वैशाखमै पहिराको वितण्डा: सात पशु पुरिए, बस्ती जोखिममा

समाधान संवाददाता २०७८ वैशाख १९ गते ११:१७

फाइल तस्विर

ओखलढुङ्गा, रासस ।

ओखलढुङ्गामा पहिराले वितण्डा मच्चाएको छ । सामान्यतया असार÷साउन महिनामा पहिराले क्षति गर्ने भए पनि ओखलढुङ्गाको चम्पादेवीमा यस वर्ष वैशाखमै पहिरो गएको हो ।

Advertisement

शनिबार साँझ भएको वर्षापछि आएको पहिराले चम्पादेवी गाउँपालिका–३ सिल्खुबेँसीमा सात चौपाय पुरिएर मरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार सिल्खुबेँसीका हरिप्रसाद सुवेदीको तीनवटा गाई, मोहन मगरको दुईवटा गोरू र मुनामाया बोगटीको दुईवटा गाई पहिरोमा पुरिएर मरेका छन् ।

Advertisement

सिल्खुमाथि खनेको कच्ची सडक र खहरेमा जम्मा भएको भेल बाढीको रूपमा गएपछि स्थानीयवासीका घर, गोठ र खेत बगाएको हो । सिल्खुको विद्यालय, स्थानीयवासीका घर र कृषिबालीमा समेत क्षति पुगेको छ ।

अचानक भएको वर्षाका कारण बाढीपहिरो आउँदा पशुचौपाय बगाएको, खेतबारीमा लगाएको बालीमा क्षति भएको भन्दै स्थानीय किसानले क्षतिको यकिन गरेर क्षतिपूर्ति दिन माग गरेका छन् । ओखलढुङ्गामा जथाभावी खनिएका कच्ची सडकका कारण पहिरो बगेर बर्सेनि ठूलो जनधनको क्षति हुने गरेको छ ।

तपाईको प्रतिक्रिया