भूकम्पका ६ वर्षः पर्वतमा ठडिए ३५०० घर

पर्वत, रासस ।
पर्वतमा भूकम्प गएको ६ वर्षमा तीन हजार ४४४ निजी आवास पुनःनिर्माण भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयले निजी आवास पुनःनिर्माणको भौतिक प्रगति ८५ प्रतिशत र वित्तीय प्रगति ७७ प्रतिशत सम्पन्न भएको जनाएको छ ।
जिल्लामा भूकम्पले घर भत्किएको भन्दै अनुदान सम्झौता गर्नेको सङ्ख्या भने पाँच हजार ८७६ रहेको छ । यीमध्ये केही प्रवलीकरणतर्फका लाभग्राही रहेको कार्यालयले जनाएको छ । पुनःनिर्माणका लागि कार्यालयले अहिलेसम्म रु एक अर्ब ३३ करोड २० लाख वितरण भएको जनाएको छ ।
पूर्ण क्षति भएका लाभग्राहीलाई कार्यालयले तीन किस्तामा कूल रु तीन लाख र प्रवलीकरण गर्नुपर्ने लाभग्राहीलाई रु एक लाख उपलब्ध गराउँदै आएको छ । जिल्ला आयोजना कार्यालयका प्रमुख कृष्णराज गौतमले आगामी असार मसान्तसम्म जिल्लामा पुनःनिर्माणको काम सक्नुपर्ने दायित्व रहेको बताउनुभयो । प्रवलीकरणतर्फ कसैले पनि काम नगरेको हुनाले भौतिक प्रगति बढ्न नसकेको उहाँले बताउनुभयो ।
कार्यालयबाट ३४८ जनाले प्रवलीकरणबाट पुनःनिर्माणमा र १३० जनाले प्रवलीकरणबाट मर्मतमा परिवर्तन गरेको जनाएको छ । सडक पुनःनिर्माणको सूचीमा रहेको पातीचौर, मैदान लप्सीबोट सडक तीन किलोमिटर ७०० मिटर कालोपत्रे गर्ने काम अगाडि बढ्न सकेको छैन । यस सडकको केही खण्डमा ढलान गर्ने र नाली बनाउने कामबाहेक अरु काम अगाडि नबढेको कार्यालयको प्रगति प्रतिवेदनमा उल्लेख छ ।
विसं २०७२ वैशाख १२ को भूकम्पका कारण घर भत्किए पनि प्राविधिकले मूल्याङ्कन गर्दा क्षतिको सूचीमा नपारेको भन्दै जिल्लाका एक हजार ५९० जनाले प्राधिकरणका विरुद्धमा मुद्दा दर्ता गरेका छन् । ती मुद्दाको किनारा लाग्न केही समय लाग्ने पनि कार्यालयले जनाएको छ ।
लाभग्राहीले घर बनाउने कामलाई चासोका साथ नलिएको कार्यालयका सूचना अधिकारी पोषनाथ शर्माले बताउनुभयो । भनेको बेला डकर्मी, सिकर्मी नपाउने, मूल्याङ्कनका लागि प्राविधिक नआउने कारण काम गर्न अप्ठ्यारो भएको लाभग्राहीले गुनासो गर्दै आएका छन् । प्राधिकरणको अवधि सकिन लागेकाले पछिल्लो समय अझै बढी लाभग्राहीलाई घर निर्माण सम्पन्न गराउन ताकेता गरिएको कार्यालयले जनाएको छ ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया