जनमोर्चाले नबिर्सने जैमिनी काण्ड

समाधान संवाददाता २०७८ वैशाख २९ गते ८:११

त्यो बेला आगोले जति पोल्यो, आफ्नो पार्टी कांग्रेससँग मिल्न लागेपछि त्योभन्दा अहिले बढी पोलेको छ जैमिनी काण्डका पीडित दलबहादुर विकलाई

अनिष भट्टराई र केशव शरण, पोखरा

गण्डकी प्रदेश सरकार नयाँ गठन गर्ने मामलामा राष्ट्रिय जनमोर्चा निर्णायक बनेको छ ।

Advertisement

कांग्रेस नेतृत्वमा प्रदेश सरकार गठन गर्न उसले समर्थन गर्ने कि नगर्ने दोधार भइरहँदा ३० वर्षअघि बागलुङको जैमिनी घाटमा भएको एउटा घटना फेरि चर्चामा छ ।

एकजना प्रहरी निरीक्षकको ज्यान गएको उक्त घटनालाई बागलुङमा नेकपा मशाल अर्थात राष्ट्रिय जनमोर्चाका कार्यकर्ता चाहेर पनि बिर्सन सक्दैनन् । उक्त घटनापछि झुठा मुद्दा लगाइएको र चरम यातना पनि दिइयो । २४ जना कार्यकर्ता हिरासत र जेल बसे ।

Advertisement

१० कक्षामा पढिरहेका दलबहादुर विक त्यही जैमिनी काण्ड भएको ६ दिनपछि पक्राउ परेका थिए । जो २७ महिना जेलमा कोचिए । सुरुमा ५५ दिन हिरासत बसे । चरम यातना सहे ।

पुलिसले उनका पैतालामा हिर्काएर बाँसका लौरा कति भाँचे कति, अहिले उनैलाई याद छैन । आगोको लप्का खुट्टामा सहे । भन्छन्, ‘जिउँदै आगो लगाउँदा जलेका मेरा खुट्टामा अहिले पनि छाला पलाएको छैन ।’

जैमिनी घाटमा माघे संक्रातिमा विशाल मेला लाग्दै आएको थियो । एक दिन होइन २ दिन चल्थ्यो मेला । गीत गाउने र नाच्नेहरु हुन्थे । बासै बसेर नाचगान चल्थ्यो । २०४८ सालको माघ १ गतेको मेला हेर्न दलबहादुर पनि पुगेका थिए ।

साँझपख विक र उनका साथीहरुले नास्ता खाँदै गर्दा घाटबाट ठूलो स्वर आयो । झगडा भयो अरे भन्ने सुनेर मेला भएतिर जाँदा कुश्मिशेरा र बिनामारेका युवाहरुको पिटापिट भएको देखे ।

झगडा छुट्याउन पनि उस्तै भिड जम्मा भइसकेको रहेछ । विक झडप भएको ठाउँमा पुग्दा कुश्मिशेरा र बिनामारेका युवाहरु २ तिर पल्टिरेहका थिए । स्थानीय प्रहरी चौकीका इन्स्पेक्टरको ज्यान गइसकेको थियो ।

‘हामी त नास्ता खाँदै थियौं, पछि झगडा भयो के भयो भनेपछि हामी झ¥र्यौं, यताका यता उताका उता मान्छे भएर पल्टेथे । इन्सपेक्टर मरेछन् । कसले मा¥यो थाहा भएन,’ उनी सम्झन्छन् ।

कुश्मिशेरा र बिनामारे बासिन्दाको त्यसअघि पनि झगडा भइरहन्थ्यो । तर त्यो दिन झगडाले राैद्र रुप ठूलो लियो । कसैले त्यस दिनको झगडा रोक्न सकेनन् । उक्त घटनाको दोषी भनेर पछि त सर्वाेच्च अदालतबाटै फैसला आएको छ ।

