गण्डकी प्रदेशभर शोक मनाउने नेकपाको निर्णय

समाधान संवाददाता २०७५ फागुन १६ गते १४:४८

समाधान संवाददाता, पाेखरा

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा भएको निधनप्रति नेकपाले प्रदेशभरी शोक सभा गर्ने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेश कमिटीको विहिबार बसेको आकस्मिक बैठकले प्रदेशभरका सबै पार्टी कार्यालयमा ३ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने, १९ गते गण्डकी प्रदेशका सबै जिल्लामा शोक सभा आयोजना गर्ने र १३ दिनभित्र सबै स्थानीय तहमा शोक सभा आयोजना गर्ने निर्णय गरेको छ । नेकपा केन्द्रिय सदस्य समेत रहेका अधिकारीको पार्थिव शरीरलाई शुक्रबार पोखरा प्रदर्शनी केन्द्र नयाँ बजारमा राखेर श्रद्धाञ्जली अर्पण गर्ने, रामघाटमा राजकीय सम्मानका साथ अन्तेष्टी गर्ने नेकपा गण्डकीका सचिव गोविन्द नेपालीले जानकारी दिए ।

Advertisement

नेकपा गण्डकीका इन्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बोलाएको आकस्मिक बैठक दुर्घटनामा निधन भएका मन्त्री अधिकारी सहित सबै प्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।

सिर्जनशील नेता गुमायौं– मुख्यमन्त्री
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परेर भएको निधन प्रति शोक वक्तव्य जारी गर्दै सिर्जनशील नेता गुमाएको बताएका छन् ।

Advertisement

ताप्लेजुङको फुङलिङ नगरपालिका १०सिस्नेभीरमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी बुधबार पर्यटनमन्त्री अधिकारी सहित यति एयरलाइन्सका प्रवन्ध निर्देशक, स्थापित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्ययन प्राधिकरणका निर्देशक धु्रवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर के.सी. र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको निधन भएको थियो ।

शोक वक्तव्यमा मुख्यमन्त्री गुरुङले अधिकारीको निधनले अपुरणीय क्षेति भएको भन्दै विज्ञप्तीमा भनिएको छ– ‘गण्डकी प्रदेशले मात्र होइन, राष्ट्रले नै एक जुझारु र सिर्जनशील युवा नेता, विकासप्रेमी जनप्रतिनिधि गुमाएको छ ।’

२०२६ बैशाख २२ गते कास्की जिल्लाको पोखरा महानगरपालिका वडा न. ३३ भरतपोखरी, जामुनाबोटमा आमा लक्ष्मी अधिकारी र बुवा इन्द्रप्रसाद अधिकारीका जेष्ठ पुत्रका रुपमा जन्मिएका अधिकारी कास्की जिल्लाबाट २०६४ र २०७० सालमा संविधानसभा तथा २०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । विज्ञप्तीमा अधिकारीले आफूलाई प्राप्त हरेक राजनीतिक जिम्मेवारीलाई कुशलता पूर्वक सम्पादन गर्नुका अलावा जनप्रतिनिधि, संसदको विकास समितिको सभापति तथा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको राजकीय भूमिकामा समेत अव्वल सावित गरेको उल्लेख छ ।

राष्ट्र र पार्टीका खातिर अधिकारीले निर्वाह गरेको भुमिका सधैँ स्मरणीय र सम्मानयोग्य रहिरहने भन्दै मुख्यमन्त्री गुरुङले अधिकारीको योगदानको उच्च मुल्याङ्कन गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले शोकाकुल परिवार र आफन्तजन प्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया