोसेर र कोरला नाका लगायत ठाउँमा हिमपात भएको लोमान्थाङका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेश घिमिरेले जानकारी दिए ।

उनका अनुसार गर्मी मौसममा हिमपात भएको र जमिनको सतह तातिएकाले हिउँ जमिनमा थेग्रिन सकेन ।

Advertisement

हिउँदयामको मौसम पर्ने हिउँ गर्मीयाममा परेपछि स्थानीयबासी आश्चर्यमा परेका छन् ।

बर्सेनि पुस, माघ र फागुनको दोस्रो सातासम्म पर्ने हिउँ यस वर्ष वैशाखमा परेको लोमान्थाङका स्थानीय आङ्गेल गुरुङले जानकारी दिए ।

उनले यस वर्ष पुस र माघमा ३ पटकमात्र आंशिक हिमपात भएको उल्लेख गरे । तर, उपल्लो मुस्ताङमा आशिंक हिमपात भएपनि तल्लो मुस्ताङमा भने उच्चलेकमा आंशिक हिमपात भएको थियो ।

वैशाख महिनाको चैते दसंै रामनवमीको बिहान उपल्लो मुस्ताङमा हिमपात भएपनि तल्लो मुस्ताङका हलुका वर्षा भएको छ ।

हरितगृह ग्यासको उत्सर्जनका कारण जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली जिल्लाहरुमा परेको छ ।

जलवायु परिवर्तनका कारण मुस्ताङमा कुनै वर्ष भारी हिमपात हुने, कुनै वर्ष आंशिक हिमपात त कुनै वर्ष हिउँ नै नपर्ने भएकाले हिमाली क्षेत्रको कृषि, पर्यटन, जैविक विविधता र पर्यावरण लगायत क्षेत्रमा प्रतिकुल असर परेको छ ।

चालु वर्ष तल्लो मुस्ताङको बेसीक्षेत्रमा हिउनै पर्न नसकेको थासाङ—२ सौरुका किसान सोजन हिराचनले जानकारी दिए । हिउँ पर्ने सिजनमा हिउँ नपरेपछि मुस्ताङका किसान समस्यामा परेका छन् ।

हिउँले जमिनको उर्वराशक्ति वृद्धि गरी उत्पादन क्षमता बढाउने र हिउँले स्याउ लगायत अन्नबालीहरुमा लाग्ने विभिन्न प्रकोप नियन्त्रण गर्ने भएकाले हिउँ किसानका लागि वरदान सावित हुने गर्छ ।

हिउँले खेतीयोग्य जमिनको सतहलाई रिचार्ज गर्न मद्दत गर्छ । उपल्लो मुस्ताङमा बैशाखमा हिमपात भएपनि स्थानीय किसानमा खासै उत्साह प्रदान गर्न सकेको छैन । यस्तै मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिक्षेत्रमा समेत रामनवमीको दिन छिटफुट हिउँ परेको थियो ।

तपाईको प्रतिक्रिया