तर निर्दाेष दलबहादुरसहित २४ जना बित्थैमा पक्राउ परे, जेल परे र जीवनभर भुल्न नसक्ने अत्याचार पाए । ‘२ गाउँबीच इगो थियो, गाउँको इगोलाई राजनीतिकरण गरियो, टोटल मशाल संलग्न छ भनेर पक्राउ गरे,’ उनले भने ।

माघको ६ गते पक्राउ परेका विकले ३ दिनसम्म लगातार प्रहरीको कुटाइ खाए । ‘कुटेको कुट्यै गर्थे, अनि फेरि उफ्रन लगाउने, कुटेर थला परेपछि खुन जम्छ भनेर उफ्रन लगाउने रैछ,’ उनी भन्छन् ।

पुलिसले बाहिरका मान्छेले सुइँको पनि नपाउने गरी आफूलाई यातना दिएको विकको सम्झना छ । कुटेर हल न चल भएका उनीहरुको अवस्था धेरै दिनसम्म अरुलाई थाहै भएन । अदालत लैजाँदा पनि लुकाएर लगियो ।

हिँड्दा खुट्टा राम्ररी नटेकेको देखिन्छ भनेर उज्यालो नहुँदा दिसा गर्न पठाउने र पिसाब फेर्न कोठाभित्रै ग्यालिन दिने गरेको दलबहादुर सम्झन्छन् । ‘माघको जाडोमा बिहान ६ बजे अनि बेलुका ६ बजे कसैले नदेख्ने गरेर दिशा गर्न जान दिन्थे, ५५ दिनसम्म लगातार त्यसरी यातना दिए,’ विकले सुनाए ।

आफूहरुलाई कांग्रेसको सरकार भएका बेला बिनाकारण मुद्दामा फसाइएको उनी बताउँछन् । ‘प्रधानमन्त्री गिरिजा थिए, गृहमन्त्री शेरबहादुर देउवा, हामीलाई बिनाकारण दोषी बनाइयो,’ उनी भन्छन्, ‘देउवाले जनताको कहिल्यै राम्रो गर्दैनन् ।’

अहिले गण्डकी प्रदेशमा आफू कुनै बेला संलग्न पार्टी नेकपा मशाल (राष्ट्रिय जनमोर्चाको माउ पार्टी)ले कांग्रेस नेतृत्वमा सरकार बनाउन लाग्दा उनको पुरानो घाउ चह¥याएको छ ।

मशाल कांग्रेससँग मिले वामपन्थी पनि भन्न नसकिने उनी बताउँछन् । ‘वामपन्थीले कांग्रेसको सरकार बनाइदिने कुरा १ सय प्रतिशत गलत छ । वामपन्थीको जुन सरकार थियो, त्यो त ढल्यो,’ उनी भन्छन् ।

जीवन शर्मा नेतृत्वको रक्तिम सांस्कृतिक परिवारसँग आवद्ध रहेर दलबहादुर जनमोर्चाको सांस्कृतिक मोर्चाका एक अगुवा नै हुन् । अचेल भने पार्टीतिर सक्रिय छैनन् । एक वर्षअघि अचानक उनलाई पक्षघात भयो । दाहिने हर चल्दैन । बुटवल बस्छन् । पार्टीसँगै पनि सम्बन्ध पातलिएको छ ।

अहिले देशमा नामका मात्रै वामपन्थी रहेको भन्दै उनले माओवादीलाई कटाक्ष गरे । ‘अहिले वामपन्थी भन्ने तर कांग्रेस, जसपा जोसित पनि मिलेर सरकार बनाउने कसरी वामपन्थी ?’ उनको प्रश्न थियो ।

कोरोना महामारीका बेला सरकार ढाल्ने खेल चालिनु आफैंमा दुखद भएको उनको टिप्पणी छ । ‘कसरी सत्तामा पुग्न पाइन्छ भनेर मात्र सोचिराछन् । संकटका बेला सरकार ढाल्ने कुरा नै आउनुहुँदैनथ्यो,’ उनले सुनाए ।

तपाईको प्रतिक्रिया