सुरु भयो कास्कीमा निषेधाज्ञा

समाधान संवाददाता २०७८ वैशाख १५ गते ८:१७

गण्डकीमा १ हजार ९ सक्रिय संक्रमित रहेकोमा ७ सय २७ कास्कीका हुन्

समाधान संवाददाता, पोखरा

कोरोना संक्रमण बढेपछि कास्कीमा निषेधाज्ञा सुरु भएको छ । २१ वैशाख राति १२ बजेसम्म रहने गरी बुधबार बिहान ६ बजेदेखि कास्कीमा निषेधाज्ञा लागु भएको हो ।

Advertisement

यो अवधिमा अत्यावश्यक कामबाहेक घरबाहिर हिँड्डुल गर्न पाइँदैन । एम्बुलेन्स, दमकल, खाद्यान्न, दूध, तरकारी, निर्माण सामग्री बोक्ने गाडीसहित अत्यावश्यक सवारी चलाउन पाइन्छ । सार्वजनिक तथा निजी सवारी जोरबिजोर (जोर गते जोर र बिजोरमा बिजोर) मात्र चलाउन पाइनेछ ।

फनपार्क, रंगशाला, दोहोरी साँझ, फुटसल, सैलुन, डिस्को, अत्यावश्यकबाहेकका पसल पनि खोल्न पाइने छैन । औषधी पसल भने २४ सै घन्टा खोल्न पाइने कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए ।

Advertisement

स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानी, औषधीजन्य उत्पादन तथा बिक्री वितरण लगायत अत्यावश्यक सेवाबाहेक अरु सरकारी तथा गैरसरकारी कार्यालय बन्द रहने छन् । खाद्यान्न र निर्माण सामग्री पसल बिहान ५ बजेदेखि राति ८ बजेसम्ममात्रै खोल्न पाइनेछ ।

होटल तथा रेस्टुरेन्टले बिहान ८ बजेदेखि राति ८ बजेसम्म ‘टेक अवे’ सुविधामात्रै सञ्चालन गर्न पाउने प्रजिअ गौतमले बताए । बैंक तथा वित्तीय संस्थाले पनि नेपाल राष्ट्र बैंकसँग सहकार्य गरीसिमितकर्मचारीको उपस्थितिमा सेवा प्रवाह गर्न पाउने छन् ।

घरमा गरिने पूजापाठजस्ता धार्मिक कार्यक्रममा पनि १५ जनाभन्दा बढी सहभागी हुन पाइने छैन ।

कास्कीमा पछिल्लो २ सातायता कोरोना संक्रमण ह्वात्तै बढेको छ । अहिले कास्कीमा ७ सय २७ सक्रिय संक्रमित छन् । कास्कीमा कुल ९ हजार ३ सय ७ जना संक्रमितमध्ये १ सय २० जनाको मृत्यु भएको छ ।

अदालत आशिंकरुपमा खुल्ने

कास्की जिल्ला अदालतले आशिंक सेवा दिने भएको छ । बुधबारबाट लागू निषेधाज्ञामा अदालत ‘आशिंक’ रुपमा सञ्चालन गरिनेछ ।

जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार आशिंक रुपमा अदालत सञ्चालन गर्न लागिएको अदालतका सूचना अधिकारी नीलप्रसाद पनेरुले जानकारी दिए ।

अदालतले निषेधाज्ञाको अवधिभर बन्दीप्रत्यक्षीकरण निवेदनको सुनुवाई, बाल सुधार गृहका बालबालिका जिम्मा लिने निवेदनमाथिको कारबाही, पक्राउ पुर्जी अनुमति, म्याद थप, अभियोगपत्र दर्ता, बयान र थुनछेक बहस गर्नेछ ।
सक्रिय संक्रमित हजार नाघे

गण्डकी प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार नाघेको छ । मंगलबार १ सय १३ जना थपिएसँगै सक्रिय संक्रमित संख्या १ हजार ९ पुगेको छ ।

सबैभन्दा धेरै कास्कीमा ७ सय २७ सक्रिय संक्रमित छन् । कुल सक्रिय संक्रमितमध्ये ८ सय ८२ जना होम आइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मंगलबार कास्कीका ९७, बागलुङका ४, तनहुँ र नवलपुरका ३÷३, स्याङ्जा र पर्वतका २÷२, लमजुङ र म्याग्दीका १÷१ जनामा कोरोनो पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

योसहित गण्डकीमा संक्रमित संख्या १७ हजार ९ सय ५१ पुगको छ । तीमध्ये १६ हजार ७ सय २५ जना निको भएका छन् ।

प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार तनहुँ र गोरखाका १÷१ संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो ।

मृत्यु हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका ९ का ८३ वर्षीय पुरुष र गोरखाको पालुङटार नगरपालिका ५ की ६७ वर्षीय महिला छन् । योसहित प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय १७ पुगेको छ ।

तपाईको प्रतिक्रिया