जनमोर्चाका थापाले कांग्रेसलाई साथ नदिने, बहुमतकाे सरकार गठन गर्ने बाटाे खुलेन

समाधान संवाददाता २०७८ वैशाख २८ गते १५:५४

समाधान संवाददाता, पाेखरा ।

गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा कांग्रेस नेतृत्वमा नयाँ सरकार गठन गर्न साथ दिन नहुने पक्षमा देखिएका छन् ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठनको प्रयासमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने तयारी गरेका थिए । तर त्यसमा राजमोका थापाले हस्ताक्षर गर्न मानेका छैनन् । कांग्रेसका १५, माओवादीका १२ र जसपाका २ जना सांसद छन् । थापाले हस्ताक्षर नगर्ने हो भने कांग्रेसको नेतृत्वमा सरकार बन्न सम्भव हुँदैन ।

Advertisement

संसदीय दलका नेता थापाले कांग्रेसको पक्षमा हस्ताक्षर गर्न अस्वीकार गरेको जनमोर्चाको प्रदेश अध्यक्ष शंकर बरालले जानकारी दिए । उक्त जानकारी बरालले कांग्रेस र माओवादीलाई पनि गराएका छन् । उक्त जानकारी पनि कांग्रेस माओवादीको संयुक्त बैठक त्यत्तिकै टुंगिएको थियो ।

वैशाख २६ गते पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि त्यसै दिन प्रदेश प्रमुख सीता पौडेलले बहुमतको सरकार गठनका लागि दलहरुलाई ३ दिनको समय दिएकी थिइन् ।

Advertisement


राष्ट्रिय जनमोर्चाको केन्द्रीय समिति नयाँ सरकार गठनको पक्षमा छ भने सचेतक पियारी थापाले हस्ताक्षर गर्न ह्वीप पनि जारी गरेकी छन् । तर प्रदेशसभा संसदीय दलका नेता समेत रहेका थापाले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।

थापाले नयाँ सरकार गठनका लागि हस्ताक्षर गर्न अस्वीकार गरेको राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले पुष्टि गरे । ६० सदस्यीय प्रदेश सभामा थापाले हस्ताक्षर नगर्दा विपक्षीलाई सरकार बनाउन सांसद संख्या पुग्दैन । बहुमतका लागि ३१ सांसदकाे हस्ताक्षर चाहिन्छ ।

प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि दिएको समय सीमा भित्र दलहरुले बहुमतसहित दाबी गर्न सकेनन् भने अल्पमतको सरकार बन्नेछ । प्रदेशसभाको सबभन्दा ठूला दल एमालेको संसदीय दलको नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बन्नेछन् । यसरी मुख्यमन्त्री बन्दा ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

यद्यपी विपक्षी गठबन्धन अझै पनि जनमाेर्चाका कृष्ण थापालाई मनाउन प्रयासरत छन् ।

तपाईको प्रतिक्रिया