छोराबुहारीलाई कोरोना लागेपछि आमाको मृत्यु, शव जलाउन नदिएपछि घरैअघि दफन

समाधान संवाददाता २०७८ जेठ ५ गते २१:४२

शव व्यवस्थापन गर्न २ गाउँबीच दिनभर तनाब


अमृत सुवेदी

अघिल्लो दिन छोरा बुहारीमा कोरोना पुष्टि भयो, भोलिपल्ट आमाको मृत्यु भयो । ९३ वर्षीय आमाको मृत्यृुपछि शोकमा परेका छोराबुहारीलाई अर्को वज्रपात प¥यो, आमाको शवको विषयमा गाउँमै लफडा मच्चियो ।

२ वर्षदेखि दीर्घ रोगले थलिएकी आमालाई अन्त्येष्टि गर्न न आफन्तहरु बेलैमा आए, न संस्कारअनुसार जलाउन नै पाए । केही मनकारी छिमेकीले घाटमा शव जलाउने तयारी गर्दा अर्को गाउँका स्थानीयले अवरोध गरे । शव जलाउने विषयमा ४ गते म‌बार दिनभर स्थिति तनावग्रस्त बन्यो । गाउँलेको अवरोधका कारण शव जलाउन पाएनन् र आफ्नै घर अगाडि खाल्डो खनेर पुर्नुपर्ने स्थिति सिर्जना भयो ।

Advertisement

यो घटना हो, स्याङ्जा आँधिखोला गाउँपालिका वडा नम्बर २ चिलाउनेबास पोखराचौरको । कोरोना संक्रमण देखिएकै कारण आमाको शव व्यवस्थापनमै अवरोध सिर्जना भएपछि परिवार विक्षिप्त बनेको छ ।

पोखराचौरदेखि सधैं शव जलाउने घाट आँधिखोला किनारमा लैजाने तयारी हुँदै थियो । छिमेकीले ट्याक्टरमा दाउरा हालेर घाटतर्फ लैजाँदै थिए, वडा नम्बर ५ सेपत गाउँका वासिन्दा घाटमा आइपुगे र कोरोना सर्न सक्ने भन्दै जलाउन नदिने अड्डी कसे । ‘आमा ३ वर्षदेखि रोगले थलिनुभएको थियो । हामीलाई कोरोना देखिएको भोलिपल्ट बित्नुभयो । छिमेकीले शव जलाउन आँधिखोला किनारमै जैलान लाग्दा , सेपत गाउँकाले. जलाउन दिएनन्,’ कोरोना संक्रमित भएर अहिले आमाको किरिया बसिरहेकी बुहारी चन्द्रकलाले भनिन्, ‘कोरोनाबाट मरेको हुन्न सक्छ । हावाबाट कोरोना सर्न सक्छ । जलाउन दिन्नम् भनेर रोकेछन् ।’

Advertisement

आफूहरु संक्रमित हुँदाको तनाब एकातिर र आमा मर्दाको पीडा अर्कोतिर परिरहेका बेला लासमाथि भएको झगडाले मनै विक्षिप्त भएको सुनाइन् । ‘पीडामाथि थपियो । गाउँमा रसिता भयो र टुलुटुलु हेर्न बाध्य भयौं,’ बुहारी चन्द्रकलाले भनिन् ।

जलाउन नदिने बताएपछि खोला किनारमै पुर्ने भन्दै छिमेकीले खाल्डो खन्न लाग्दा फेरि पनि अवरोध गरेको आफन्तहरु बताउँछन् । ‘जलाउन दिन्नम् भनेर गामै आए । ल ठिकै छ भनेर शव गाड्न खनेको खाल्डो पनि पुर्न बाध्य पारे,’ एक छिमेकीले भने, ‘साह्रै अमानवीय व्यवहार देखियो । केही सीप नलागेपछि घरदेखि केही तल ल्याएर गाड्नुप¥यो ।’

आँधिखोला नजिकै दाताले दिएको जनप्रदीप माध्यामिक विद्यालयकाे जग्गा छ । त्यही ठाउँमा शव व्यवस्थापन गर्न वडाका जनप्रतिनिधि, दाता र विद्यालय सहमत भए । त्यहाँ केही समयअघि घाट पनि बनाइएको थियो ।
तर वडा नम्बर ४ का सेपतका मानिसले नमानेपछि गाउँपालिका स्वास्थ्य शाखाका कर्मचारी र स्वास्थ्य चौकीका कर्मचारी मिलेर पिपिई लगाएर घरदेखि केही तल ल्याएर शव गाडिएको हो ।

छोराबुहारीसँग अर्का एक जना छिमेकीलाई पनि अघिल्लो दिनमात्र कोरोना संक्रमण देखिएको थियो । त्यसैले मृत्यु हने वृद्धमा पनि कोरोना संक्रमण हुन सक्ने स्थानीयमा आशंका थियो । त्यसै क्रममा घाटमा जलाउन शव लैजान खोज्दा गाउँलेले बाटो छेक्ने, अन्त्येष्टि गर्न नदिने र गाड्न समेत रोकेको वडाका जनप्रतिनिधि बताउँछन् ।

शव व्यवस्थापनमा विवाद भएपछि बारिएको बाटो‍

‘शव जलाउन घाट देखाउन म आफैं पनि गएको थिएँ । अरु दाउरा लिएर गएका थिए । आँधिखोलामा माछा मार्न पुगेका केटाकेटीले हल्लाखल्ला गरेपछि गाउँलेको ठूलो भीड जम्मा भयो । प्रहरीले आग्रह गरे तर ट्याक्टरै जलाउने बताए,’ वडा नम्बर २ का वडाध्यक्ष रामचन्द्र पौडेलले भने, ‘जलाउन नदिए पुरौं भनेर खाल्टो खनियो तर त्यहाँ पनि गाड्न सकिने अवस्था बनेन । बिहान ७ बजेदेखि शव व्यवस्थापनको तयारी बेलुका ७ बजेमात्रै गाउँलेकै पाखोमा गाड्न सफल भइयो ।’

वडाध्यक्ष पौडेलले पीडा र दुखमा अमानवीय र घृणित व्यवहार भएको बताए । प्रहरी प्रशासनको प्रयोग गरेर शव व्यवस्थापन गर्न पनि आफ्नै गाउँ भएकाले नसकिएको उनको भनाइ थियो ।

शव व्यवस्थापनमा अवरोध गर्ने गाउँ पर्ने वडा नम्बर ४ का वडाध्यक्ष चिन्तामणि पौडेलले मंगलबारको घटनाले गलत सन्देश गएको बताए । ‘म आफैं मुटुको समस्या भएकाले जान पाइनँ । पछिल्लो समय कोरोना संक्रमित बढिरहेको र शंकास्पद रुपमा धेरैको मृत्यु पनि भएकाले धेरै जना डराएकाले घटना घटेछ,’ वडाध्यक्ष पौडेलले भने, ‘जुन् घटना घट्यो, त्यो राम्रो चाहिँ भएन ।’

विरोध गर्ने गाउँमा साँझ अर्को घटना घट्यो

शव जलाउन र गाड्नसमेत नदिएको गाउँ वडा नम्बर ४ सेपतमा ५ दिनअघि करिब ५२ वर्षीय एक जना व्यक्तिको मृत्यु भएको थियो । उनको पिसिआर परीक्षण नभए पनि कोरोनाकै लक्षण भएको गाउँले बताउँछन् ।

उनको पर्वत मोदीवेणी घाटमा २१ जना मलामी पुगेर धार्मिक संस्कार अनुसार अन्त्येष्टि गरिएको थियो । त्यसबाट फर्केपछि अरु केही जनामा पनि कोरोना देखिएको सेपतवासी बताउँछन् । यो घाटनाले वडाभरि नै हल्लाखल्ला मच्चिएको थियो । वडामा त्यपछि कडाई गरिएको थियो ।

