पानी माग्दै सामूहिक पूजा

समाधान संवाददाता २०७८ वैशाख २२ गते ७:५६

समाधान संवाददाता, पोखरा

लामो समयको खडेरीका कारण खेतीबाली सुक्न थालेपछि पोखरा ३३ भरतपोखरीका विभिन्न स्थानमा शनिबार सामूहिक पूजा गरिएको छ ।

स्थानीय सिलिंगे चेतना महिला समूहको प्रमुख संकल्पमा चण्डी देउराली, कोटभैरव, नाउरुङ, व्यार्थोक र मैदानमा छुट्टाछुट्टै पूजा गरी पानी मागिएको समूहकी सचिव सीता केसी महतले बताइन् ।

Advertisement

परापूर्व कालदेखि लामो समय खडेरी परेमा यहाँका यी शक्तिपीठमा सामूहिक पूजाआजा, भजनकीर्तनसहित पानी माग्ने प्रचलन छ ।

पूजाआजासहित पानी मागेका अवस्थामा साताभित्र पानी पर्ने जनविश्वास छ ।

Advertisement

सामूहिक पूजाकै अवसर पारी स्थानीय विष्णु पौडेलले छोरी आरती पौडेलको स्मृतिमा चण्डी देउराली मन्दिरमा घण्टी प्रदान गरेको समूहकी अध्यक्ष कर्णकुमारी महतले जानकारी दिइन् ।

लामो समयदेखि पानी नपरेका कारण खेतबारीमा लगाइएका मकै र अन्य तरकारी बाली सुक्न थालेको छ ।

खडेरीकै कारण वरपरका प्राकृतिक जलाशयमा समेत पानी सुक्दै जाँदा दैनिकी सञ्चालनमा समेत समस्या परेको स्थानीयको दुखेसो छ । यहाँका कोटभैरव, चण्डी देउराली लगायतका शक्तिपीठको अस्तित्व नेपालका बाइसे चौबीसे राजाका पालादेखि नै रहेको थियो ।

तपाईको प्रतिक्रिया