आँधिखोलामा शव व्यवस्थापन गर्ने विषयमा मंगलबार दिनभर तनाब उत्पन्न भयो । सेपतवासीले नदिएपछि पौखराचौरवासी गाउँकै पाखोमा शव व्यवस्थापन गरे । विरोध गर्ने सेपतमा साँझ एक महिलको मृत्यु भयो । करिब ५४ वर्र्षीय महिलाको मृत्यु भएपछि दिउँसो बिरोध गर्ने स्थानीयले सोही ठाउँमा खाल्डो खनेर शव पुर्ने काम गरे ।
‘दिउँसो बिरोध गरे । बेलुका त्यही गाउँमा मृत्यु भएकी महिलामा पनि कोरोनाको शंका भयो र खाल्डो खनेर पुर्ने काम भएछ,’ सोही वडाका वडाध्यक्ष चिन्तामणि पौडेलले भने, ‘अहिले गाउँभरि नै त्रसित अवस्था छ ।’

गाउँमा भएको मंगलबारको घटनाले नराम्रो सन्देश गएको स्थानीय देवेन्द्र ढकालले बताए । संकटमा कोरोनाको नाममा राजनीति भएको उनको भनाइ छ । ‘अहिले संक्रमणबाट जोगिन सबै सतर्क भएर बसौं, बाँचिएछ भने राजनीति गर्दै गरौला नि ! हाम्रो जस्तो अत्यन्तै शिक्षित र नेपाल मै सकरात्मक दृष्टिकोणले प्रख्यात समाज राजनीतिक कुराले यति ठूलो चिरा परेको होला भन्ने कल्पना सम्म थिएन, के मानवीयता हराएकै हो त ?,’ ढकालले भने, ‘सामाजिक सम्बन्धभन्दा ठूलो राजनीति हो र ? एकपटक सबैले सोचौ त । यस्तो बिपतमा एकले अर्कालाइ सहयोगमा गरौं ।’

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी राजेन्द्रप्रसाद अधिकारीले कोरोना परीक्षण नभएको र सुरक्षित भएर शव व्यवस्थापन गर्न खोज्दा तनाब भएको बताए । ‘आफ्नै हिसाबले व्यवस्थापन गर्छुभन्दा पनि मान्यता दिइएको छ । पालिकाले समन्वय गर्दा गर्दै अवरोध गर्नुपर्ने कारण थिएन,’ डिएसपी अधिकारीले भने ।

डर र बढ्दो संक्रमण दरको उपजः गाउँपालिका अध्यक्ष पौडेल

गाउँपालिका अध्यक्ष सुधिर पौडेलका अनुसार पछिल्लो समय पालिकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । प्रत्येक दिनजसो संक्रमित थपिएको थपियै छन् । कोरोना परीक्षण नभएका तर त्यस्तै प्रकृतिका लक्षण देखिएका व्यक्तिको मृत्यु हुने क्रम पनि बढिरहेका बेला मंगलबारको घटना घटेको पौडेलले बताए ।

‘कोरोना परीक्षण गरेर पोजेटिभ आएको व्यक्तिको मृत्यु भए नेपाली सेनाले नै शव व्यवस्थापन गथ्र्यो तर परीक्षण नभएको व्यक्तिको मृत्यु भएपछि सुरक्षा मापदण्ड अपनाएर शव व्यवस्थापन गर्नुपर्ने भयो,’ पालिका अध्यक्ष पौडेलले भने, ‘कोरोनाको डर र बढिरेको संक्रमणको दरले तनाब उत्पन्न गराएको हो ।’

पालिकाको समन्वयमा नै विवाद मिलाउनेदेखि शव व्यवस्थापनसम्मको काम गरेको अध्यक्ष पौडेलले बताए । ‘गाउँपालिकाकै स्वास्थ्यकर्मीले पिपिई लगाएर घर नजिकै शव पुरेको हो । जुन गाउँका मान्छेले विरोध गरे साँझ त्यही गाउँमा पनि मान्छे मरेपछि त्यहाँ पनि गाड्नुप¥यो,’ अध्यक्ष पौडेलले भने, ‘गाउँमा भएको विवादमा बल प्रयोग गर्न पनि मिलेन र विकल्पहरु खोज्दै समस्या समाधान गरियो ।’

छोराबुहारीलाई कोरोना देखिएर आमाको मृत्यु भएपछि पोखरौचौर र मंगलबारै एक महिलको मृत्यु भएपछि सेपतका गरी ५० जनाभन्दा बढी स्वाब परीक्षणका लागि पठाइएको उनको भनाइ थियो । अहिले आँधिखोला गाउँपालिकामा झण्डै ७० जना कोरोना संक्रमित रहेको पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया